शुक्रबार, वैशाख ७, २०८१

कोभिड महामारीका कारण अन्य अत्यावश्यक ओैषधि पनि पहुँच बाहिर

नेपालखोज २०७९ चैत १० गते १२:०७

काठमाडाैं । कोभिड–१९ को महामारीका कारण क्यान्सर, मुटु रोग, मधुमेह जस्ता रोगको औषधि जनताको पहुँचभन्दा बाहिर पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो नयाँ प्रतिवेदनमा कोभिड–१९ को महामारीको प्रभाव अहिले कम भए पनि क्यान्सर, मुटु रोग, मधुमेह तथा श्वासप्रश्वास सम्बन्धी रोगका लागि अझै पनि धेरैलाई औषधिको आवश्यकता रहेको कुरा बताएको छ ।

उल्लेखनीय के छ भने यो नयाँ प्रतिवेदन ‘एनसीडी मेडिसिनको पहुँच’ का लागि डब्ल्यूएचओले कोभिड-१९ को प्रभाव कै बेला नसर्ने रोगहरूको उपचारमा प्रयोग हुने औषधिहरूको पहुँचका सम्बन्धमा अनुसन्धान गरेको थियो । प्रतिवेदनमा महामारीका कारण औषधिको उत्पादन, खरिद र आयातसम्मको वितरण, उपलब्धता र मूल्यमा परेको प्रभावको पनि समीक्षा गरिएको छ ।
प्रतिवेदनले चिकित्सा आपूर्ति शृङ्खलामा हुने अवरोधहरूको पूर्वानुमान र न्यूनीकरण गर्न देशहरूद्वारा लागू गरिएका नीतिहरू तथा रणनीतिहरूको रूपरेखा पनि प्रस्तुत गर्दछ । विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको तथ्यांकबाट यी नसर्ने रोगहरूको परिमाण अनुमान गर्न सकिन्छ । तथ्याङ्क अनुसार, यी रोगहरू हरेक वर्ष विश्वभर ७४ प्रतिशत मृत्युको कारण हुन् । यसले हरेक वर्ष ४.१ करोड मानिसको ज्यान लिइरहेको अनुमान छ ।

यी गैर-संक्रामक रोगहरूबाट हुने मृत्युमध्ये ७८ प्रतिशत कम र मध्यम आय भएका देशमा हुन्छन् । तीमध्ये मुटुसम्बन्धी रोगले सबैभन्दा बढी मानिसको ज्यान लिइरहेको छ । तथ्याङ्कले देखाउँछ कि प्रत्येक वर्ष १.८ करोड मानिस मुटु रोगबाट मरिरहेका छन् । योसँगै क्यान्सरबाट मृत्यु हुनेहरुको संख्या ९० लाख नाघेको छ । त्यसैगरी ४१ लाख मानिसको मृत्युको कारण वर्षौं पुरानो श्वासप्रश्वाससम्बन्धी रोग हो भने मधुमेह र मिर्गौलासम्बन्धी रोगले वर्षेनी २० लाखभन्दा बढीको ज्यान लिइरहेको छ ।

यस्ता नसर्ने रोगका कारण मृत्यु हुनेहरुको संख्या बढ्ने क्रम जारी छ भने सन् २०२५ सम्ममा यी रोगले प्रत्येक वर्ष १० करोडभन्दा बढी मानिसको ज्यान लिने डर छ । रिपोर्ट अनुसार कोभिड–१९ को महामारीका बेला क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घकालीन श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगसँग लडिरहेका बिरामीले नियमित औषधि पाउन कठिनाइ भोग्नुपरेको थियो ।
प्रतिवेदनको सुझाव अनुसार महामारीको समयमा मानिसको उपचारमा अवरोधहरू थिए जसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यस्तो अवस्थामा यस्ता नसर्ने रोगबाट बाँचेका व्यक्तिको उपचार र हेरचाह मात्र नभई ती योजनालाई कार्यान्वयन गर्ने नयाँ उपाय पनि खोज्नुपर्छ ।

डब्लुएचओको नसर्ने रोग विभागका निर्देशक डा बेन्टे मिकेलसेन भन्छन्, ‘कोरोना महामारीले ती चुनौतीहरू बढाएको छ । जसका कारण नसर्ने रोगका बिरामीले अत्यावश्यक औषधिको पहुँचमा समस्या भोग्नुपरेको छ ।” उनका अनुसार यसले धेरैको उपचारमा अवरोध पु¥याएको छ, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । प्रतिवेदन अनुसार कोभिड–१९ ले प्राथमिक स्वास्थ्य सेवा र विश्वव्यापी स्वास्थ्य कभरेजमा पर्याप्त लगानीको अभावलाई पनि उजागर गरेको छ । यसले गर्दा ७० प्रतिशतभन्दा बढी देशमा सबै प्रमुख गैर-संक्रामक रोगहरू तथा ६० प्रतिशतसम्म मानसिक स्वास्थ्य सेवा अवरुद्ध भएको छ।

क्यान्सरका बारेमा कुरा गर्दा २०१९ मा गरिएको देश क्षमता सर्वेक्षण अनुसार केमोथेरापी कम आय भएका देशहरूमा ३०प्रतिशत भन्दा कममा उपलब्ध छ । निम्न-मध्यम आय भएका देशहरूमा यो संख्या ६५ प्रतिशत छ । त्यसैगरी धनी देशमा क्यान्सर भएका बालबालिकामा निको हुने सम्भावना ८० प्रतिशतभन्दा बढी छ भने न्यून र मध्यम आय भएका मुलुकमा यो संख्या ३० प्रतिशतभन्दा कम छ ।

कोभिड–१९ सँगै नसर्ने रोगहरू विरुद्धको अपर्याप्त कारबाहीले दिगो विकास लक्ष्यबाट चुक्ने डर बढाएको छ । यसका साथै वर्तमान र भविष्यमा गहिरो जलवायु संकटले नसर्ने रोगहरूको प्रकोपलाई थप वृद्धि गर्नेछ।

प्रतिक्रिया