मंगलबार, वैशाख ११, २०८१

लाखौंको खसीबोका निर्यात गर्दै अर्घाखाँची

नेपालखोज २०७९ चैत ८ गते २०:३०

काठमाडाैं । भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गर्नुभयो । नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उनी बाख्रा पालनमा लागे । उनको फार्ममा अहिले साना ठूला गरी झण्डै एक सय ५० बाख्रा छन् ।

‘वैदेशकि रोजगारीबाट फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्नै जन्म भूमिमा आएर बाख्रा पालेकी छु । वार्षिक रु १०/१२ लाख खर्च कटाएर आम्दानी हुने गरेको छ । चार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष पाँच जनालाई रोजगारी पनि दिएको छु ।’ उनले भने । झन्डै ७४ रोपनी क्षेत्रफलमा घाँस खेती र बाख्रा फार्म रहेको छ । शीतगङ्गा नगरपालिका–६ जुकेनाको फेदी रहेको लक्ष्मण ओलीको बाख्रा फार्म पनि लोभ लाग्दो छ । स्थानीय डिहि आधारभूत विद्यालयका प्रधनाध्यापक अर्थात् जागिर खान जाजरकोटबाट आएका ओली विद्यालयमा अध्यापनसँगै व्यावसायिक बाख्रा पालनमा समेत लागेका हुन् ।

उनको गोठमा अहिले एक सय २४ वटा बाख्रा छन् । एमएड पास गरेका उहाँ मात्र होइन् उहाँकी श्रीमती करुणा ओली पनि शिक्षिका छन् । तर उहाँहरूले समाजमा केही गरेर अरुलाई प्रेरणाको स्रोत बन्न सकिन्छ भन्ने मान्यताका साथ बाख्रा पालनमा लाग्नुभयो । बाख्रापालनको लागि राम्रो स्थान, चरनको व्यवस्था आदि भएको देखेपछि बाख्रापालनमा लागेको शिक्षक ओलीको भनाइ छ । गोठमा एक सय २४ वटा बाख्रा छन् । ओलीले भने, ‘एक वर्षमा बोका तथा बाख्राका पाठी बेचेर २१ लाखको कारोबार भयो । बाख्राको दाना, घाँस, औषधि उपचार, कर्मचारीको तलब आदि सबै खर्च कटाएर आठ लाखभन्दा बढी बचत भएको छ ।” उनको फार्ममा चार जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

शिक्षण पेसा मूल पेसा भएकाले आफूले व्यवस्थापन मात्र गरेको बिहान बेलुकाको समयमा मात्र आफूले बाख्राको हेरचार गर्ने गरेका छन् । अरु सबै कामदारको जिम्मा छ । जाजरकोटमा रहेका बुबा बलराम ओलीले फार्मको रेखदेख गर्छन् । कृषि प्रधान देशमा कृषि पेसा गर्नुपर्छ भन्ने मान्यताका साथ बाख्रापालनमा आफूहरूले बढी जोड दिएको उनले बताए । शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित खसीबोकाको बिक्रीमा प्रतिकिलो रु ५० नगरपालिकाले अनुदान दिँदै आएको छ । जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए ।

उक्त माउबाख्राबाट उत्पादन भएका पाठापाठीहरू तथा मासुजन्य खसी बोका कपिलबस्तु, दाङ, रुपन्देही तथा काठमाडौँ, पोखरालगायतका स्थानमा मासुका लागि जाने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा पालक किसानलाई खोर निर्माण, उन्नत जातको बोका तथा बाख्रा खरिद, घाँस खेतीलगायत प्राविधिक रुपमा सहयोग गर्दै आएको छ ।

जसका कारण किसानलाई बाख्रापालनमा सहयोग पुगेको छ । व्यावसायिक बाख्रापालनमा लागेका किसानलाई यसैमा टिकाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन भएको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बताउनुभयो । आयातमा आधारित अर्थतन्त्रमा रहेको सन्दर्भमा निर्यात प्रबद्र्धनमा बाख्रा पालनले सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी मीना अर्यालको भनाइ छ ।

बाख्रा पालनको लागि अर्घाखाँची जिल्ला सम्भावना बोकेको जिल्ला हो । साना किसानलाई उत्साहित बनाउँदै व्यावसायिक रुप प्रदान गर्ने उद्देश्यले शीतगङ्गा नगरपालिकाले उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमअन्तरर्गत सहकारीमार्फत तौलगरी खसी बोका बिक्री गर्ने गरेको छ । जसका कारण किसान लाभान्वित भएका छन् ।

प्रतिक्रिया