बिहीबार, चैत १५, २०८०

मोटोपन घटाउन के गर्न सकिन्छ ?

डा.अरुणा उप्रेती २०७९ चैत १ गते ८:२०

एक दिन ४८ वर्षीया कमला कार्कीले सोधिन्, ‘मोटोपन घटाउन के गर्न सकिन्छ ?’ उनी मसँग सल्लाह लिन आएकी थिइन् २० वर्षअघि । मैले उनलाई कोदो र फापरको खोले (सुप) बनाएर खाए राम्रो हुन्छ भन्ने सिकाउन खोजें । बटुकोमा कोदो र फापरको सुप हालें र माथिबाट मरिच छर्कें । र, उनलाई खान आग्रह गरेर भनें, ‘म यो सुप खान्छु अनि बिहानको भात नै खानुपर्दैन । लामो समयसम्म भोक पनि लाग्दैन ।’ मेरो कुरा सुनेपछि सुपमा हेरेर उनले दिगमिग गर्दै भनिन् ‘दिदी, यस्तो कोदो र फापरको सुप त मेरो घरमा त कुकुरले पो खान्छ ।’ उनको कुराले मेरो मन भरंग भयो ।

उनलाई स्वास्थ्य राम्रो पार्न मोटोपना घटाउन के गर्न सकिन्छ भनेर अरू सल्लाह दिने जाँगर नै हरायो । २० वर्षअघि मोटोपनको कारणले घुँडा दुखेर मसँग सल्लाह लिन आएकी कमलालाई अहिले त मोटोपनको कारणले दुई पाइला भ¥याङ चढ्न गाह्रो हुन्छ । अब उनी घुँडाको शल्यक्रिया गर्ने सुरसारमा छिन् । उनलाई देख्दा दुःख त लाग्छ र म मनमनै भन्छु, ‘कमला, सायद तिम्रो घरको कुकुरको तिम्रोभन्दा स्वास्थ्य राम्रो छ, होला । सायद, तिमीले १५ वर्षअघि नै कोदो र फापरको सुप र हरियो तरकारी खान सुरु गरेको भए तिम्रो स्वास्थ्य राम्रो हुने थियो ।’

कमलाजस्तै कति धेरै महिलाहरू होलान्, जो कोदो र फापरको सुप खान दिगमिगाउँछन् । र जीवनभर मोटोपन र (त्यसले गर्दा हुने कुपोषण) त्यसको असरबाट हुने अनेक समस्याबाट पीडित हुन्छन् । कतिपय स्वास्थ्यमा समस्या देखिनुमा हाम्रो हात हुँदैन तर कतिपय स्वास्थ्य समस्याचाहिँ हाम्रै बानी, व्यवहार, भोजन र जीवनशैलीका कारण निम्तिएका हुन्छन् । हाम्रो खानपानमा आएको परिवर्तनले साना बालबालिकादेखि वयस्कसम्म समस्यामा छन् । म सायद स्वादिष्ट खाना त बनाउन सक्दिनँ तर खान हुने स्वस्थकर खानाचाहिँ बनाउन सक्छु । प्रत्येक आमाबुबालाई मैले भन्ने गरेकी छु, ‘तपाईंले आफ्नो सन्तानलाई स्वस्थकर खाना खाने बानी लगाइदिनुभयो ।

स्वस्थकर खाना कसरी बनाउने भनेर व्यावहारिक रुपमा सिकाइदिनुभयो भने यो उनीहरूका लागि एक ठूलो शिक्षा र सम्पत्ति हुनेछ ।’ मोटोपन छ कि छैन भनेर थाहा पाउने सामान्य तरिका कम्मरको आकारबाट पत्ता लगाउन सकिन्छ । ३७.०१ इन्चभन्दा ठूलो कम्मर भएको पुरुष र ३१.४ इञ्चभन्दा ठूलो कम्मर भएको महिलाहरुलाई मोटो मान्न सकिन्छ । आफ्नो जीवनशैलीलाई परिवर्तन गरेर मोटोपन कम गर्नेतर्फ ध्यान दिनुपर्छ । तपाईंका बालबालिका देश विदेश जहाँ गए पनि आफैं स्वस्थकर खाना खवाउन सक्नेछन् । यसकारण, उनीहरूको पैसा बचत हुन्छ र शरीर स्वस्थ हुन्छ । उनीहरू काम गर्न सक्छन् । कति आमाबुबाले ‘हामी त छोराछोरीलाई भान्छाको काम लगाउँदैनौं, उनीहरूलाई त चिया पनि राम्रोसँग पकाउन आउँदैन’ भनेर बडो गर्वपूर्वक सुनाउँछन् । यो त गर्व गर्ने विषय होइन, लज्जाको कुरा हो । बाल्यकालदेखि नै भान्छामा सहभागी हुन सन्तानलाई प्रेरणा दिइरहनुपर्छ ।

खाना बनाउनु एउटा कला हो, पाँचतारे होटेलको जस्तो बनाउन सबैले सक्दैनन् र जरुरत पनि छैन । तर, साधारण खाना बनाउन जान्नु निकै राम्रो हो । अहिले वैदेशिक रोजगारमा जानेहरू आफूसँगै चाउचाउ लिएर जान्छन् । दिनभर काम गरेर कोठा फर्किएपछि चाउचाउ उमालेर खान्छन् । अनि, अस्वस्थ हुन्छन् । स्वस्थ खाना, सकारात्मक सोच दिएर बालबालिकाहरुलाई आफ्नो स्वास्थ्यको बारेमा सचेत गराउने, व्यवहारिक ज्ञान दिने र स्वास्थ्यको बारेमा सिकाउनु नै पर्छ । नत्र २०–२५ वर्षको तपाईको सन्तान मोटोपन र मधुमेहबाट पीडित भए अभिभावकलाई कति समस्या पर्ला ?

प्रतिक्रिया