शनिबार, जेठ ५, २०८१

युक्रेन युद्धको एक वर्ष

नेपालखोज २०७९ फागुन ११ गते ११:२८

२४, फेब्रुअरी २०२२ को बिहान रुसले युक्रेनमा आक्रमण गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार यो युद्धका कारण हजारौं सैनिक र सर्वसाधारणको मृत्यु भैसकेको छ । हेरौं यो एक वर्षमा रुस- युक्रेन युद्धले के-कस्तो मोड लियो ?

करोडौंका लागि कालो दिन फेब्रुअरी २४, २०२२ को बिहान युक्रेनको राजधानी कीभमा विस्फोटको आवाजले धेरै मानिसहरू ब्युझिए किनभने रुसले युक्रेन बिरुद्ध व्यापक आक्रमण सुरु गरेको थियो । यो दोस्रो विश्वयुद्ध पछि अर्काको देशमा गरिएको सबैभन्दा ठूलो आक्रमण थियो । रुसि हमला पछि युक्रेनमा तत्कालै मार्शल ल लागू गरियो । आक्रमणमा नागरिकहरुको आवासीय क्षेत्रहरू लाई पनि निशाना बनाइयो र चाँडै मृत्युको संख्या उकालो लाग्दै गयो ।

निर्दयी फायरिङ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “विशेष सैन्य कारबाही” को कुरा गरे र उनीहरूको लक्ष्य युक्रेनको डोनेस्क र लुहान्स्क क्षेत्रहरू कब्जा गर्ने भएको बताए । डोनेट्स्कको मारियोपोल शहरमा मानिसहरू धेरै हप्तासम्म तहखानाहरूमा लुक्नुपर्ने भयो । यसक्रममा धेरैको भग्नावशेषमा पुरिएर मृत्यु भयो । मार्चमा हजारौं मानिसले शरण लिएको थिएटरमा रूसी हवाई हमला भयो ।

माइग्रेसन : युक्रेन युद्धले जबरजस्ती आप्रवासन निम्त्याएको छ जुन युरोपले दोस्रो विश्वयुद्ध पछि पहिलो पटक देखेको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार ८० लाखभन्दा बढीले युक्रेन छोडेका छन् । पोल्याण्डले मात्र १.५ मिलियन मानिसलाई शरण दिएको छ , जुन कुनै पनि ईयु सदस्य राष्ट्रको जनसंख्या भन्दा बढि हो ।

‘बुचा’को त्रासदी : केही सातापछि युक्रेनी सेनाले रुसी सेनालाई देशको उत्तर र उत्तर–पूर्वी क्षेत्रबाट धपाउन सफल भयो । त्यस पछि युक्रेनी राजधानी किभ कब्जा गर्ने रुसि योजना असफल भयो । यी क्षेत्रहरूको मुक्ति पछि कथित रूसी क्रूरताको हद देखा पर्न थाल्यो । त्यतिबेला कीभ नजिकैको बुचा सहरमा यातना दिएर मारिएका मानिसहरूका शवका तस्बिर विश्वभर देखिएका थिए। उक्त घटनामा ४६७ जनाको मृत्यु रेकर्ड भएको छ ।

क्रामातोर्स्कमा मृत्यु र विनाश : डोम्बासमा सर्वसाधारण मारिने संख्या तीव्र गतिमा बढेको छ । अधिकारीहरूले नागरिकहरूलाई सुरक्षित क्षेत्रहरूमा जान आग्रह गरे तर रूसी क्षेप्यास्त्रले क्रामाटोर्स्क जस्ता शहर जाने मानिसहरूलाई पनि निशाना बनाए । अप्रिलमा क्रामाटोर्स्कको रेलवे स्टेशनमा ६१ भन्दा बढी मानिस मारिए भने १ सय २० जना घाइते भए ।

