बिहीबार, वैशाख १३, २०८१

आज वर्ल्ड वाइड वेभ (www) सुरु भएको दिन

नेपालखोज २०७९ फागुन २९ गते १५:४३

मार्च १२, १९८९ मा सुरु भएको वर्ल्ड वाइड वेभ (www) यस वर्षबाट ३४ वर्ष पुरा भएको छ । यो सँगै मैले इन्टरनेट चलाउन थालेको पनि २९ वर्ष भयो । थोरैले मात्र पोखरामा सुरुको दिनहरूमा इन्टरनेट चलाउन पाएका थिए । यो तस्बिर २३ वर्ष अगाडीको मेरो कमाउने ठाउँको हो ।

मेरो साइवर क्याफे “Cyber@City” पोखरामा इन्टरनेटको सुविधा दिने पहिलो ठाउँ थियो । यो डेकोरेशन तेस्रो हो । सुरुमा एउटा मात्र कम्प्युटर पछि चार वटा थप भएर पाँच वटा कम्प्युटर त्यसपछि ४ वटा थपेर ९ वटा कम्प्युटरबाट सेवा दिन थालियो । अनौठो त त्यति बेला इन्टरनेट चलाउने ग्राहक भने विदेशी मात्र हुन्थे । अहिले नेपालमा इन्टरनेटको पिता भनेर चिनाइने महावीर पुन पनि मेरो नियमित ग्राहक हुनुहुन्थ्यो ।

उहाँ अमेरिकामा अध्ययन गर्नुहुँदा उहाँलाई मेरो साइवरबाट नै नियमित सन्देश जाने हुँदा नेपाल फर्कँदा मेरो साइवरमा नै आउन थाल्नु भयो । क्याम्ब्रिज यूनिवर्सिटीका प्रोफेसर एलेन म्याकफर्लेन पनि नेपाल आउनुहुँदा मेरो साइवरमा नै नियमित बस्नुहुन्थ्यो । उहाँकी श्रीमतीले खिच्नुभएको मेरो साइवरको फिल्म पनि मसँग अहिले सुरक्षित छ ।

प्रतिक्रिया