सोमबार, वैशाख १७, २०८१

अस्त ब्यस्त

रुचि श्रेष्ठ २०७९ फागुन १५ गते ७:१०

मैले छड्के भिरेको ब्यागमा ऊ बिशेष ध्यान दिएर हेर्दै थियो । उसको नजरलाई पछ्याउदै मैले भने,

“यो उहिल्यै मैले सेकेण्ड–ह्याण्ड स्टोरमा भेट्टाएको ।”

“आफू जस्तै ब्याग भेट्टाइछ्यौ त ।”

अलिकति फुरुंग पर्दै मैले भने, “म जस्तै हिस्सी परेको ? पाकु–पाकु भनेको हो ?”

“अम्म…। अनि तिमी जस्तै एन्टिक…।”

“भन्न के खोजेको ?” म अलिकति रिसाएँ जस्तो गरेर निधार खुम्च्याएँ ।

“एन्टिक, एक्जोटिक एण्ड एक्स्क्लुसिभ भनेको नि ।”

“त्यसो भए त ठिकै छ,” मेरो खुम्चिएको निधार तन्कियो ।

“के–के अट्छ तिम्रो त्यो ब्यागमा ?”

“फोन, पैसा, साँचो ।”

“क्यामेरा नि ?”

“हिजो–आज कसले बोक्छ र क्यामेरा ? त्यसमा पनि क्यामेराको लेन्सबाट म कहानी नै देख्दिन अचेल । किन होला ?…साँच्चै किन होला ? तिमीले माक्र्स धेरै पढेका छौ । भन त, मलाइ क्यामेरा बोकेर हिड्न जोश नआउनुलाई माक्र्सबादले कसरी ब्याख्या गर्छ होला ?”

“माक्र्सको सिद्धान्त अनुसार, जुन कामबाट तिमी अर्थोपार्जन गर्न सक्दैनौ, त्यो कामप्रति तिमीलाई कुनै उत्साह हुदैन ।”

केही बेर हामी दुबै चुपचाप हिंडिरह्यौ । मौन भंग गर्दै मैले नै भने, “त्यो आंशिक सत्य हो । पूर्ण सत्य होइन । बिहे, इन्गेजमेन्ट, बेबीसावरजस्ता ‘इभेन्ट’ आयोजनागर्न चाहनेका लागि पार्टी प्यालेस देखि तारे होटलसम्म डेट पाउन मुस्किल हुन थालेकोछ शहरमा । फोटो सेसन नगरेसम्म कसैको इभेन्ट साकार हुदैन । कसरी क्यामेराले अर्थोपार्जन गर्न सक्दैन भन्न सक्छौ ?”

“तर, ती फोटो सेसनहरुमा तिम्रो लेन्सले कथा भेट्दैन नि फेरि ।”

“कस्ता रमाइला कथाहरु भेटिन्छन त्यहाँ । तिमीलाई थाहै छैन । सासू र बुहारी दुवैले एक आपसमा वाइनको ग्लास चियर्स गरिरहेका हुन्छन् । जेठानीले देउरानीको साडी मिलाइ दिइरहेकी हुन्छिन । खासै भेटघाट नहुने काका–भतिजा निकै गहन भानहुने राष्ट्रिय बिषयमा गप्mिफइ रहेका हुन्छन । लेन्सबाट कथा चियाउन सक्नु पनि पर्यो नि ।”

“तिमीले किन नसकेको त ?”