क्षेप्यास्त्रबाट सुरक्षा : युक्रेनका करोडौं मानिसले रुसी हवाई आक्रमणबाट आफूलाई बचाउन कुनै न कुनै ठाउँमा शरण लिएका छन् । युद्ध मोर्चा नजिकै बस्ने मानिसहरूका लागि तहखाना ( भुमिगत आवास ) तिनीहरूको दोस्रो घर जस्तै भयो । ठूला सहरमा बस्ने मानिसले पनि मिसाइलबाट बच्न विभिन्न ठाउँमा शरण लिए । कीभ र खार्किभका सबवे स्टेशनहरूले पनि सुरक्षित आश्रयस्थानका रूपमा सेवा प्रदान गरे ।

जापोरिशियामा आणविक खतरा : आक्रमण पछिको पहिलो हप्ता रुसले युक्रेनको दक्षिणी तथा पूर्वी क्षेत्रको ठूलो भाग कब्जा गर्यो । युद्ध दक्षिणपूर्वमा रहेको जापोरोज्ये आणविक प्लान्टमा पनि पुग्यो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले प्लान्टमा विज्ञहरू पठाएर यसको वरपरका क्षेत्रहरूलाई सुरक्षित क्षेत्र घोषणा गर्न माग गरेको थियो ।

मारियोपोलमा निराशा : रूसी सेनाले तीन महिनासम्म मारिउपोललाई नियन्त्रणमा राख्यो, त्यहाँको आपूर्तिहरू रोक्यो। एसोभस्टल स्टिल प्लान्टलाई शहरमा युक्रेनको अन्तिम गढका रूपमा हेरिएको थियो । त्यहाँ हजारौं सैनिक तथा सर्वसाधारणले शरण लिएका थिए ।

प्रतिरोधको प्रतीक : रुसले युद्धको पहिलो दिन ब्ल्याक सीको स्नेक आइल्याण्ड कब्जा गरेको थियो। युक्रेनी र रुसी सैनिकबीचको कुराकानीको रेकर्डिङ इन्टरनेटमा भाइरल भयो । त्यसमा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गर्न अस्वीकार गरे । अप्रिलमा युक्रेनी सेनाले मोस्कभा नामक रुसी युद्धपोत डुबाएको दाबी गरे । जुनमा युक्रेनले रुसीहरूलाई टापुबाट निष्कासन गरेको बतायो ।

मृतकको संख्या स्पष्ट छैन : युद्धमा कति मानिस मारिए भन्ने अझै स्पष्ट भैसकेको छैन । संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा ७,२०० सर्वसाधारण मारिएका छन् भने १२,००० घाइते भएका छन्। यो संख्या यो भन्दा धेरै हुन सक्छ। मारिएका युक्रेनी सैनिकको संख्या पनि स्पष्ट छैन। डिसेम्बरमा, युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले अनुमान गरे अनुसार यो संख्या १३ , ००० सम्म पुग्न सक्छ । यसको कुननिष्पक्ष तथ्याङ्क उपलब्ध छैन् ।

युक्रेनका लागि टर्निङ प्वाइन्ट : युक्रेनलाई पश्चिमी हतियारको आपूर्ति युद्धको प्रारम्भिक दिनदेखि नै छलफलको विषय भएको छ, तर किभले सुरुमा थोरै संख्यामा हतियार मात्र प्राप्त गर्यो । हिमर्स नामको अमेरिकी रकेट लन्चरबाट पक्कै पनि मद्दत मिलेको थियो । यसले गर्दा युक्रेनको सेनाले रूसी तोपहरूलाई हुने गोला बारुदको आपूर्ति रोक्न सक्यो भने युक्रेनको सफल काउन्टर आक्रमणमा पनि योगदान पुर्यायो ।

