शनिबार, जेठ ५, २०८१

बेलायतको वेल्सको ब्रेकनमा नेपाली गाउँ बनाउने तयारी

सुनिल उलक २०७९ फागुन १४ गते ७:१०

काठमाण्डौं । बेलायत तिर नेपालीहरुले एउटा नेपाली गाउँ नै बनाउँदैछन् । बेलायतमा बसेका नेपालीहरु एक भएर गाउँ बनाउने योजना बनेको धेरै भएको थिएन । सन् २०२२ को अप्रिलमा शेयर लगानीको लागि खुला गरियो । अर्थात यहि २०७९ सालको शुरुवातमा खोलिएको शेयर सोचे भन्दा बढिको सहभागिता रह्यो ।

५००० पाउण्डको शेयरका लागि २०० जनाको लक्ष्य राखिएको थियो । तर सुरुमा नै २२७ जनाले शेयर किने । तुरुन्तै जग्गा खरिद गर्न दौडधुप शुरु भयो । कास्कीको धम्पुस जस्तै लाग्ने गाउँ वेल्समा पनि थियो । मध्य वेल्सको बेकन र धम्पुस बिच मितेरी सम्बन्ध गाँसिएको थियो । ४ वर्ष अगाडि ब्रेकनको मेयर उपमेयर लगायत २३ जना प्रतिनिधी कास्कीको धम्पुस गाउँमा आएर मितेरी सम्बन्ध गाँसेर गएका थिए । यसले ब्रेकन र धम्पुसको सम्बन्ध मात्रै नजिकिएको थिएन ।

बेलायतमा बस्ने नेपालीहरुमा पनि एउटा सपना जाग्यो ब्रेकनमा नै एउटा नेपाली गाउँ बनाउने । मेयर र उपमेयरको सहयोग नपाउने कुरा नै थिएन । तर समस्या थियो बलियो समुह र लगानीको । ब्रिटिस आर्मीका सेवानिवृत्त मेजर खुसिमान गुरुङ लागि परे । उहाँलाई साथ दिन अरु पनि आएँ । बेकनमा २४ एकड (१९१ रोपनी) जमिन हेरेर छुट्याइयो । सबै कानुनी प्रक्रिया तथा अन्य तैयारी भए पछि नेपाल भिलेजको औपचारिक घोषणाका लागि बिशाल कार्यक्रम आयोजना गरियो ।

बेलायतका लागि नेपालका राजदूत महामहिम ज्ञानचन्द्र आचार्य र उहाँको धर्मपत्नीको उपस्थितीमा ब्रेकनका सांसद, ब्रेकन टाउनका मेयर, तालगार्थ टाउनका मेयर, साथै ब्रेकन धम्पुस ट्विनिङ एसोसिएसन युकेका अध्यक्ष लगायत थुप्रैको उपस्थितीमा नेपाल भिलेजको घोषणा भएको थियो । धेरै उत्साही भएर धेरैले आबद्ध हुन चाहेका थिए । नभन्दै ६ महिना नपुग्दै सोचे भन्दा बढि करिव २५० जनाले शेयर लिएर नेपाल भिलेजमा सहभागीता जनाए । नेपाल भिलेजको परियोजना बारे हालै मेरो यस परियोजनाका परिकल्पनाकार तथा प्रबन्ध निर्देशक मेजर (रिटायर्ड) खुसिमान गुरुङ तथा योजना निर्देशक मानप्रसाद गुरुङसंग कुराकानी भएको थियो ।

यस परियोजनको पहिलो चरणमा शेयर सदस्य पर्याप्त भएको तथा जमिन खरिद गर्ने कार्य पनि समाप्त भइसकेको हुँदा अब छिट्टै त्यस जमिनमा रहेको पुरानो घर मर्मत गर्ने, जमिन सम्याउने, रुख रोप्ने नेपालकै गाउँघरको जस्तो चौतारो बनाउने ढुङ्गे धारा बनाउने तथा अन्य आवश्यक पूर्वाधारहरु बनाउने कार्यको थालनी हुने जनाउनु भएको थियो । सम्भव भए सम्म केही कार्यक्रमहरुको शुभारम्भ पनि गर्ने लक्ष राखेको बताए । अन्तिम चरणमा भने पर्याप्त शेयर सदस्य भइसकेपछि होटल, रेष्टुरेन्ट लगायत अन्य भवनहरु पनि बनाउने सोच रहेको जनाए ।

आशा एवं विश्वास छ, नेपालीहरुको आफ्नै देशको जस्तै गाउँ नेपाली गाउँ बेलायतमा तयार हुनेछ । जहाँ भित्र पुगे पछि सबैले नेपाली भाषा बोल्नेछन् । आफ्नो छोराछोरी नातिनातिनीलाई पनि नेपाली बोल्न लगाउने छन् । सबैले नेपाली पहिरनमा सहभागी हुनेछन् । नेपाली खाना तथा नेपाली संस्कारहरुको पालना गरिनेछन् । हाम्रो साथ र सहयोग नेपाली गाउँ बेलायतका लागि सधै रहनेछ ।

प्रतिक्रिया