“के तिमी भित्रको माक्र्सले मलाइ अब घरेलु इभेन्ट फोटोग्राफर बन भन्न खोजेको हो ? पहिलो कुरा, यी मेरा कल्पनाका कथाहरु हुन । त्यस्ता इभेन्टहरुमा सबैलाई प्रपर, प्रेजेन्टेबल र सोफिस्टिकेटेड फ्रेमिगं मात्र चाहिएको हुन्छ । दोस्रो, त्यस्ता इभेन्टहरुमा मैले कथा खोज्न थाले भने क्लाइन्टहरुले मलाइ खोज्न छाड्नेछन ।”

सडकको यो किनाराबाट त्यो किनारामा जान बाटो काट्दा उसले मेरो हात समायो । मलाइ बिस्तारै तान्दै उसले सोध्यो, “तिमी किन यति जटिल छ्यौ ? आफ्नो तर्कलाई आफै काट्छयौ, आफै गुजुल्टो पाछर्यौ, अनि फेरी त्यो गुजुल्टो आफै फुकाउँछ्यौ ।”

कफी पसलको सिसाको ढोका ढाडले धकेल्दै ऊ तिर फर्केर मैले किन्चित आँखिभौ उचाले र मुसुक्क हाँस्दै सोधे, “तिमी छैनौ जटिल ?”

एउटा कर्नर टेबलको कर्नर पट्टिको कुर्सी तानेर म बसे । यहाँबाट कफी पसल ३६० डिग्रीमा देखिन्थ्यो र सडक ९० डिग्रीमा । ऊ मेन्यू पल्टाउदै वेट्रेस् सँग कुरा गर्न थाल्यो ।

“यो मेन्यूमा लेखेको जति खानेकुरा सबै पाइन्छ यहाँ ?”

“पाइन्छ सर” अलिकति अकमकिदै वेट्रेस्ले भनिन ।

“कफी सँग खान मिल्ने लाइट र छिट्टो हुने के छ त ?”

“सर, हामी सँग बेकरी आइटमहरु छन ।”

“बेकरी आइटममा तपाइको फेभरेट कुन हो ?”

केही अकमकिदै उनले भनिन, “सर, बनाना केक छ । ब्ल्याक–फरेस्ट छ……”

उनको बिबरणिकालाई बीचैमा काट्दै मैले भने, “दुईटा बिन्स् कफी, एउटा ब्राउनी र एउटा एप्पल पाइ तताएर ल्याइदिनु है ।”

“हस् म्याम, थ्यान्क यू” उनले तनावबाट मुक्तिको केही लामो सास तानिन र खुशी हुदै मेन्यू बोकेर गइन ।

“तिमी वेट्रेस् सँग जेलस् भाको हो ? किन यति छिटो भगाइदिएकी ?”

“कति दुःख दिइराखेको बिचरीलाई ? उसले काम गर्न थालेको एक महिना पनि भएको छैन ।”

“तिमीलाई कसरी थाहा भयो ? उ तिम्रै कलेजको विद्यार्थी हो र ?”

“थाहा भइ हाल्छ नि नयाँ–नयाँ इन्टर्नहरु ।”

“सोध्दै नसोधी तिमीले ब्राउनी र एप्पलपाइ कसरी अर्डर गर्यौ ?”

“भित्र छिर्दाखेरी नै मैले कुलरमा हेरी सकेकी थिएँ” मुसुक्क हाँस्दै मैले भनें, “म जटिल देखिने मात्रै हो । काम त सरल नै गर्छु नि ।”

“तिम्रो यो सत्य त मैले आंशिक बुझे । क्यामेरा बोक्न मन नलाग्नुको पूर्ण सत्य के हो त ?”

“पूर्ण सत्य त मलाइ पनि थाहा छैन । मेरो अहिलेको सत्य त्यो भद्रगोल मेला लागेको छ नि, सडकको पेटीमा, त्यही हो । त्यो तारको गुजुल्टो हेर न । शहर यसरी नै गुजुल्टो परेकोछ । उबड–खाबड छन सडकका पेटीहरु । त्यही पेटीमा लंग मिलाएर रोपिएका यी किच्रिक्क परेका बोटहरु हेर त । चारैतिर कंक्रिट–सिमेन्टले प्लाष्टर गरिदिएकोछ । न पानी सोस्ने माटो छ, न जरा फैलाउने जमीन छ । बाँसको खाँबो गाडेर छाडेको जस्तो यी बोट कहिले हुर्किन सक्छन ? बिचरो बोट झुक्किएर हुर्किए पनि रोप्नेले नै यसको हाँगो र टुप्पो काटी दिन्छ । यसको हाँगो फैलियो भने एकातिर बिजुलीको तारमा अल्झिन्छ, अर्कोतिर घरकै झ्याल सम्म पुग्ने डर हुन्छ । शहरभरी यी कचल्ट्याएर राखिएका बोटहरुलाई तारबार लगाइ ‘सुरक्षित’ राख्नुको कुनै अर्थ छ त ? मलाइ त अचेल आफू पनि तारबारले घेरेर सुरक्षित राखिएको बोट पो हूँ कि जस्तो लाग्न थालेको छ । हेर न, कति बिरोधाभासपूर्ण देखिन्छन ती बोटहरुको अवस्था र अवस्थिति । मानिसहरुलाई मैले कुन कथा देखाउने, उनीहरुले हेर्न चाहेको कथा देखाउने कि मैले आफूले देखेको कथा देखाउने ? भन त, के लाग्छ तिमीलाई ? के यो डिप्रेशनको लक्षण हो ?”

काँटाले टिपेको एप्पलपाइको स्कुप सँगै कफीको सीप लिदै उसले भन्यो, “तिमीले आफूलाई वातावरण र परिस्थितिमा घोलेर राखेकी छौ । आन्तरिक शान्तिका लागि कहिलेकाही आपूmलाई वरीपरीको वातावरण देखि अलिकति पर राख्नु जरुरी हुन्छ । बिशेषगरी शहरिया जीवनशैलीमा ।”

ब्राउनीको बाइट लिदै मैले भने, “वाउ । तिम्रो ब्यक्तित्वको साइको–काउन्सुलर पात्र बल्ल खुल्न थाल्यो । तिम्रो प्रोफेसनमा त क्लायन्ट सँग त्यस्तो दूरी सधै कायम राख्नुपर्छ । होइन र ?”

“एकदमै । नभए त मैले नै अर्को काउन्सुलरसंग रेगुलर अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ ।”

“यो कसरी सम्भव छ यार ? आफ्नो खुशी र सफलताको कथा सुनाउन पक्कै पनि कोही आउदैन तिमी कहाँ । दिनमा चार–पाँच जनाको ब्यथा त सुन्छौ होला । त्यत्तिका इनफरमेसनलाई, तिम्रै भाषामा भन्नु पर्दा, कसरी म्यानेज, एडजस्ट गर्छौ ?”

“डाक्टरले, पुलिसले, वकिलले कसरी गर्छन ?”

“यार, डाक्टर, पुलिस र वकिलको भन्दा मलाइ तिम्रो काम अप्ठयारो लाग्छ । उनीहरु आफ्नो बौद्धिक क्षमता र पदको प्रयोगले समस्या समाधान गर्छन । तिमीले त क्लायन्ट आफैलाई समाधान खोज्न मद्दत गर्नुपर्छ । त्यही होइन ?”

“गर्नुपर्ने त त्यही हो । तर, मेरा क्लायन्टहरु म बाटै समाधान खोज्छन ।”

“तिमीलाई थाह हुदैन त समाधान ?”

“समाधान खोज्न पहिले समस्या ठम्याउनु पर्यो नि । हरेक ब्यक्तिको समस्याको चूरो उ आफैले भन्दा राम्ररी कसैले बुझ्न सक्दैन । मैले त सहज गराइदिने मात्रै हो ।”

“जब–सेक्यूरिटीको हिसाबले साइकोलोजिकल काउन्सलरको काम गजबको हुदो रहेछ । न कहिल्यै मानिसको समस्या सिद्धिन्छ, न त्यसको चूरो पत्ता लगाउने प्रकृया,” मैले मुसुमुसु हाँस्दै भने ।

उसले कफीको बिल तिरेर सीसाको गेट तान्यो । मलाइ गेटबाहिर निस्किने इशारा गर्दै उसले भन्यो, “एक्स्क्युज मी म्याडम प्रोफेसर, अहिलेको, त्यस माथि पनि शहरको जीवनशैली, हेर त, कति तनावपूर्ण छ । पेन किलर र स्लिपिगं पिल्स् लाई जीवनशैली बनाउनु भन्दा त समस्याको चूरो पत्ता लगाउनु बेटर अप्सन होइन ?”

“मेरो कोशिस पनि त त्यही हो नि । समस्याको चूरो पत्ता लगाउने । तर, ब्यक्तिको समस्याको चूरो यहाँ समस्याग्रस्त ब्यक्तिमा मात्र सीमित छैन । तिम्रो समस्यामा तिमीले पिउने पानी र तरकारीमा हाल्ने नूनको गुणस्तर देखि तिम्रो बैंक ब्यालेन्स कसरी मेनटेन भइरहेको छ भन्ने सम्मको कुराले रोल खेलिरहेको हुन्छ ।”

उसले आँखिभौं तन्काउदै भन्यो, “तिमीले पनि माक्र्सको भाषा बोल्न थालेको ?”

“मैले मलाई माक्र्स मन पर्दैन कहिले भनेको छु र ? साँचै, त्यो सांग्रीला बैंकको बैंकर पनि तिम्रो क्लायन्ट हो ?”

“किन सोधेको ?”

“अघिल्लो साता पाटनको कफी सपमा भेट्दा कस्तो जेन्टलम्यान स्टाइलमा डिस्ट्यान्स् मेन्टेन गरेर तिमीलाई ग्रीट गरेर गएको थियो नि । सम्झिन्छौ ?”

उसले ‘हो’ ‘होइन’ केही भनेन ।

“उसको श्रीमती जब ट्रान्स्फर लिएर दुबई गएकी छ रे, हो ?”

“तिमीले कहिले देखि गसिपमा चासो लिन थाल्यौ ?”

“तिमीलाई साइकोथेरापीको डिस्ट्रयाक्सन स्ट्रयाटेजी थाहा छैन ? गसिप डिस्ट्रयाकसन स्ट्रयाटेजीको प्रभावकारी मेकानिज्म हो नि । यसले त पेन–किलरको काम गर्छ ।”

“हा हा हा” ऊ दंग परेर हाँस्यो ।

“तिमी नरिसाउने भए एउटा कुरा सोधौं ?”

“किन औपचारिक भइराखेको ? कुरो सोध्नलाई पनि ‘सोधौं?’ भनेर सोधिरहनु पर्छ ?”

“के थाहा, कुन बेला तिम्रो गियर चेन्ज भएर काउन्सुलरमा लागिसक्छ, तिमी उत्तर दिदैनौ । अनि प्रश्न पनि मेरो, जवाफ पनि मेरै हुन्छ । गसिप गर्ने मान्छे नपाएर क्लायन्ट्हरु तिमी कहाँ आउने पनि गर्छन ?”

उसले हाँसो पचाउँदै जवाफ दियो, “मैले कति पल्ट भनिसके तिमीलाई, मेरो पेशाको मजाक नउडाउ भनेर ।”

“उह । भनिहाले नि, उसको गियर चेन्ज भइहाल्यो ।”

उसले घडी हेर्दै भन्यो, “भन त, डिनरको लागि तिमीलाई के को भोक लागेको छ ?”

“मलाइ त घरमा पकाएको खाना खाने भोक लागेको छ ।”

“एक सबैभन्दा कम, दश सबैभन्दा बेसी । कति नम्बरमा छ तिम्रो भोक ?”

“तीन–चार होला ।”

“ओ के देन, लेट्स् गो टु माइ प्लेस ।”
उसको निर्णयमा मैले प्रतिवाद गरिन ।

प्रतिक्रिया