शुक्रबार, वैशाख २१, २०८१

फागु र होलीको विभाजन

सुनिल उलक २०७९ फागुन २३ गते १३:३८

काठमाडाैं । बेला– बेला देशलाई सम्झ्यो भने सांस्कृतिक रुपले यहाँको सरकारले नै देशलाई बिभक्त गरे झै लाग्छ। नेपाल सरकारको सूचनाका आधारमा कहिले नेवा:हरुको किजा पूजा र अन्यको भाइ टीका भनेर सरकार नियन्त्रित पञ्चांग निर्णायक समितिले घोषणा गरेको पाउँछौ । कहिले नेवा:हरुको म्हपूजा अन्यको गोवर्धन पूजा भनेर पात्रोमा लेखेको पाउँछौ । यस्तै तराइको होली र पहाडको होली भनेर दुई दिन सरकारी पात्रोमा छुट्टी दिन थालेको पनि बर्षौ भयो ।

देशमा २०४६ सालको जनआन्दोलन भर्खर भर्खर शुरु हुँदै गर्दा २०४६ सालको फागुन २२ गते नेपाल सरकारले २०४७ सालको वार्षिक सार्वजनिक तथा पर्व बिदाहरुको सूचना राजपत्रमा प्रकाशित गर्दा फागु पूर्णिमाको बिदा केवल एक दिन फागुन १६ गते बिहिवार भनेर प्रकाशित गरेको थियो । यसपछि जनआन्दोलनको सफलता पछि देशमा परिवर्तन आयो । देशमा पञ्चायती ब्यबस्थाको समाप्ति संगै बहुदलिय ब्यबस्थाको शुभारम्भ भयो । यसले राजनीतिको खेती गरेर खानेहरुका लागि त लाभप्रद भयो होला । तर आम जनताका लागि भने खासै परिवर्तन आएन ।

पञ्चायती ब्यबस्थाको अवसानसंगै धेरै कुराहरुको परिवर्तन त्यसपछिका सरकारले गर्दै गए । यस्तैमा २०४७ असोज ८ गते गृहमन्त्रालयको सूचना प्रसारित भयो । जसमा २०४७ सालको सार्वजनिक तथा पर्व बिदाहरुको संशोधनको सूचना थियो । नेपाल सरकारको २०४७ साल भदौ १२ गतेको निर्णय अनुसार भनेर दिइएको परिवर्तित सूचनामा सार्वजनिक पर्व बिदामा फागुको बिदा दुइ प्रकारको थियो ।

देहायका जिल्लाहरुमा फागुन १७ गते दिन एक र अरु जिल्लाहरुमा फागुन १६ गते दिन एक बिदा दिइनेछ भन्दै तराईका २३ जिल्ला उल्लेख गरिएको थियो । यसरी एउटै देशमा एउटै पर्वलाई दुई दिन बिदा दिएर देशलाई सांस्कृतिक रुपमा बिभाजन गरिदियो । यस अगाडि सयौं वर्ष देखि सांस्कृतिक बिभाजन नभएको देशमा बहुदलीय ब्यबस्थाको आगमन संगै हाम्रो फागु र तराईको होली हुन पुग्यो ।

प्रतिक्रिया