रंगशाला निर्माणस्थल चितवन पुगेर धुर्मुसले भने, ‘बाँकी निर्माणको जिम्मा सरकारले लिओस्’

काठमाडौं । सिताराम कटेल (धुर्मुस)ले गौतमबुद्व अन्तराष्ट्रिय रंगशाला निर्माणको जिम्मा लिन सरकारलाई सार्वजनिक अपिल गरेका छन् । निर्माण रोकिएको २ बर्ष पुग्दै गर्दा कटेलले आज आफ्नो सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्र्वजनिक गर्दै राज्यको सम्पत्तिको रुपमा निर्माण रोकिएको रंगशाला निर्माण जिम्मा सरकारले लिएर अभिभावकत्व प्रदान गर्न आग्रह गरे ।
निर्माण रोकिएको रंगशालामा भ्रष्टाचार गरेको भनि झुठो आरोप आफुमाथी लगाएको भन्दै धुर्मुसले ती आरोप निराधार भएको प्रष्टीकरण दिएका छन् । उनले भने ’क्रिकेटलाई माया गर्छु, सहयोग गर्छु भन्ने मान्छेद्वारा नै मलाई मुद्वा हालियो । आज सबैकुरा म बताउनेछु । भरतपुर महानगरपालिकाबाट पठाइएको सि.ए.को समुहले तयार पारेको प्रतिवेदन महागरपालिकालाई २०७८ माघमा बुझाएको तथा फाल्गुन महिनामा युवा तथा खेलकुद मन्त्रालयमा पुगेको थियो ।’
उनले थपे ’२०७८ फाल्गुन ५ गते मन्त्रालयलाई निर्णयको सुझाव दिने उदेश्यले युवा तथा खेलकुद मन्त्रालयमा समिति गठन गरिएको थियो तर त्यो समितिले कामलाई नजरअन्दाज गरे । आफ्नो काम समेत छोडेर आफू हरेक दिन मन्त्रालय धाएँ । हरेक पटक ’हुन्छ अब यो महिनामा टुङ्गिन्छ’ भनेर आश्वासन मात्र पाइराखें । यसरी आफू ५ महिनासम्म खेलकुद मन्त्रालय धाउँदा सम्म रिपोर्ट आएन । त्यसपछि, गठित समितिले मौखिक रुपमा यस परियोजनाको नेपाल सरकारसँग कुनै लेनादेना नभएको र भुक्तानी दिन कानुनी रुपमा नमिल्ने बताए । अझ यी रिपोर्टहरुलाई महान्यायाधिवक्ताको कार्यालयमा पठाउन पर्छ र यो परियोजनालाई त महानगरपालिकाले हेर्नुपर्छ भन्ने जवाफ पाएँ ।’
धुर्मुसले रंगशालाको हिसाबलाई स्पस्ट पार्दै भने, ‘रंगशाला निर्माणमा ५७ करोड ९२ लाख खर्च भएको छ । जसमा १८ करोड ४३ लाख तिर्नुपर्ने(ऋृण) रकम छ । ३९ करोड ८० लाख मात्र नगद तथा जिन्सी सङ्कलन गरिएको थियो ।’ उनले आश्वासनको बलमा १८ करोडसम्मको ऋृण उठाएको बताए । तत्कालिन बागमती प्रदेश सरकारले समेत ३० करोड रुपैयाँ सहयोग गर्छु भन्दा पनि जम्मा ३ करोड रुपैयाँ मात्र दिएको उनले बताए । ’भरतपुर महानगरपालिकाले ८ करोड रुपैयाँ सहयोग गरेको र अन्य स्थानिय निकायसहित गरेर १२ करोड रुपैयाँ संकलन भयो’, उनले भने ।
रंगशाला निर्माणको लागि देशविदेशबाट प्राप्त सहयोगको हिनामिना नभएको र निर्माणमै सदुपयोग गरेको दाबी गरे । उनले सहयोग रकम हिनामिना भयो भन्नु भन्दा पहिले स्टेडियोको अवलोकन गर्न सुझाव समेत दिएका छन् । ३० मिनेट लामो भिडियोमा आफूमाथि लागेका आरोप खण्डनलाई प्राथमिकता दिएका छन् ।
प्रतिक्रिया