थकालीहरुको पर्व ‘तोरन्ला’ के हो ?

थकाली जातीयहरू खासगरि तीन भागमा विभाजित भएको मानिन्छ । पहिलो तामाङ थकाली जसको मूल निवास थाक खोला इलाका अर्थात् टुकुचे देखि लेते र घासासम्म बसोबास गर्नेहरू हुन भने दोस्रो युलङवा जो पाँच गाउँ भित्रको (ठिनी, स्याङ, चिमाङ, छैरो) मा बस्नेहरू हुन । अन्तमा तेस्रो थकालीहरू अर्थात् मार्फाली (पुनेल) थकाली जो मार्फामा बसोबास गर्ने गर्दछन् ।
पहिलो र दोस्रो थकालीहरू त्यस क्षेत्रमा बसोबास गर्ने थालेको लामो इतिहास पाइन्छ भने तेस्रो समूह पुनेल वा पुण्डेलहरु भने डोल्पा क्षेत्रबाट यहाँको मार्फा इलाकामा केही पछि आएर बसोबास गर्न थालेको देखिन्छ ।
यी तिनै थकालीहरूमा वास्तविक थकालीहरू आफू भएको जिकिर गर्ने गरेको पाइन्छ ।
बि.सं. १९८० को दशक तिर हर्कमानका छोराहरू मोहनमान, हितमान, चेतमान तथा गुप्तामानले पहिलो पटक थकालीहरूको थर नेपाली रूपमा राख्न थालेको विश्वास गरिन्छ । तर नेपालीकरण गरिँदा कुन आधारले गरेका थिए भन्न सकिने खासै आधार भेटिँदैन । तर समाजशास्त्री भिन्डिङका अनुसार नामको अगाडिको आफ्नो देवताको नामबाट र पछाडिको चन सुब्बा पद पाए पछि ठकुरीका रूपमा चन्दलाई चनको रूपमा प्रयोग गरेको अनुमान गरेका छन् । जस अनुसार ढिमचनहरुले शेरचन लेख्न थालेका थिए । ल्ह क्हाङ्ला सिङ्कि कर्पोलाई देवताका रूपमा मान्ने शेरचनहरू सेतो देवता मान्ने गर्दछन् ।
ल्ह क्हाङ्ला सिङ्कि कर्पोको अर्थ सेतो हिम सिंह हो । तसर्थ आफ्नो देवता सिंहको रूपमा शेर राखेको देखिन्छ । च्योल्कीहरुले नेपालीमा गौचन लेख्न थाले । जसमा गौ को अर्थ गाई थियो । साथै गौचनको देवता ल्ह ग्लाङपो न्हुर्बु मा ग्लाङपोको अर्थ हात्ती भनिए पछि हिन्दूकरण गर्दै गणेश बनाएका थिए । तर ग्लाङपोको अर्थ तिब्बती भाषामा गाई पनि हुने गर्दछ । तसर्थ आफ्नो देवता गाईबाट नै गौचन बनाएको हुनुपर्दछ । त्यस्तै साल्कीहरुले आफूलाई तुलाचन बनाए । तुलाको अर्थ तौलने भएको भए पनि छिरिन घ्याल्मो अर्थात् हरियो देवता मान्ने भए पनि नेपालीकरण गरिँदा किन तुलाचन गरे भन्ने यकिन भेटिँदैन ।
तुलाचनहरुको देवता ल्ह छ्युरिन घ्याल्मो अर्थात् समुद्री देवी हुन । तर पनि तुलाचन थर राख्नुको खास कारण भने देखिँदैन । शायद एक अर्कोलाई समानतामा राख्ने भूमिका गरेका कारण तुलाचन भएको भन्ने अडकल गर्न सकिन्छ । प्हुर्कीहरुले पछि भट्टचन लेख्न थालेको थियो । भट्टको अर्था साटफेर हुनु र प्हुर्कीहरुले नुनसँग अन्न साटफेर गर्ने हुँदा यिनीहरूले भट्टचन लेख्न थालेको भनिन्छ । साथै भट्टचनहरूको देवता ल्ह यहावा हाङज्युङ हो । जसले चौरीगाईको सिर्जना गरेको मान्ने गरिन्छ । तसर्थ भट्टचनहरू चौरीगाई, जसलाई कालो देवताका रूपमा लिने गर्दछन् ।
मार्फाली थकालीले २०१० को आसपासमा हिराचन (पुन्तन फोवे), पन्नाचन (गुम्ली च्याङवो फोवे), जुहारचन (गुम्ली थोवो फोवे) तथा लालचन (ह्योर्तेन फोवे) को रूपमा नेपाली रूपान्तरण गरेको देखिन्छ । यी चार थरहरूमा पन्नाचन र जुहारचन दाजुभाइका सन्तान भएको हुँदा यी दुई थरहरू बिच बिहेवारी चल्दैन । थकालीहरूको परम्परागत विवाहमा मामाफूपुका सन्तान बिच हुने गर्दछ । अन्य पाँच गाउँलेले भने आफूलाई थकाली मात्र लेख्न थालेको भेटिन्छ । तर यी पाँच गाउँले थकाली भित्र पनि ग्याल्गी फोवे, क्या फोवे, झिसिं फोवे, चे फोवे, सकार फोवे, बोम फोवे, स्याङ्तान फोवे तथा पासिं फोवे रहेको छ । यी भित्र अन्य उपथरहरू पनि छन् ।
थकालीहरू राणाकालमा राणाहरूको नजिक भए पछि बिस्तारै हिन्दूकरण भएको देखिन्छ । ४ जातिका चार देवता छन् । तर सबै थकालीका एकै देवता नहुँदा उनीहरूले महालक्ष्मीलाई साझा देवताको रूपमा भित्राएको उल्लेख गरेको पाइन्छ । त्यसको लगत्तै शेरचनहरूको सेतो देवता घन्लासर्किकर्पोलाई नर्सिङको अवतार, तुलाचनको हरियो देवता छिरिन घ्याल्मोलाई ग्रहको रूपमा, गौचनहरुको रातो देवता लाङ्ग्वा नुर्बुलाई गणेशको अवतार तथा भट्टचनहरूको कालो देवता ह्यवरनजुङ लाई भैरवको अवतारको रूपमा मान्न थालेको भन्ने देखिन्छ । साथै आफ्नो पारम्परिक पोसाकलाई त्यागेर राणाकालमा दौरा सुरुवाललाई अपनाएको पनि पाउँछौ । तर पुरुषहरूले आफ्नो परापूर्व काल देखिको पोसाक छोडे पनि महिलाहरूले भने पुरानो पहिरन छोडेको देखिँदैन ।
थकालीहरू मुख्य रूपमा नयाँ वर्ष आगमनका रूपमा फागु पूर्णिमाका दिन मनाउने गर्दछन् । तीन दिनसम्म मनाउने यो विशेष पर्वलाई थकालीहरू तोरन्ला भन्ने गर्दछन् । तर थकालीहरूले किन थकाली पात्रो अनुसार दोस्रो महिनामा नयाँ वर्षका रूपमा मनाउने थाले भन्ने यकिन तथ्य भेटिँदैन । तर थकालीहरू तोरन्लालाई पितृ पूजाका रूपमा मनाउने गरेको पाइन्छ ।
प्रतिक्रिया