एक व्यक्तिको गल्तीले पूरै राजनीति बदनाम भयाे : महामन्त्री शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्तिले गर्ने गल्तीले पूरै राजनीति बदनाम भइरहेको बताएका छन् । त्यसमा राजनीतिभित्र राम्रा मानिस पनि छन् भनेर बुझाउनुपर्नेमा उनले जोड दिए ।
कर्णाली उत्सवको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा आइतबार वक्ताको रुपमा धारणा राख्दै महामन्त्री शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा देखिने गरेको बताए ।
‘राजनीतिभित्र भएका सबै मानिस गलत र बदनाम मात्र छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ शर्माले भने । उनले प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, सरकारी सेवा समयमै लिन नपाउनुजस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको बताए ।
समाजमा संस्थाहरु नै राजनीतिकरण भइरहेकोा र यसलाई सही तरिकाले सामाजिक मूल्य मान्यतामा ढाल्न सक्नेबित्तिकै राजनीतिलाई सङ्लो बनाउन सकिने बताए । एउटै व्यक्ति एउटै पदमा पटकपटक दोहोरिरहने प्रवृत्तिले पनि जनतामा निरास छाएको बताउँदै उनले राष्ट्रपति र प्रधानमन्त्रीमा एकै व्यक्ति २ पटकसम्म मात्र हुन पाइने नियम बनाएर निराशलाई आशामा बदल्न सकिने बताए ।
पदमा पुगेका व्यक्तिले गर्ने गलत कामकै बिच पनि त्यही व्यक्ति त्यही पदमा पुर्याउनु समाजिक न्याय र वृत्ति विकासको दृष्टिकोणले पनि गलत हुने उनको भनाइ थियो ।

प्रतिक्रिया