शुक्रबार, वैशाख १४, २०८१

पाहाचह्रे र घोडेजात्राको कथा

सुनिल उलक २०७९ चैत ६ गते १६:४४

काठमाडाैं । आज काठमाडौं उपत्यकाका नेवा:हरु पाहाचह्रे मनाउन ब्यस्त छन् । पाहाचह्रेका दिन लुकु महाद्य: को रुपमा नेवाःहरु जमिन मुनि लुकाईएको देवतालाई पूजा गर्ने गर्दछन् । जसरी जे जस्तो रुपमा पूजा गरिए पनि वास्तवमा भूमि पूजा नै हो। किंवदन्तीलाई जे जसरी पढिए पनि उपत्यकामा गाई पालेर जीविकोपार्जन गर्ने गोपालहरुले जमिन मुनिको ढुङ्गालाई गाईलाई आबश्यक घाँस दिने देवताको रुपमा पूज्दथे । पछि पशुको रक्षकको रुपमा पशुपति भनियो र पूज्न थालियो । यिनैको समयमा शुरु भएको थियो पाहाचह्रे । नाम बदलियो होला, पूजाका शैली बदलियो होला तथा चाडका कथा बदलियो होला । तर परम्परा त्यहीँ नै हो ।

पाहुना सत्कारका रुपमा पाहाचह्रे नामाकरण कहिलेबाट भयो यकिन भन्न सकिदैन । उपत्यकामा प्रचलित केही किंवदन्तीले पाहाचह्रे नामाकरण भएको कारण देखाउँछ । किंवदन्ती सत्य इतिहासका आधारले बनेका हुदैनन् । पहिलो किंवदन्ती अनुसार सातवटा दिदीबहिनी अजिमामा गरिव लूति अजिमालाई पाहुना खान जाने बेला हेला गरेको किंवदन्ती प्रचलित छ । भने अर्को किंवदन्ती अनुसार साढेसाती दशाबाट मुक्त हुन साढे सातवर्ष महादेव फोहरमा लुकेर बसेको तथा पाहाचह्रेका दिन बाहिर निस्केको कथा पनि प्रचलित छ ।

पहिलो किंवदन्तीको कथा यस्तो छ :

घोडे जात्राको अघिल्लो दिन भने काठमाडौवासी धुमधामले पाहा चह्रे मनाउने गर्दछन् । उपत्यकावासी अष्टमात्रिका मान्ने गर्दछन्। उपत्यकालाई यिनै अष्टमात्रिकाले रक्षा गरिरहेको विश्वास गर्दछन् । हिन्दू पुराणले अष्टमातृकाको नाम जे जस्तो दिए पनि काठमाडौ उपत्यका वरपर रहेका अष्टमात्रिका भने यि हुन् ।

१. कंग अजिमा (कंकेश्वरी)

२. न्यतमरु अजिमा (स्वेतकाली, नरदेवी)

३. लूति अजिमा (इन्द्रायणी, ढल्को)

४. म्हैपि अजिमा (ज्ञानेश्वरी, म्हैपि)

५. मैति अजिमा (पञ्चकुमारी, बालकुमारी)

६. टकती अजिमा (निलबाराही, कालीमाटी)

७. बसला अजिमा (बसलादेवी, पशुपति)

८. लूमढी अजिमा (भद्रकाली, टुडिखेल) । हुन त यस बाहेक अन्य २६ अजिमाहरुले पनि सहायकको रुपमा उपत्यकावासीको रक्षा गरिरहेको मानिन्छ ।

पाहा चह्रेको दिन यिनै आठ दिदीबहिनी अजिमाहरुको एकै ठाँउमा भेला भएर भोज खान बसेछन् । आठ मध्य जेठी लूती अजिमा गरिव थिइन् राम्रो कपडा पनि थिएन । उनको बच्चाहरु पनि दुब्लो पातला थिए । जसले गर्दा बहिनीहरुले हेला गरेर खान पनि दिएनछन् । छोराछोरी पनि भोकले ब्याकुल भए पछि लूती अजिमा त्यहाबाट केही नभनि बाहिर निस्केछन् । घर फर्कदा बाटोमा फर्सी भेटेपछि त्यहि पकाएर खुलाउछु भन्दा फर्सी सुन भएछ । सुन बेचेर अजिमाले राम्रा लुगाहरु किने । मिठो खान थाले । अर्को वर्ष फेरी चाडको दिन दिदीबहिनी भेला हुँदा राम्रो सुकिलो लुगा लगाएको हुँदा बहिनीहरुले खान दिएछन् । तर लूती अजिमाले खानेकुरा नखाइ सबै आफ्नो र छोराछोरीहरुको लुगामा दलेछन् । अनि बहिनीहरुले किन भनेर सोध्दा लूती अजिमाले तिमीहरुले मलाई होइन मेरो लुगालाई खान दिएको रहेछौ त्यसैले लुगालाई खान दिएको भनेछ । यसपछी फर्केकी लूती अजिमा कहिल्यै आएनछन् । यसैले आज पनि असनमा खट जुधाउने जात्रामा सातवटा खटमात्र जुधाइन्छ । लूती अजिमाको जात्रा बाला चतुर्दशीको दिन मनाउने गरिन्छ ।

