प्रदेश १ प्रहरी कार्यालयकाे भवन उद्घाटन

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । उद्घाटन पश्चात मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षण समेत गरेका छन् ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्याउने बताए । निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने उल्लेख गरे । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा विगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नवनिर्मित भवनको योगदान रहने उनले बताए ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गरे । प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने धारणा उनले व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै थप मनोवल बढ्ने र कार्यक्षेत्रमा अनुकूल वातावरण सिर्जना हुने भएकोले थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताए ।
उक्त अवसरमा प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १ नम्बर प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भई कुल १९ करोड १४ लाख १ हजार ६ सय ६३ रुपैयाँको लागतमा जम्मा ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया