मंगलबार, वैशाख ३०, २०८२

भूमध्यसागरले निलिरहेको छ युरोप पुग्ने पाकिस्तानी सपना

नेपालखोज २०७९ फागुन २९ गते १६:०३

काठमाडाैं । पाकिस्तान छोड्नु अघि, पञ्जाब प्रान्तको गुजरात सहरका निवासी मोहम्मद नदीमले आफ्नी आमालाई युरोपको सुरक्षित यात्राका लागि प्रार्थना गर्न भनेका थिए । उनीसँगै गुजरातका अली हसनैन पनि राम्रो जीवनको खोजीमा यो यात्रामा निस्कन लागेका थिए । नदीमकी आमाले उनीहरूलाई रोक्न नपाउँदै उनीहरू त्यहाँबाट हिडि सकेका थिए ।

नदीम र हसनैन दुवैले एकअर्कालाई चिनेका थिएनन् । पाकिस्तानको बिग्रँदै गएको आर्थिक अवस्थाका कारण मानव तस्करहरुको मदतमा उनिहरुले यो यात्रा सुरु गरेका थिए । उनिहरुको यात्रा गत महिना फेब्रुअरीमा नै समाप्त भयो जब उनिहरु चढेको डुङ्गा बिच समुद्रमा पल्टियो ।

पछिल्ला महिनाहरूमा लिबिया र ट्युनिसियाबाट युरोप जाने यस्ता डुङ्गाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यो यस्तो यात्रा हो जसमा हरेक वर्ष सयौंको मृत्यु हुन्छ र उनीहरू आफ्नो गन्तव्यमा पुग्न असमर्थ हुन्छन् ।

भूमध्यसागर हुँदै युरोपको यात्रा आप्रवासीहरूका लागि संसारकै सबैभन्दा घातक यात्रा मानिन्छ । यद्यपि पाकिस्तानमा बढ्दो आर्थिक संकटले धेरैलाई यो खतरनाक र अवैध यात्रा गर्न प्रेरित गरिरहेको छ ।

अब पाकिस्तानमा बाँच्न गाह्रो छ

४० वर्षीय नदीम पाकिस्तानको एउटा फर्निचर पसलमा काम गर्थे । त्यहाँ उनले दैनिक ५ सयदेखि १ हजार रुपैयाँ कमाउन सक्थे। यही कमाइमा उनी श्रीमती र तीन छोरासँग बस्दै आएका थिए । केही साताअघि उनी पाकिस्तान छाडेर दुबई- इजिप्ट हुँदै लिबिया पुगेका थिए , जहाँबाट उनी डुङ्गाबाट आफ्नो अन्तिम गन्तव्य इटाली पुग्न चाहन्थे । यो कामका लागि उनले ३५ लाख रुपैयाँ भन्दा बढि ऋण लिएका थिए ।

समुद्रले सपना निल्यो एउटा सपना

उनका भाइ मोहम्मद उस्मान नदीमको बिदाइमा आफू पनि खुसी भएको बताउँछन् किनभने उनी यसबाट आफ्ना छोराहरुको भविष्य पनि उज्ज्वल हुने कुरामा आशावादी थिए । पाकिस्तानबाट प्रस्थान गरेको दुई सातापछि विदेश मन्त्रालयले मोहम्मद नदीमको मृत्यु भएको पुष्टि गरेको थियो । अर्कातर्फ अली हसनैनको परिवारले भने परराष्ट्र मन्त्रालयले पुष्टि गर्नुअघि नै भूमध्यसागरमा मारिएकाहरूको तस्बिरमा अली हसनैनको पहिचान गरेको थियो । हसनैनका हजुरबुवा ७२ वर्षीय मोहम्मद इनायतले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार पाकिस्तानमा जिबिका चलाउन गाह्रो भए पछि परिवारले हसनैनलाई युरोप पठाएको थियो ।

मानव बेचबिखनमा एजेन्टहरूको भूमिका

पाकिस्तानको गुजरात र त्यस वरपरको क्षेत्र अहिले ‘एजेन्टहरू’ को हटस्पटका रूपमा चिनिन्छ । एजेन्ट शब्द पाकिस्तानी नागरिकको विदेश तस्करीमा संलग्न भएकाहरुका लागि प्रयोग गरिन्छ । युरोपको मिश्रित आप्रवासन केन्द्रले सन् २०२२ मा गरेको सर्वेक्षणअनुसार पछिल्लो समय इटाली पुगेका ९० प्रतिशत पाकिस्तानी एजेन्टहरू मार्फत त्यहाँ पुगेका छन् ।

मोहम्मद नदीम र अली हसनैनको मृत्यु हुनुअघि एक एजेन्टले बनाएको एउटा भिडियो पनि अहिले चर्चामा छ । उक्त भिडियोमा नदीम र हसनैन सेतो भित्ता भएको कोठामा करिब एक दर्जन व्यक्तिहरूसँगै बसेको देख्न सकिन्छ । त्यहिबेला एउटा मानिसको आवाज सुनिन्छ जसले ती मानिसहरूलाई सम्बोधन गर्दै भन्छ, “हामी तिमीहरूलाई एउटा सानो डुङ्गामा पठाउँदैछौं । के तिमीहरू आफ्नै इच्छाले जाँदैछौ कि कसैले तिमिहरु माथि जबरजस्ती गरेको छ ? “जवाफमा नदीम र हसनैन सहित अरु मानिसहरूले एकै स्वरमा भन्छन्, “हामीलाई कसैले जबरजस्ती गरेको छैन । अल्लाहले चाहनु भय‍ो भने हामी इटाली पुग्छौं ।”

पाकिस्तानमा रोजगारीको संकट

नदीमका भाइ मोहम्मद उस्मानका अनुसार तस्करहरूले पाकिस्तानमा रोजगारीको अभावको फाइदा उठाउँदैछन् ।
यता गुजरातका एक एजेन्टले नाम न छाप्ने सर्तमा एएफपीसँग कुरा गर्दै आफुहरूले समाजमा “सकारात्मक प्रभाव” सिर्जना गरिरहेको दाबी गरे। “यहाँका जनताको जीवनस्तर सुधार गर्ने अर्को विकल्प छ र ? उनिहरु हामीकहाँ राम्रो जीवनक‍ो सपना बोकेर आउँछन् र हामी ती सपना पूरा गर्ने सक्दो प्रयास गर्छौं, यद्यपि हामीलाई थाहा छ यो काम जोखिममुक्त भने छैन,” उनले भने ।

स्रोत : एएफपी

प्रतिक्रिया