मुक्त भएकोमा राहत : सेप्टेम्बरको सुरुमा युक्रेनी सेनाले खार्किभमा एउटा काउन्टर अपरेसन सुरु गर्यो । चकित रूसी सेनाहरू तुरुन्तै पछि हटे । उपकरण, गोला बारुद तथा कथित युद्ध अपराधको प्रमाण छोडेर । युक्रेनी सेना दक्षिणमा पनि खेरसनलाई मुक्त गर्न सफल भयो र त्यहाँ बसोबास गर्ने मानिसहरूले युक्रेनी सैनिकहरूलाई न्यानो स्वागत गरे ।

क्रीमियाको पुलमा विस्फोट : अक्टोबरको सुरुमा केर्च स्ट्रेट हुँदै क्रिमिया पुग्ने रुसले बनाएको पुलमा ठूलो विस्फोट भयो र पुल आंशिक रूपमा भत्कियो । रुसले युक्रेनबाट आएको विस्फोटक पदार्थ बोकेको ट्रकले विष्फोट गराएको दाबी गरेको छ तर युक्रेनी अधिकारीहरूले त्यस्तो आक्रमणको जिम्मेवारी लिएका छैनन् ।

ऊर्जा प्रणालीमा ठूलो आक्रमण : क्रिमियन पुल आक्रमणको केही दिनपछि रुसले युक्रेनको ऊर्जा प्रणालीमा पहिलो पटक ठूलो हमला गर्यो । ल्भिभदेखि खार्किभसम्मका क्षेत्रमा बिजुलीको आपूर्ति बन्द भयो । त्यसयता यस्ता आक्रमणहरू सामान्य बन्दै गएका छन् । पावर प्लान्ट र अन्य सार्वजनिक सम्पत्तिमा भारी क्षतिका कारण युक्रेनका मानिसहरूले लगभग दैनिक बिजुली कटौती र पानीको अभावको सामना गर्नु परिरहेको छ ।

युरोपेली एकीकरण : अहिले संसारका करोडौं मानिस युक्रेनको अवस्था बुझ्न तथा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दिने दैनिक सन्देश सुन्न समचार माध्यमहरु हेर्छन् , पढछन र सुन्छन । जेलेन्स्की आफ्नो देशका जनतालाई एकताबद्ध गर्न सफल मात्र भएका छैनन् उनले पश्चिमाहरूको समर्थन पनि पाएका छन् । उनको नेतृत्वमा युरोपेली एकीकरणले राम्रो प्रगति गरेको छ र युक्रेन अब यूरोपीय संघको सदस्यताको बाटोमा छ।

‘लेपर्ड २’ ट्याङ्को आशा : युक्रेनले कत्तिको सफलतापूर्वक प्रतिस्पर्धा गर्छ भन्ने कुरा यसले प्राप्त गर्ने सहयोगमा निर्भर गर्दछ । अमेरिकाको नेतृत्वमा विभिन्न देशको समूहले एक अर्ब डलरको मानवीय, आर्थिक तथा सैन्य सहयोगको प्रस्ताव गरेको छ । भारी हतियार पठाउन पश्चिममा तातो बहस भएको छ, मुख्यतया रूसको प्रतिक्रियाको चिन्ताको कारण । तर अब युक्रेनले पश्चिमी ट्याङ्कहरू पाउनेछ, जसमध्ये अधिकांश जर्मन निर्मित ‘लेपर्ड – २’ ट्याङ्कहरू हुनेछन्।

बख्मुत, एक भग्नावशेष सहर : बख्मुतलाई लिएर महिनौंदेखि भीषण युद्ध चलिरहेको छ । २०२३ को प्रारम्भमा युक्रेनी सेनाहरूले बाख्मुट नजिकैको सोलेदार शहरको नियन्त्रण गुमाए । त्यसयता बख्मुतलाई बचाउन गाह्रो भएको छ । जनवरीमा जर्मनीको गुप्तचर सेवाले युक्रेनी पक्षमा दैनिक सयौं मानिस मारिईरहेको रिपोर्ट गरेको थियो भने रुसी पक्षमा त्यस भन्दा बढि मानिस मारिएको अनुमान छ । स्रोत : डिडब्ल्यु

प्रतिक्रिया