शनिबार, जेठ ४, २०८२

नेपाल आज पिएनजीसँग भिड्दै

नेपालखोज २०७९ फागुन २९ गते ७:१६

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ । यो सिरिजमा नेपालको यो तेस्रो खेल हो भने नेपालले यस अघिका दुईवटा खेल जितिसकेको छ । बाँकि एउटा खेल युएई सँग खेल्नुपर्नेछ ।

आजको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले आजको खेल सहित बाँकी रहेका दुई खेल जित्नै पर्नेछ ।

पीएनजीलाई यो सिरिजको अघिल्लो खेलमा नेपालले ५२ रनले पराजित गरेको थियो । नेपाल आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १ सय ७७ रनलेको फराकिलो अन्तरले हराउँदै चौथो स्थानमा उक्लिएको छ । नेपालले विश्वकप लिग टूको अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो । सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ। नेपालले बाँकी दुई खेलमा जित निकाले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ जसमा नेपालले सफलता हासिल गरिसकेको छ । लिग-२ काे च्याम्पियन स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानमा रहेको नामिबियाले ३६ खेलबाट ३९ अंक जोडेको छ । यता नेपालले हिजोको जित सहित ३४ खेलबाट ३६ अंक जोडेको छ । बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछाडि पार्नेछ । यसैगरी पाँचौ स्थानमा रहेको अमेरिकाले ३६ खेलबाट ३५ अंक जोडेको छ भने युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीले ३४ खेलबाट ११ अंक जोडेको छ।

प्रतिक्रिया