शनिबार, जेठ ५, २०८१

संकटमा हिमाल-तराई

नेपालखोज २०७९ फागुन १४ गते १५:५३

उज्यालो रातो रंगको गुराँस, यो फूल नेपाल भुटान लगायत भारतको हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम तथा अरुणाचल प्रदेशको पहिचान हो । विभिन्न रंगका गुराँसलाई कतै राज्यको फूल त कतै राष्ट्रिय फुल मानिएको छ । हिमाली क्षेत्रमा १७ सय मिटरभन्दा बढी उचाइमा पाइने गुराँसको रुखमा अप्रिल–मे महिनामा फूल फुल्छ भने त्यो फूलका कारण पूरै जंगल वा डाँडा रातै देखिन्छ ।

यद्यपि यस पटक कतिपय ठाउँमा डिसेम्बरको अन्त्य देखि नै गुराँस फुल्न थालेको थियो । यसै गरि मे –जुनमा पाक्ने फल काफल पनि तीन महिनाअघि नै पाक्न थालेको छ । सामान्यतया काफल र गुराँस भएको ठाउँमा हिउँदमा प्रसस्त हिउँ पर्छ तर यस पटक यो क्षेत्रका दर्जनौं चुचुरा हिउँका लागि आतुर छन् ।

१८ सय मिटरको उचाइको कुरा छाडौं यसपटक २२ सय देखि २५ सय मिटरको उचाइमा पनि हिउँ परेन । त्यहाँ केही घण्टाका लागि बरफका छिटाहरू मात्र देखिएका थिए । वर्षाको अवस्था पनि त्यस्तै थियो । अहिले हिमालय नजिकैको घाँसले ढाकिएको क्षेत्रमा जनवरीमा आगलागीका घटनाहरू देखापर्न थालेका छन । यस्तो मौसमी परिवर्तनले हिमाललाई नराम्रो सँग सुकाइदिएको छ । यसको परिणाम यसपटकको गर्मीमा पानीको हाहाकार हुने निश्चित छ ।

तराई – मधेसको जीवन खतरामा : यो फेब्रुअरीमा धेरै दिन पहाडको औसत तापक्रम १० डिग्रीभन्दा बढी रह्यो भने तराईमा भने तापक्रम २५ डिग्री नाघिसकेको थियो । भारतको बनारस , दिल्ली तथा भुज जस्ता सहरमा फेब्रुअरीको गर्मीले दशकौंको रेकर्ड नै तोड्यो । यस पटक यो महिनाको बिशेषता नै भयो तातो मौसम र अत्यन्तै थोरै वर्षा । तापक्रमले अर्को ठूलो परिवर्तन पनि ल्याएको छ । मैदानी ईलाकामा यसपटक आँप र लिची जस्ता फलहरू जनवरी मै फुल्न थालेका छन् ।

सामान्यतया यी रूखहरू वसन्त पछि फूल्छन् । यद्यपि यसपटक आँप , लिची जस्ता रुख डेढ महिना अघि बढेका छन् र यसबाट किसानहरु अचम्मित हुनुका साथै त्रसित पनि छन् । यसपटक बाली कस्तो हुन्छ थाहा छैन । यसको कारण पनि गर्मी मौसम नै हो । कृषि विज्ञहरूका अनुसार यसपटक खडेरी र गर्मीका कारण गहुँबाली प्रभावित हुनसक्छ । गहुँ भनेको यो क्षेत्रका एक अर्ब मानिसको मुख्य भोजन हो ।

बदलिँदो मौसमका कारण धेरै वन्यजन्तु र वनस्पति नयाँ क्षेत्रमा पुग्न थालेका छन् । चिसो मानिने धेरै क्षेत्रमा आँप र अम्बक जस्ता न्यानो हावापानीका बोटहरू फुल्न – फल्न थालेका छन् । मनतातो हावापानी मन पराउने मयूर र हात्ती पनि हिमालमा प्रवेश गर्न थालेका छन् । २६ सय मिटरको उचाइमा सर्प फेला पर्न थालेको छ । यसबाट स्पष्ट हुन्छ कि बोटबिरुवा र वन्यजन्तुहरु बाताबरणको परिवर्तन संगै आफूलाई अनुकूलन तुल्याउन व्यस्त छन्। यस्तो अवस्थामा मानिसले आफुलाइ कसरी अभ्यस्त तुल्याउने हुन हेर्न बाँकी नै छ ।

प्रतिक्रिया