गुण एयरलाइन्सका सबै उडान बन्द

नेपालखोज २०७९ फागुन ८ गते १६:०४

काठमाडौं । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । कर्मचारीलाई तलब नदिएपछि गुण एयरका सबै उडान बन्द गर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको छ । गुणका उडान गत बुधबारदेखि नै बन्द छन् । यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै गरेको र पाइट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो ।

यद्यपि आइतबारदेखि नियमित उडान गर्ने कम्पनीको भनाइ थियो । तर, उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ । गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन् । यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरालगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन् ।

प्रतिक्रिया