शुक्रबार, जेठ ४, २०८१

ग्याल्पो ल्होसार–२१५० 

सुनिल उलक २०७९ फागुन ९ गते १२:४१

आज तिब्बती तथा हिमाली क्षेत्रमा बसोबास गर्नु हुनेहरू शेर्पा, हुम्ली, मुस्ताङ्गी तथा मनाङ्गीहरुको नयाँ वर्ष ग्याल्पो ल्होसार २१५० अर्थात् छ्युँ मो हेय ल्हो (खरायो वर्ष) २१५० हो । 

तिब्बती राजा ङेठीछेम्बुको पालामा आज भन्दा २१५० वर्ष अगाडीबाट यो पर्व मनाउन थालिएको भन्ने जनविश्वास छ । दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार (ल्होसार) सुरु हुन्छ । ल्होसार सुरु हुन एक महिना अगाडि देखि नै घर रड्गाउने, नयाँ कपडा किन्ने तथा विशेष रोटी खाप्से शेरु तयार पारिन्छ । तीन दिन पूर्व नै घर आँगन सफा गर्ने र ग्रह शान्तिको रूपमा त्यो फोहरलाई चौबाटोमा लगेर फ्याँक्ने गरिन्छ । त्यसपछि सबै मिलेर नौ प्रकारको गेडागुडी तथा पिठोबाट गुथुक बनाइन्छ ।

गुथुक बनाउँदा परिवारमा जति जना छ त्यति वटा पिठोको डल्लो बनाइ सो भित्र थाहा नपाउने गरी सेतो कपडा, कागज, घ्यू, नुन, गहुँ, कोइला, खुर्सानी आदि राखिन्छ । यसपछि पिठोको डल्लो सबैलाई बाँडिन्छ । पिठोको भित्र राखिएको सामग्रीले त्यो प्राप्त गर्ने परिवारको सदस्यको बानी ब्यहोराको आकलन गरिन्छ । सेतो कपडाले मनले चिताएको पुग्ने, कागजले अध्ययनशील, घ्यूले चाप्लुसी, नुनले कामको सफलता, गहुँले सम्पत्ति बढ्ने, कोइलाले ईर्ष्यालु र खुर्सानीले रिसाहा हुन्छ भन्ने शेर्पा समुदायमा मान्यता रहेको पाइन्छ । यसरी गुथुक खाइसकेपछि पुरानो साललाई बिदा दिइन्छ । 

नयाँ सालको बिहानै कोही नउठ्दै धारा वा पधेरामा हात मुख धोइ धूप बत्ती गरी पूजा गरेर ल्याएको चोखो पानी भगवानलाई चढाउने र पूजा गर्ने गर्दछन् । त्यसपछि ठुलाबडाको आशीर्वाद लिने र छिमार खप्से जस्ता प्रसाद खाने गर्दछन् । विशेष गरी छ्याङ्गुल (छुर्पी, बदम, किसमिस, नरिवल मिसाएर बनाइएको जाँड) खादै रमाइलो गर्दछन् । साथै लामाबाट अभिषेक गराई लुङ्दार (ध्वजा) टाँग्ने गरिन्छ । आँगन, घरको छत, गुम्बा वा चैत्यहरुमा राखिने ध्वजालाई लुङ्दार भनिन्छ । लामो बाँसमा तल देखि माथिसम्म लहरै राखिने ध्वजालाई दार्चोर भनिन्छ । लामो डोरीमा लहरै राखिने ध्वजालाई लगंता भनिन्छ । भगवान् गौतम बुद्ध शान्तिको सन्देश बाँड्दै हिँड्ने क्रममा एक पटक देवता र राक्षसको युद्ध भइरहेको ठाउँमा पुग्दछ । त्यसपछि भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याल्जेन चुमे मन्त्र दिन्छन् । जसको शक्तिले देवताको विजय हुन्छ । यहीँ बिश्वासमा शेर्पा समुदायहरूले ग्याल्जेन चुमे मन्त्र लेखिएको लगंता घरघरमा टाङ्ग्न थालेको भन्ने गरिन्छ ।

एकनासको तलदेखिमाथीसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरुमा ससाना चारकुने झुन्डाइएका झन्डाहरूलाई भने लगंता भनिन्छ, तिब्बतीय भाषामा यसको अर्थ हवाई घोडा हो । 

एक किंवदन्ती अनुसार भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसँग पराजित हुन्छन् । त्यहिबेला भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याचेनु भगवान् इन्द्रु कामाध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चुमे दिन्छन् । त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यस विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चुमे मन्त्र लेखिएको लगंता घरघरमा टाङ्गने प्रचलन सुरु भएको मानिन्छ ।

यो पर्व नेपालको हिमाली क्षेत्रमा बसोबास गर्नुहुनेहरुका साथ चीन, मङ्गोलिया, बर्मा, सिक्किम तथा भुटानमा पनि मनाउने गरिन्छ । अन्तमा जीवन खाप्सेको स्वादझै अद्वितीय, लगंताका ध्वजाहरुजस्तै रङ्गिन होस हार्दिक  शुभकामना ।

प्रतिक्रिया