बुधबार, वैशाख १९, २०८१

‘छक्का पञ्जा ४’ : १२ करोडभन्दा बढीको ग्रस कलेक्सन

नेपालखोज २०७९ चैत १ गते १३:३१

काठमाडौं । फागुन १९ गतेदेखि प्रदर्शनरत ‘छक्का पञ्जा ४’ले घरेलु बक्सअफिसमै १२ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ ।

व्यापारभन्दा पनि दर्शकको विश्वास बढाउन सफल भएको निर्माता निर्मल शर्माले बताए । उनले भने, ‘दर्शकको प्रतिक्रियाले उत्साहित भएका छौँ, यसको शृङ्खलालाई अगाडि बढाउन हौसला मिलेको छ ।’

दीपकराज गिरीको लेखन र हेमराज बिसीको निर्देशनमा तयार भएको फिल्ममा केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङ्गदेल, मलिना जोशी लगायतको अभिनय छ ।

संवाद हटाउन निवेदन

चलचित्र ‘छक्का पञ्जा ४’ मा सहकारीसम्बन्धी समावेश संवाद हटाउन राष्ट्रिय सहकारी महासङ्घले माग गरेको छ । सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाउँदै महासङ्घले सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग भएकामा आपत्ति जनाइएको छ ।

महासङ्घका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारीसम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेको हुँदा यसले विश्वसनीयतामाथि प्रश्न उब्जिने जनाउँदै कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भत्र्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गरिएको छ ।

केही दिनअगाडि सहकारी सञ्चालक तथा कलाकार मधुसूधन पाठक (सिते बा)ले सहकारीको विषयमा अतिरञ्जित हिसाबले राखिएको संवादप्रति घोर आपत्ति जनाउँदै अध्ययन बिना प्रयोग गरिएको संवाद सही नभएको बताएका थिए ।

प्रतिक्रिया