बालबालिकालाई किन चिनीको अस्वस्थ झोल दिनुहुन्छ ?

केही बर्ष पहिले भारतमा फलफूलको रस बनाउने एक कम्पनीले भारत सरकारलाई मुद्दा हाल्यो । कम्पनीको भनाइ थियो– हामीले फलफूलको रस बनाउने हुनाले हाम्रो खाद्य पदार्थमा केवल १३ प्रतिशतमात्र कर लगाइनुपर्छ । त्यो मुद्दा हेर्ने अदालतका न्यायाधीशले कडा निर्णय सुनाए– ‘तपाईंहरूले फलफूलको रस बनाउने होइन कि विभिन्न किसिमको सोडा पानीमा, फलफूलको बास्ना मिलाएर त्यसलाई फलफूलको रस भनेर नाम दिनुहुन्छ ।
त्यसैले साँच्चै नै फलफूलको रस बनाउने कम्पनीलाई दिएसरह तपाईंहरूलाई छुट दिन मिल्दैन । तपाईंहरू जनतालाई हावा भरिएको पानी पिलाएर तागत बढ्छ भन्ने झुटो दाबी गर्नुहुन्छ । यो समाचार प्रकाशन गर्ने पत्रिका टाइम्स अफ इन्डिया लेख्छ– ‘उपभोक्ता तपाईंहरू साबधान रहनुस्। हावा र चिनी मिलाएर बनाएको तथाकथित फलफूलको रसले तपार्इंलाई एकछिन मुखको स्वाद त देला, तर स्वास्थ्यमा चाहिँ हानी गर्छ।’ सामान्य मानिसले प्याकेटमा त साँच्चै नै फलफूलको जुस मिसिएको भन्ठान्छन् ।
आँपको रस, स्याउको रस, लिचीको रस, अनेकअनेक रस भन्ठानेर पिउनेहरूले त्यसरी रसलाई बट्टामा राख्दा एकदुई वर्षसम्म सुरक्षित रहन्छ भने त्यसमा रसायन र चिनी पक्कै मिसाएको हुनुपर्छ भन्ने हेक्का नै राख्दैनन्। हामी युरोपमा बसेर पढ्दा पसलमा गएर ताजा फलफूलको रस किन्थ्यौँ, त्यसमा लेखिएको हुन्थ्यो– घर लगेको ३ दिनमात्रै प्रयोग गर्न मिल्छ । त्यही पसलमा बट्टामा राखेका फलफूलको रसचाहिँ ‘फलफूलको रसभन्दा झन्डै आधा सस्तो र एक वर्षसम्म प्रयोग गर्न सकिने’ भनेर लेखिएको पाइन्थ्यो। केही साथीले पैसा बचाउन बट्टाको फलफूल किन्थे ।
‘महँगो भए पनि ताजा रस किन’ भन्दा उनीहरू मान्दैनथे। बट्टाका फलफूलको रस मधुमेह भएको, मोटा व्यक्तिले पिउनु हुँदैन, किनभने यसमा चिनीको मात्रा धेरै हुन्छ भनेर बारम्बार चिकित्सकहरूले भन्दै आएका छन्। तर प्रायजसो व्यक्ति बट्टामा राखिएको जुस ताजा फलफूलको रसबाट नै बनाएको हुन्छ भन्ने भ्रममा पर्छन् र यस्तो पेयपदार्थ प्रयोग गर्छन्। र, पैसा तिरेर खराब स्वास्थ्य किन्छन्। सामान्य अवस्थामा पनि फलफूलको ताजा रसभन्दा सम्पूर्ण फल नै खानु उपयुक्त हुन्छ। यसबाट फलफूलमा भएको रेसादार पदार्थ र अन्य सूक्ष्म पोषक तत्व सजिलोसँग प्राप्त गर्न सकिन्छ। विरामीबाट उठेको, साना शिशु, चपाउन नसक्ने व्यक्तिलाई फलफूलको ताजा रस उपयुक्त हुन्छ ।
ताजा फलफूल स्वस्थ पेयपदार्थ हो। तर बट्टामा राखिएको फलफूलको रसचाहिँ वास्तविकरूपमा स्वस्थकर हुँदैन। यो महँगो हुने हुनाले हामी यो राम्रो हुन्छ भन्ठान्छौँ। उदाहरणको लागि, कसैको घरमा पाहुना भएर जाँदा कसैले आफ्नै बारीमा फलेको अम्बा कोसेली लग्यो भने ‘छ्या, जाबो अम्बा पनि कोसेली ल्याउने?’ भनेर कुरा काट्छन्। बट्टाबन्द र म्याद सिद्दिन २ दिन बाँकी भएको, तर विदेशबाट आएको तथाकित अम्बाको रस लग्यो भने ‘ओहो, कति राम्रो अम्बाको रस’ भनेर कृतज्ञ हुँदै उपहार स्वीकार गर्छौं! आफ्नो बारीको ताजा अम्बालाई छ्या भन्ने अनि अम्बाको नाममा अम्बाको गन्ध र चिनी तथा ग्यास मिसिएको रसचाहिँ आहा हुने यो मानसिकताले हाम्रो स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ ।
यसको हेक्का हामी राख्दैनौँ । बालबालिकालाई यसरी किनेर महँगो चिनीको झोल दिनुभन्दा त साधारण पानी नै दिनोस्, बरु बजारमा पाइने मौसमअनुसारको फलफूल दिनु उत्तम हुन्छ। बालबालिकालाई महँगो स्याउ किनेर ख्वाउनु पर्दैन, अम्बा, नास्पाती, अमला आदि तुलनात्मकरूपमा सस्तो फलफूल दिनोस्। चिनीको झोलभन्दा त मौसमी फलफूल किनेर दिनुको अर्थ हो बच्चाले फलफूलमा भएको सम्पूर्ण पौष्टिक तत्व पाउनु। यसको अर्थ यो पनि हो कि, ‘भ्रामक विज्ञापन’बाट आमाबाबु मुक्त हुनुपर्छ।
कुनै ठाउँमा अतिथि भएर जाँदा यदि कसैले गिलासमा फलफूलको रस ल्याएर दिए भने म सोधिहाल्छु, ‘यो बट्टाको रस हो कि ताजा रस?’ बट्टाको जुस रहेछ भने म बडो नम्रतापूर्वक त्यसो भए मलाई चिनी नहालेको तर कागती हालेको चिया दिनुस् भनेर आग्रह गर्छु। बच्चाले विज्ञापन देखेर झगडा गरेर फलफूलको नाममा राखिएको चिनीको रस माग्यो भने उसलाई बुझाएर फलफूल नै खान सिकाउनुको अर्थ हो भविष्यको लागि स्वस्थ रहन पनि सिकाउनु।
बच्चाले झगडा गरेर माग्यो भने वा रोएर लडीबुडी गर्यो भने के तपाईंले आफ्नो बालबालिकालाई रक्सी र चुरोट दिनुहुन्छ? दिनुहुन्न, किनभने चुरोट र रक्सीको विज्ञापनमा बच्चालाई प्रयोग गरिँदैन र बच्चाले माग पनि गर्दैन। चुरोट र रक्सी उनीहरूलाई दिनुहुन्न भने ‘चिनीको अस्वस्थ झोल’ किन दिनुहुन्छ ?
प्रतिक्रिया