दोश्रो किंवदन्ती अनुसार

पाहा चह्रेको अर्को महत्वपूर्ण कथासंग पनि गाँसिएको छ । साढेसातीको दशा लाग्ने त हामीले ज्योतिय बिज्ञानमा सुनेकै छौ । एक दिन शनी महाराजले महादेवलाई अब हजुरलाई पनि साढेसातीको दशा लाग्दैछ भने पछि महादेवले मलाई के को साढेसातीको दशाले छुन्छ भनेर भागेर फोहर थुप्रेको ठाँउमा लुक्न गएछ । साढे सात वर्ष पछि महादेव फोहरको थुप्रोबाट निस्केर शनिदेवलाई सोधेछ खै त मलाई साढेसाती दशा लागेको । शनिले जवाफ दिएछ साढेसाती दशा नलागेको भए हजुर यस्तो फोहर भित्र बस्नुहुन्थ्यो । हजुरलाई दशा लागेर नै यस्तोमा बस्नु परेको ।

यसरी साढे सात वर्ष सम्म लुकेर बसेका महादेव (लुकुमाद्यः) निस्केको दिनमा नै पाहाचह्रे मनाउने गरिन्छ । पाहा भनेको पाहुना र चह्रे भनेको चतुर्दशीको दिन । चैत्र कृष्ण चतुर्दशीको दिन फोहरबाट निस्केर ज्यापूको घर पुगेको दिन भएको हुँदा पाहाचह्रे भनिएको हो । यस दिन लुकुमाद्यःको पूजा गरेर घरमा रहेको फोहरहरु फाल्ने तथा खाल्डाखुल्डीहरु सफा गर्ने गरिन्छ ।

पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । वास्तवमा पाहाचह्रे गाईपालनमा निर्भर गोपालवंशीहरुले गाईको लागि घाँस उत्पादन गरिदिने देवताका रुपमा जमिन खनेर भित्र राखिएको पार्थिवशिलाको पूजा गर्दथे । यहि नै पछि लिच्छवी कालमा पशुको देवताका रुपमा पशुपति भयो भने मल्लकालमा लुकु महाद्य पनि बन्यो ।

गोपालहरुको समय देखि सातौ शताव्दी सम्म पशुपति आर्यघाट नजिकै हाल बेवारिसे झै राखिएको पार्थिव शिलालाई नै पशुपतिको रुपमा पूज्ने गरेको भन्ने देखिन्छ । पछि सातौ शताब्दीमा शिवका अनन्य भक्त अंशुवर्माले शिवको मुर्ति बनाएर पूज्न थाले । १३औं शताब्दीमा बंगालका सुल्तान समसुद्दिन इल्यासको आक्रमणमा सो मूर्ति तोडिए पछि बल्ल हालको चतुर्मुखी पशुपतिको मूर्ति स्थापना गरिएको थियो ।

घोडेजात्रा

किंवदन्ती अनुसार टुँडिखेलको दक्षिण पूर्वको रुखमा एउटा गुरुमापा भन्ने राक्षस बस्दथ्यो । जसले उपत्यकामा दुख दिन थाल्यो । बच्चाहरु पनि खान थाल्यो । अन्तत तान्त्रिकको सल्लाहले राक्षसलाई टुँडिखेलमा गाडियो । हरेक सालको अन्तमा त्यहि राक्षस बाहिर आउन नसकोस भन्दै घोडाको टापले कुल्चने गरिएको भन्ने गरिन्छ । तर किंवदन्ती जे जस्तो भए पनि वास्तवमा सैनिकहरुले आफ्नो हैकम र रवाफ देखाउन नै घोडेजात्रा गरिएको आभास हुन्छ ।

घोडे जात्रा वास्तवमा कुनै जात्रा वा पर्व नै होइन । यो त केवल तमासा मात्र हो । पिशाच चतुर्दशीको दिन उपत्यकाका खासगरि काठमाडौका नेवा:हरु पाहाचह्रे मनाउने गर्दछन् । पाहाचह्रेको भोलि पल्ट राजाहरु आफ्ना भाइभारदारका साथ लश्करै मन्दिर दर्शन गर्न जाने गर्दथे । यो लश्कर तथा राजा पनि देख्न पाउने भए पछि उपत्यकावासी तमासा हेर्न टुडिखेल पुग्दथेे । शाहकालको शुरुमा पनि यहि क्रम रहिरह्यो । तर राणाकालमा आइपुग्दा भने राणाहरुले टुँडिखेलमा आफ्ना सैनिक शक्तिको प्रदर्शन गर्दै घोडे जात्रालाई बिशाल रुप दिए । हुन त उपत्यकावासीहरुले घोडेजात्रासंग गाँसेर एउटा किंवदन्ती पनि सुनाउने गर्दछ । जुन अत्यधिक प्रचलित पनि छ ।

