बिहीबार, वैशाख २०, २०८१

स्वावलम्बन लघुवित्तको २१ औं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७९ फागुन १९ गते १७:३९

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २१ औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ मा रु.२९ करोड ५ लाख १४ हजार १ सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को पौष मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम.२० अर्व ७० करोड ५० लाख रुपैयाँ पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु.१२ अर्व ६९ करोड ७ लाख रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमूखि सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय रुपैयाँ कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

सभाले यस वित्तीय संस्थाको आ.व.२०७९/८० को लेखापरीक्षण गर्नको लागि श्री सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया