बिहीबार, वैशाख २०, २०८१

एक सिकारीको कथा

सुनील उलक २०७९ चैत २ गते १७:३९

सन् १८९० को दशकमा फ्रेड ब्रेमनरले खिचेको तथा National Galleries Scotland मा संग्रहित १३० वर्ष पुराना तस्बिर यहाँ प्रस्तुत छ । स्कटल्यान्डमा जन्मिएका फ्रेड वास्तवमा तत्कालीन समयका प्रख्यात फोटोग्राफरका छोरा थिए । केवल १३ वर्षको उमेरमा विद्यालय छोडेर बाबुको फोटो पसलमा सहयोग गर्न पुगेका फ्रेड बुबाका सहयोगी भएर फोटोग्राफीमा निपुण हुँदै थिए ।

यस्तैमा उनका भिनाज्यूले भारतमा जान अनुरोध गरेपछि १९ वर्षको उमेरमा भारत तर्फ आए । सुरुमा लखनउमा भेनाको पसलमा सघाउन थालेका उनले पछि आफै नै फोटो खिच्न विभिन्न ठाउँहरू जान थाले । सन १८८२ मा लखनउ आएर भेनालाई फोटोग्राफी व्यवसायमा सघाउन थालेका फ्रेडले सात वर्ष पछि २६ वर्षको उमेरमा कराचीमा आफ्नै स्टुडियो खोले ।

कराचीमा उनले हालको पाकिस्तानमा रहेको क्वेटा, लाहोर र रावलपिण्डीमा पनि फोटो स्टुडियोहरु खोले । सन १९२३ मा भारत छोड्नु अगाडि सम्म दक्षिण एसियाका विभिन्न क्षेत्रमा पुगेर विभिन्न तस्बिरहरू खिचेका थिए । उनले सन १८८२ देखि १९२३ सम्म भारतीय भूमिमा बिताएको सम्झनामा “My Forty Years in India” शीर्षकको पुस्तक पनि लेखेका थिए । सन १९२३ मा स्कटल्यान्ड फर्किएका फ्रेडले सन १९३२ सम्म स्कटल्यान्डमा बसेर फोटोग्राफीको व्यवसाय गरिरहे ।

अन्तमा ७८ वर्षको उमेरमा उनको निधन भयो । यसरी भारतको विभिन्न क्षेत्र पुगेर तस्बिर खिच्ने क्रममा नेपाल पनि आएका थिए । प्रथम विश्वयुद्धका प्रमुख कारक अस्ट्रियाका राजकुमार युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड, जसको साराएगोमा भएको हत्याको कारणले नै प्रथम विश्वयुद्धको सुरुवात भएको थियो । यिनै राजकुमार अस्ट्रियाका राजकुमार युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्डको नेपालमा सिकार भ्रमणका समय फ्रेड नेपाल आएका थिए ।

वीरशम्शेरको शासनकालमा आजको १३० वर्ष अगाडि बि.सं.१९४९ को फागुनमा पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा सिकारका तस्बिर खिच्न फ्रेड साथ लागेर आएका थिए । यही क्रममा फ्रेड रक्सौलबाट हेटौडा हुँदै काठमाडौँ पनि पुगेका थिए । त्यति बेला उनले खिचेका करिब ५० भन्दा बढी तस्बिर देख्न सकिन्छ । जसमा सिकारका तस्बिरहरू धेरै नै छन् । अन्य तस्बिरहरूमा करिब १८ वटा काठमाडौँ, भीम फेदी, हेटौडा र यात्रा क्रमका छन् ।

आर्कड्युकको सिकारमा सिकार भएका चराचुरुङ्गी तथा जनावरहरू । त्यति बेला आर्कड्युकले कैलाली र कञ्चनपुरमा गरी १७ बाघ ६ वटा गैँडा र अन्य असङ्ख्य जनावरहरू तथा चराचुरुङ्गीहरू मारेका थिए । कहिल्यै निशाना नचुक्ने आर्कड्युक अन्तमा आफै दुस्मनका हातबाट सिकार भए ।

प्रतिक्रिया