आइतबार, जेठ ६, २०८१

रुसि हमलाको एक वर्ष : संसारभर संकट

नेपालखोज २०७९ फागुन ९ गते १५:३२

एजेन्सी । रुस–युक्रेन युद्धको १ वर्ष पूरा हुन लागेको छ । २४ फेब्रुअरी २०२२ मा सुरु भएको यो भीषण युद्धले सुन्दर देश युक्रेनलाई भग्नावशेषमा परिणत गरेको छ । यो युद्धका कारण हजारौं विवाहित महिलाले आफ्नो जीवनसाथि गुमाए । लाखौं आमाको काख खोसियो भने अनगिन्ती सिपाहीले कर्तव्य पालनाको सिलसिलामा ज्यान फ्याले । विगत एक वर्षदेखि चलिरहेको यो युद्ध कहिले टुंगिन्छ भन्ने अनुमान पनि गर्न सकिदैन ।

गत वर्ष फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले युक्रेनमा ठूलो मात्रामा आक्रमण गर्न थालेको थियो । सैन्य शक्तिको हिसाबले रुसभन्दा निकै कमजोर राष्ट्र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हार मानेनन् । मेरिकालगायत धेरै पश्चिमा देशले यो युद्धका लागि रुसलाई दोष दिइरहेका छन् । यता रुसी राष्ट्रपति पुटिन युक्रेनलाई रुसको हिस्सा मान्छन । पुटिनको मनसाय रुसलाई १९९१ अघि अर्थात् सोभियत संघको विघटन हुनुअघिको अवस्थामा फर्काउने छ ।

७ हजारभन्दा बढीले ज्यान गुमाए :

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले जारी गरेको तथ्याङ्कअनुसार युक्रेनमा ७ हजार २ सय भन्दा बढी सर्वसाधारण मारिएका छन् । उनिहरुको हत्या पछिल्लो एक वर्षमा भएको पुष्टि गरिएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (OHCHR) ले सन् २०२३ को फेब्रुअरी १२ सम्म युद्धमा कुल ७,१९९ नागरिकको मृत्यु भएको जनाएको छ जसमध्ये ४ सय ३८ जना बालबालिका थिए भने ११ हजार ७ सय ५६ जना घाइते भएका थिए । यद्यपि, ओएचसीएचआरका अनुसार वास्तविक संख्या त्यस भन्दा निकै बढि पनि हुन सक्छ । जानकारी अनुसार गत वर्ष फब्रुअरि महिनामा सबैभन्दा बढी ३ हजार २ सय जनाको मृत्यु भएको थियो ।

सन् २०१४ मा रुसले क्रिमियालाई गाभेपछि युक्रेनले सरकार र रुस समर्थित पृथकतावादी क्षेत्र डोनेस्क र लुहान्स्कमा सैन्य द्वन्द्व देखेको थियो । यस अवधिमा सर्वसाधारण र सैन्य कर्मचारीहरू सहित १४ हजार २ सय जतिको मृत्यु भएको थियो । तीमध्ये कम्तीमा ३ हजार ४ सय सर्वसाधारण नागरिक थिए । नर्वेका रक्षा प्रमुख जनरल एरिक क्रिस्टोफरसेनले युद्धमा रुसका करिब १ लाख ८० हजार सैनिक मारिएको जानकारी दिएका छन् । यो सँगै युक्रेनका करिब १ लाख सैनिक मारिएका छन् ।

अर्कातर्फ अमेरिका तथा पश्चिमी देशहरुको रिपोर्ट अनुसार यो युद्धमा रुसका २ लाखभन्दा बढी सैनिक मारिएका छन् । जानकारी अनुसार यो युद्धका कारण विश्वको करिब ५१ लाख करोड रुपैयाँ (४ ट्रिलियन डलर) बर्बाद भएको छ । यसमा युक्रेन नै सबैभन्दा बढि आर्थिक क्षति बेहोर्ने देश हो । यो युद्धमा अमेरिकालगायत थुप्रै पश्चिमी देश युक्रेनलाई निरन्तर सहयोग गर्न लागिपरेका छन् । एक प्रतिवेदन अनुसार करिब ३० देशले युक्रेनलाई ठूलो संख्यामा हतियार तथा अत्यावश्यक सामग्री उपलब्ध गराएका छन । बेलायत र जर्मनी जस्ता देशले युक्रेनलाई ‘ च्यालेन्जर – २ ’ र ‘लेपर्ड – २ ’ जस्ता विनाशक ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

अमेरिकाले युक्रेनलाई सबैभन्दा बढी सहयोग गरिरहेको छ । अमेरिकाले युक्रेनमा ९० वटा स्ट्राइकर पठाएको छ । यसका साथै अमेरिकाले युक्रेनमा ५९ ब्राडली इन्फन्ट्री फाइटर विमान पनि पठाएको छ । रुस विरुद्ध लड्न अमेरिकाले युक्रेनलाई निरन्तर हतियार दिइरहेको छ । उल्लेखनीय कुरा के छ भने रुसले युक्रेन बाहेक अमेरिकाले पनि यो युद्ध लडिरहेको बताउँदै आएको छ । फेब्रुअरी २० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा छिट्टै ५० करोड डलर बराबरको हतियार र गोलाबारुद पठाइने वाचा गरे । नाटो तथा युरोपेली संघले पनि युक्रेनलाई निरन्तर सैन्य एवं आर्थिक सहायता प्रदान गर्दै आएका छन् । हालै नाटोले युक्रेनलाई घातक ट्याङ्क दिने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया