आइतबार, जेठ ५, २०८२

तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

नेपालखोज २०७९ चैत ५ गते २२:१६

बुटवल । बुटवलमा सञ्चालित तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारको जितका लागि जर्सी नं १८ का दीपेश गुरुङले दोस्रो हाफको ३८औँ मिनेटमा गरेको उत्कृष्ट गोल निर्णायक बन्यो ।

बुटवलस्थित देवीनगर एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत खेलको पहिलो हाफमा दुवै टोलीबाट गोलरहित बराबरी रहेको थियो । खेल अवधिभर थ्री स्टार हिमालयन शेर्पामाथि हाबी बभएको थियो । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बू ‘म्यान अफ दी म्याच’ घोषित भए । आजको जितसँगै थ्री स्टारले शनिबारको विजेता सुदूरपश्चिम–११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ ।

सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । सोमबारको खेल विभागीय टोली नेपाल सशस्त्र प्रहरी (एपिएफ) र फ्रेन्ड्स क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ ।

दुई विभागीयसहित आठ टोली सहभागी प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया