शनिबार, जेठ ५, २०८१

‘पठान’ प्रचार शैलीले ‘छक्का पन्जा ४ र छड्के २’लाई घाटा गर्ला की नाफा ?

नेपालखोज २०७९ फागुन १२ गते १२:५३

काठमाण्डौं । यो बर्षकै प्रतिक्षित २ फिल्म ‘छड्के २ र छक्का पन्जा ४’ रिलिज हुन एकहप्ता बाँकी छ । आज एक हप्तामा यी दुवै फिल्म हलमा लाग्ने छ । तर दुवै फिल्मका कलाकार, निर्माता, निर्देशक कोही पनि मिडियामा देखा परेका छैनन् ।

यसअघि फिल्म लाग्नु भन्दा हप्तौ पहिले मिडिया र देशदौडाहा देखिने कलाकार यो पटक भने मिडियाबाट टाढा बसेका छन् । यसलाई चलचित्र नगरी बुझकीहरुले फिल्मको प्रचारमा बलिउड फिल्म ‘पठान’को शैली अपनाएको टिप्पणी गर्दै आएका छन् ।

बलिउड फिल्म ‘पठान’ फिल्म रिलिज अघिसम्म यो फिल्मका मुख्य कलाकारहरु साहरुख खान, दीपिका पादुकोण, जोन अब्राहिम मिडियाबाट टाढा रहे । साहरुखले ट्विटरमा फ्यानहरुसँग साक्षात्कार गरे । मिडियाबाट टाढा रहेर उनीहरु विवादबाट बच्न खोजेका थिए ।

सोही अभ्यास नेपालमा पनि सुरु गरिएको छ । ‘छक्का पञ्जा ४’का लेखक तथा निर्माता दिपकराज गिरी कहाँ छन् ? मिडियालाई थाहा छैन् । उनले आज विहान सामाजिक सञ्जालमा पोष्टर शेयर गर्दै लेखेका छन्, ‘अर्को हप्ता त हो नि ! ( फागुन १९) आयो त अब !! शुभदिन !!’ यो बाहेक न दिपक, न दिपा वा अन्य कलाकर्मी सबैलाई मिडियामा देखिएको छैन् । यद्यपि, दिपाश्री निरौला अध्यक्ष रहेको कमेडी क्लब विथ च्याम्पियनका दुइ श्रृंखलामा केही कलाकारलाई प्रचारमा उतारिएको थियो ।

यता, फिल्म ‘ए मेरो हजुर ४’को प्रचारको समयमा नायक अनमोल केसी हरेक मिडियामा पुगेका थिए । सामाजिक संजालमा पनि उनी सक्रिय रुपमा लागेका थिए । तर, यसपटक उनी पनि फरक देखिएका छन् । अनमोलले मिडियासँग अन्तरवार्ता नदिने पक्का छ । बरु, उनी आफ्नै सामाजिक संजालमा फिल्मका प्रचार सामाग्री शेयर गरेर बसिरहेका छन् ।

यसपटक, अनमोल केसी र दीपकराज गिरीको टिमले पनि सोही शैली अपनाएको छ । उनीहरु पनि मिडिया फेस गर्दा हुने विवादबाट बच्न खोजिरहेका छन् । अझ, मिडियामा दुई फिल्मको भिडन्तको बिषयमा बढी प्रश्न आउने भएकाले पनि उनीहरु यसबाट टाढा हुन खोजिरहेका छन् ।

भारतको सिको गरिएको फिल्म प्रचार शैलीले दर्शकलाई कति आकर्षण गर्ला ? त्यो फागुन १९ नै पर्खनुपर्छ ।

प्रतिक्रिया