शनिबार, जेठ ४, २०८२

यूएईमाथि नेपालको जित

नेपालखोज २०७९ फागुन २२ गते १९:५५

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ४२ रनले विजयी भएको हो । 

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अल आउट हुँदै १ सय ८७ रन मात्र बनायो । यूएईका लागि ओपनर मुहम्मद वासिम शुन्य रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ खानले ८२ रनको अर्धशतकीय ईनिङ खेले । 

आर्यन लाक्राले ५० रनको अर्धशतकीय ईनिङ खेले । वृत्य अरबिन्दले १३ रन बनाउँदा यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ तथा आरिफ शेख,करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । 

पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए ।

सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए । यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने भएका थिए । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । 

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ । नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

प्रतिक्रिया