इतुंबहामा बस्ने केशवचन्द्र जुवाको लतले सम्पति सिध्याएर बेहाल भएका थिए । एकदिन आफ्नो दिदीकहाँ खाना खान पुगेका उनले खाना पस्केको सुनको थाल नै चोरेर जुवामा हारे । अर्को पटक फेरी दिदीकहाँ पुगेका उनलाई दिदीले चाँदीको थालमा पस्केर दिए त्यो थाल पनि चोरेर जुवामा हारे । तेश्रो पटक दिदीकोमा पुगेका उनलाई भने दिदीले थालमा खाना नदिएर भुइमा राखिदिए । भोक र रिसले बौलाएका उनले खाना कपडामा पोको पारेर हिडे । थाकेर रुख मुनि निदाएका बेला उनले कपडामा पोका पारेर ल्याएको खाना सबै रुखमा बस्ने चराहरुले खाएर सिध्याइदियो ।

केशवचन्द्रको खाना खाएका चराहरु सबै रुखमा नै बसेका थिए । केशवचन्द्र ब्युझदा खाना सबै खाइसकेको देखेर । रिसले बौलाएका केशवचन्द्रले चरालाई हान्न के लागेका थिए चराले सुनको बिष्टा गरिदिए । यस पछि खुशी भएका केशवचन्द्रले सबै सुनका बिष्टा जम्मा गरेर कपडामा पोका पारेर बोक्न खोज्दा उठाउन नै सकेनन् । त्यहि समय गुरुमापा नाम गरेको राक्षस घुम्दै घुम्दै खानाको खोजीमा त्यहि आइपुगे । गुरुमापाले केशवचन्द्रलाई नै खान खोज्यो । बाठो केशवचन्द्रले गुरुमापालाई आफूले जम्मा गरेको सुनको पोका बोकेर घर जान आग्रह गर्दै घर पुगेपछि सिङ्गै राँगो र तीन मुरी चामलको भात खान दिने बाचा गरे । यसरी घर लगिएका गुरुमापालाई केशवचन्द्रले बचन अनुसारको खाना दिए । टन्न खाना खाएपछि गुरुमापा निदाउन थाले । तीनदिन पछि ब्युझिए पछि फेरी खाना माग्न थाल्यो । यसरी लुकाएर राक्षसलाई खाना खुवाएको छिमेकीले थाहा पाए पछि केशवचन्द्रले राक्षसलाई टुँडिखेलमा रहेको रुखमा लुकेर बस्न र त्यहि खाना ल्याइदिने बचन दिए । तर यसरी टुडिखेल बसेका गुरुमापा कहिले काँही शहर पसेर बच्चा चोरेर खान थाल्यो । जसले गर्दा मानिसहरु सबै मिलेर उनलाई पिटेर टुडिखेलमा लडाएर उनको शरिर माथि घोडा दौडाएर घायल बनाइ त्यहि गाडिदिए । गुरुमापा उठेर शहर पसेर बच्चाहरु नखाओस भनेर वर्षेनी टुडिखेलमा गुरुमापाको शरिर माथि घोडा दौडाउन थालियो । साथै गुरुमापालाई केशवचन्द्रले एउटा राँगोको मासु र तीन मुरी चामलको भात खुवाउने बाचा गरेको हुँदा फागु पूर्णिमाको दिन भात पकाएर लाने चलन रह्यो ।

फागुन पूर्णिमाको अघिल्लो दिन किला घ:का ज्पापू समाजले यँपी ख्य:(भुरुङखेल)मा राँगो काटेर गुरुमापालाई चढाउने र भोलिपल्ट इतुंबहा: को केशवचन्द्र विहार नजिकैको भुतु क्यव:मा २० पाथी चामलको भात पकाइ टुडिखेलमा लगेर टुडिखेलको बिचमा गुरुमापाको भाग चढाइ समाजका सबै लहरै बसेर टुडिखेलमा भोज खाने चलन छ । यसरी घोडे जात्रा शुरु भएको भन्ने किंवदन्ती पनि उपत्यकामा प्रचलित छ ।

आखिर जे जसरी भए पनि उपत्यकामा पाहाचह्रे र घोडे जात्राले भने आजसम्म निरन्तरता पाइरहेकै छ ।

प्रतिक्रिया