शुक्रबार, वैशाख २१, २०८१

श्री ३ चन्द्रशमशेरको बेलायत यात्रा

सुनिल उलक २०७९ फागुन २७ गते ८:०८

दाजु देवशमशेरलाई सत्ता च्युत गरेर प्रधानमन्त्री बनेका चन्द्रशमशेरले सबैभन्दा पहिले त्यति बेलाको भारतमा रहेको अङ्ग्रेज सरकारको भाइसराय लर्ड कर्जनलाई पत्र पठाएर बेलायत ९भारत सरकार०सँग अझ सम्बन्ध मजबुत गर्न चाहेको उल्लेख गरेका थिए । नभन्दै चन्द्रशमशेरले लर्ड कर्जनलाई सिकारको निम्तो दिए । सिकार भनेपछि भुतुक्क हुने बेलायतीहरू नेपालको प्रधानमन्त्रीको निम्तो पाएपछि १९५७ चैत्र १७ मा सिकार खेल्ने लर्ड कर्जन नेपालमा आए ।

तराइमा दुईको भेट भयो । यो भेटको अविस्मरणीय तस्बिर मैले सङ्ग्रह गरेर राखेको छु । हुन त, लर्ड कर्जन वीरशम्शेरको समयमा नै आउन चाहेका थिए । तर वीरशम्शेरले स्वास्थ्यको कारण देखाएर निम्तो पठाएनन् । १९५७ फागुन २२ मा प्रधानमन्त्री वीरशमशेरको निधन भयो । सोझा देवशम्शेरलाई लामो अवधि प्रधानमन्त्री बन्न दिएनन् । तसर्थ, बाठा चन्द्रशमशेरले यो मौका गुमाउन चाहेनन् । त्यति बेला म्याट्रिक ९हालको एसएलसी० पास गरेका हुँदा अङ्ग्रेजीमा राम्रै बोल्दथे । तसर्थ अङ्ग्रेज सरकारलाई फकाउन सिपालु चन्द्रशमशेरले त्यसपछि कलकत्ता गएरै पनि लर्ड कर्जनलाई भेटे । भोट सरकार र बेलायती सरकार बिचको बिग्रँदो सम्बन्धलाई सुधार्न मध्यस्थकर्ताको भूमिका पनि निभाए ।

सन् १९०३ को जनवरी १ को दिन दिल्ली दरबारमा भएको बेलायती राजा एडवर्डको राज्यारोहणको कार्यक्रममा दिल्ली दरबार पुगे । दिल्ली दरबारमा अन्य राष्ट्रको राष्ट्र प्रमुखहरूको लहरमा बसेर नेपाल स्वतन्त्र राज्य रहेको चिनाउन सफल भए । अन्ततः बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा १९६४ चैत्र २५ मा काठमाडौँबाट निस्केको उनी सहितको टोली १९६५ वैशाख २७ गते शुक्रवार बेलायत पुगेका थिए । करिब १० हप्ताको बेलायत भ्रमण सकेर १९६५ साउन ७ मा बेलायत छोडे ।

त्यस भ्रमणमा आफ्ना भाइ भतिजा छोराहरूमा जुद्धशमशेर, रुद्रशमशेर, मोहनशमशेर, बबरशमशेर, केशरशमशेर, सिंहशमशेर, हिरण्यशमशेर, स्वाइ जयपृथ्वीबहादुर सिंह, मामा खलकका डिल्लीशम्शेर थापा, अन्य दलबहादुर बस्न्यात, विष्णुकुमार पाण्डे, चन्द्र जङ्ग थापा, निजी सचिव मरीचमान सिंह, निजी सचिवका सहायक शमशेरमान सिंह, गङ्गाबहादुर बस्न्यात, नरनारायण शाही, शुभ गोविन्द प्रसाद, वैद्यमा रत्नदास वैद्य, दरबार हाई स्कुलका हेडमास्टर वटुकृष्ण मैत्रय, पण्डित काशीनाथ तथा अन्य १९ जना नोकरचाकर लगेका थिए । बेलायतीहरूको तर्फबाट नेपालका लागी बेलायती रेसिडेन्ट ९राजदूत० जे मानर्स स्मिथ, चौथो गोर्खा राइफलका माक्लोइड विलि, पाचौ गोरखा राइफलका मेजर अमरसिंह थापा तथा चौथो र पाँचौँ राइफलका अन्य दुइ अर्दली पनि गएका थिए ।

१९ जना नोकरचाकरमा एक जना थिए, दिर्घमान चित्रकार । उनी दरबारका चित्रकार थिए । बुरुसले चित्र कोर्ने तर यस पटक बेलायती फोटोग्राफरको भरोसामा नरहने भन्दै चन्द्रशमशेरले कलकत्ताबाट क्यामेरा मगाएर दिर्घमानलाई फोटो खिच्ने तालिम दिएर लगेका थिए । उनलाई दरवारिका फोटोग्राफर भनेर नै बेलायत लगिएको थियो । तर नामको सूचीमा भने उनको नाम थिएन । नोकरचाकर भनेर राखिएको थियो । यसर्थ, पनि त्यो बेला फोटोग्राफरलाई विशेष महत्त्व दिँदैनथ्यो भनेर बुझ्न सकिन्छ । यहाँ राखिएको यो तस्बिर उनै फोटोग्राफर दिर्घमान चित्रकारले खिचेका थिए । त्यति बेला रङ्गिन फोटो हुनुहुन्थ्यो । तर वंशज नै चित्रकार भएको हुँदा उनले त्यो फोटोमा हातले निकै मेहनत गरेर रङ्गिन बनाए । दिर्घमान चित्रकारका बुबा लक्ष्मीलाल चित्रकार पनि दरवारिका चित्रकार थिए । उनले बनाएको जयप्रकाश मल्लको चित्र आज सर्वत्र प्रख्यात छ तर चित्रकार को थिए भनेर भने कसैले जान्दैनन् । परिवारका सदस्य बाहेक अन्यको लागी गुमनाम रहेको छ ।

प्रतिक्रिया