बिहीबार, जेठ २, २०८२

टर्कीमा फेरि भूकम्प, तीन जनाको मृत्यु, ६८० भन्दा बढी घाइते

नेपालखोज २०७९ फागुन ९ गते ७:५५

एजेन्सी । टर्कीमा सोमबार फेरि भूकम्प गएको छ । यो पछिल्लो भूकम्पमा तीन जनाको मृत्यु भएको छ भने ६ सय ८० भन्दा बढी घाइते भएका छन् । उक्त भूकम्पको तीव्रता ६ दशमलव ४ थियो । सिरिया र टर्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सी अफादले स्थानीय समय अनुसार साँझ ८.४४ मा भूकम्प गएको जनाएको छ । यो भूकम्प आएपछि दर्जनौं पटक ‘आफ्टर शक ’ समेत महसुस गरिएको थियो । यसअघि गएको भूकम्पमा परेर त्यहाँ ४४ हजारभन्दा बढीले ज्यान गुमाईसकेका छन भने राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्य तुल्याउन प्रयासरत छन् ।

सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने तथा समन्दगीका बासिन्दा भएको बताइएकाे छ । सरकारले त्यहाँ सर्वसाधारणलाई जोखिमयुक्त भवनबाट बाहिर निस्कन अपिल गरेको छ । अन्टाक्याका मेयरले यो नयाँ भूकम्पका कारण अझै केही व्यक्ति भग्नावशेषमा फसेको हुनसक्ने बताए ।

समाचार एजेन्सी रोयटर्ससँग यो ताजा भूकम्पका पीडित केही व्यक्तिहरूले कुराकानि गरेका थिए जसमध्ये मुना अल-उमरले भनिन्, “मेरो खुट्टामुनि जमिनमा धसे जस्तो लाग्यो।” टर्की सरकारको प्रशासनले फेब्रुअरी ६ मा गएको शक्तिशाली भूकम्पपछि ६ हजार पराकम्पन महसुस गरिएको जनाएको छ ।

टर्कीमा सोमबार महसुस गरिएको भुकम्प यसअघि आएका हल्का पराकम्प भन्दा धेरै शक्तिशाली भएको बताएको छ ।

प्रतिक्रिया