शुक्रबार, जेठ ४, २०८१

धर्म आस्थाले डोर्‍याएको यात्रा

कृष्ण कॅंडेल २०७९ फागुन ११ गते ७:२२

बिहीबार हाम्रो प्रिय बार, वर्षौंदेखि हाम्रो परिवार बिहीबार प्रति विशेष श्रद्धा राख्छ । ईश्वर प्रतिको विशेष आस्था परिवार बाटै सिकेको हो । साई बाबा प्रति श्रद्धा राख्नेहरूले विहीवारलाई शुभ मान्ने गर्दछन् हामी पनि यो वार लाई शुभ मान्ने गर्छौं । यसै क्रममा मेलवर्न वसाईमा पनि घर नजीकै सिरडी साई मन्दिर पुर्याए छोरा बुहारीले । अर्को पटक हामी आफैं ट्राम चढेर पुग्यौं साई मन्दिर ।एउटा अटुट आस्था र विश्वासले त्यहाँ पुर्यायो ।

दक्षिण भारतिय हिन्दुहरूको पूजा विधी देख्दा म त नतमस्तक हुन्छु । यमुना जी र मैले झन्डै डेढ घन्टा वितायौ । शान्त वातावरणमा केहीवेर ध्यानमा पनि बस्यौं । मन भित्र म को खोजीमा एकोरियौं । यो मान्छेको नितान्त व्यक्तिगत अवधारणा हो । यो संसारमा ईश्वरको अस्तित्व स्विकार नगर्ने मान्छेहरू पनि तमाम छन् । खासगरी युवावयका मानिसहरू वा द्वन्दात्मक भौतिकवाद को मात्र कुरा गर्नेहरू ईश्वरको अस्तित्व स्विकार गर्दैनन् । त्यसो भए के ईश्वर छॅंदैछैन त ? मान्छेले आज पनि ईश्वरको खोजी जारी राखेको छ । म आज ईश्वर छन् वा छैनन् भन्ने गहन विषय भित्र प्रवेश गर्दिन किनभने मेरो आस्था को ईश्वर छ भन्ने कुरामा पूर्णत विश्वस्त छु । यो संसार ईश्वरिय शक्ति बाट संचालित छ त्यसैले उसको आदेश विना पात पनि हल्लिदैन । यो मेरो अनुभूति र विश्वास हो , मेरो विश्वास संग सहमत असहमत हुने अधिकार जो कोहीलाई पनि छ म त्यसलाई सम्मान गर्छु ।

आस्था र विश्वासको कुरा अनुभूत गर्ने विषय हो । तपाईं कुनै विषयको गहिराईमा पुग्नुभयो भने त्यो विषय तपाईंसँग एकाकार हुन्छ त्यो तपाईको अनुभूति हो मेरो होईन । अं म बिहीबार र साईबाबाको चर्चा गर्दै थिँए । साई बाबा प्रतिको मेरो आस्था र विश्वास त्यतिवेला जाग्यो जव नेपाली नाट्य क्षेत्रका गतिशिल धरोहर आदरणीय अशेष मल्ल संग मेरो गहिरो मित्रता रह्ये ।करिव ३०/३२ वर्ष भयो उहाँसगको संवन्ध पनि यथावत छ र साईबाबा लगायत कुनैपनि ईश्वरिय शक्ति प्रतिको विश्वास झन झन प्रगाढ हुँदैछ । किनभने विज्ञानले भौतिक क्षेत्रमा ठुलो फड्को मारे पनि आध्यात्मिक वा पराभौतिक क्षेत्रसम्म पुग्न सकेको छैन ।

विज्ञानले उपलव्ध गराएको भौतिक सुख सुविधामा रमाउने जतिसुकै प्रयास गरेपनि मान्छे दिनप्रतिदिन दुखी हुंदैछ ।आरामदायी विस्तारा छ तर निन्द्रा छैन।मन लागेको खानेकुरा किन्न सक्ने सामर्थ छ तर भोक छैन ।ठुला ठुला डिग्री लिएको छ तर सामान्य भन्दा सामान्य कुराको ज्ञान छैन् ।सामाजिक संजालमा सयौं साथी छन् तर मनका कुरा सेयर गर्नमिल्ने हितैषी साथी टुकी बालेर खोज्नु पर्ने अवस्था छ । जीवन जगत र अध्यात्मलाई संतुलित तवर ले अघी बढाउने चेष्टा नराख्दा मानिस दिनप्रतिदिन डिप्रेसनको शिकार भै रहेको छ । जीवनलाई व्यवस्थित तुल्याउन अध्यात्मिक दियो बाल्नै पर्छ । विज्ञानले परीक्षण गर्छ तर अध्यात्मले अनुभूति गराउॅंछ ।विज्ञानको धर्म प्रामाणिक तर्क हो भने धर्मको विज्ञान तर्क सहितको आस्था हो ।आस्था र विश्वासमा नै यो संसार अडीएको छ ।

विज्ञानले ज्ञान दिन्छ भने अध्यात्मले विवेक दिन्छ । अलबर्ट आईन्सटाईन भन्छन् धर्मविना विज्ञान अधुरो हुन्छ, विज्ञान विना धर्म आंखा नभएको मान्छे जस्तै हुन्छ । त्यसैले अध्यात्म र विज्ञान एक आपसका परिपुरक हुन् ।यही विज्ञान र अध्यात्मको मूल मर्मलाई जोड्दै अगाडी बढेमात्र जीवनको रथ अघी बढ्छ भन्ने विश्वास भएर त होला हाम्रो विश्वासको धरोहर हामी जहाँ जहाँ जान्छौं त्यहीं त्यहीं कतै ऊॅंकार बनेर उभिन्छ कतै बुद्ध बनेर उभिन्छ कतै साई बनेर उभिन्छ आखीर नाममा मात्रै के छ र ईश्वर अनन्त छ निराकार तपाईको विश्वासमा नै तपाईको आस्थाको मियो छ, दियो छ । आस्थाको दियो बली रहोस् ।

प्रतिक्रिया