शुक्रबार, वैशाख ७, २०८१

कृष्णा दिज्यूको सम्झना

सुनिल उलक २०७९ चैत १० गते १४:५८

‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।’ मेरो बाल्यकाल देखि चिरपरिचित शब्दहरू र त्यो आवाज । त्यो बेला समाचार सुन्ने भनेकै रेडियो नेपालको हुन्थ्यो । गीतसङ्गीतको मनोरञ्जन पनि रेडियो नेपाल नै हुन्थ्यो । हिन्दी फिल्मी गीतका लागि भने रेडियो सिलोन निकै लोकप्रिय थियो । यिनै चिरपरिचित स्वरका धनी कृष्णा दिज्यूको हिजो राति देहावसान भएछ । हुन त वहाँको स्वर नसुनेको दशकौँ भइसक्यो । तर पनि अति कर्णप्रिय लाग्ने स्वरले सदाका लागि विश्राम लिएछ ।

उहाँको रेडियो जीवनका सुरुवात सम्झँदा अनौठो लाग्दछ । बनेपाको नेवार परिवारमा ८६ वर्ष अगाडि जन्मनु भएका उहाँको मातृभाषा नेवारी थियो । तर रेडियो नेपालमा वहाँको प्रवेश रेडियो नेपालबाट प्रसारण हुने हिन्दी सेवाका लागि थियो । हिन्दी भाषामा कार्यक्रम सञ्चालन गर्ने तथा हिन्दी भाषामा समाचार पढ्ने थियो । दोस्रो वहाँले रोयल नेपाल एयरलाइन्स जस्तो तत्कालीन समयको सबैभन्दा राम्रो जागिर र तलब पनि मासिक रु १७५ पाइरहेको छोडेर मासिक रु १२५ को हिन्दी सेवाको रेडियोको जागिरमा लोभिनु भयो ।

कृष्णा दिज्यूको कथा अगाडि म एकै छिन तुलसी मेहरको चर्खा अभियान तर्फ मोडिन्छु । तर तुलसी मेहर बारेमा भिन्न रूपले लेख्नेछु । पाटनको भेलाछेंमा जन्मनु भएका तुलसी मेहर मेरो आमाको छिमेकी दाजु हुनुहुन्थ्यो । आमाबाट मैले जानकारी पाए अनुसार, समय समय परिवारबाट हराइरहने वहाँ एक पटक लामो समय घर फर्कनु भएन । परिवारमा चिन्ता पिरका साथै मृत्यु भएको आशङ्का समेत भयो । अन्ततः घरपरिवारको सल्लाहले मृत्यु भइसकेको आशङ्कामा मृत्यु संस्कार गर्ने निर्णय भयो र गरियो पनि । यसरी मृत्यु संस्कार समेत गरिसकेको तुलसी मेहर अचानक टोलमा देखा पर्‍यो । परिवारमा अब के गर्ने भन्ने विषयमा हल्लाखल्ला भयो । मृत्यु भइसकेको मानेर संस्कार समेत गरिसकेको उनलाई जीवित कसरी मान्ने !!!

अन्ततः परिवारले निर्णय सुनायो, मृत मानेर संस्कार गरिसकेको हुँदा घर भित्र्याउन मिल्दैन कतै आफै व्यवस्था गर्नु । वास्तवमा लामो समय हराउँदा वहाँ अहमदाबादको गान्धी आश्रम पुगेर गान्धीको घरेलु सेवकका रूपमा सेवा गरेर फर्केका रहेछन् । परिवारबाट अस्विकृत भए पछि पुन गान्धीको सम्पर्कमा गएर नेपालमा चर्खा अभियानको थालनी गरेका थिए । पछि चन्द्र कामधेनु चर्खा प्रचारक गुठी स्थापना भएपछि चर्खा तालिमका लागि साना १०-१२ वर्षका बालिकाहरूलाई वर्धा या अहमदाबाद आश्रममा लग्ने गर्दथे । यसरी वर्धा जाने टोलीमा २००५ सालतिर बुबाको सल्लाह र अनुमतिमा कृष्णा ताम्राकार पनि तुल्सीमेहरका साथ वर्धा पुगेका थिए ।

जान त चर्खा चलाउन कपडा बुन्ने तालिमका लागि पुगेका थिए । पाँच वर्षका लागि घरबाट टाढिएका कृष्णा बुबाको मायाले टाढा हुन पाएनन् । तीन वर्षमै फर्किए । घरमा नेवारी भाषा मात्रै बोल्ने उनले वर्धा रहँदा हिन्दी भाषा राम्रै बोल्न सिके । साथै अल इन्डिया रेडियो सुन्ने हुँदा रेडियोमा आउने आवाजका प्रशंसक बने । वर्धाबाट फर्केपछि काठमाडौँ बसे, यतै पढे । स्कुल र कलेज पनि पनि यहीँ बसेर पूरा गरे । २०१७ सालको राजा महेन्द्रको कदम पछि आमसञ्चारमा करिब करिब प्रतिबन्ध लाग्यो । रेडियो नेपाल गोरखापत्र सरकारी मुख पत्रका रूपमा रहिरहे । यसै बेला रेडियो नेपालले हिन्दी भाषामा पनि कार्यक्रम थालनी गर्ने तैयारीमा लागे । यसैको विज्ञापनमा कृष्णा दिज्यू चयन भइन् ।

२०१८ साल जेठ २४ गते रोयल नेपाल एयरलाइन्सको राम्रो जागिरबाट राजीनामा दिएर रेडियो नेपालमा प्रवेश गर्नुभयो । हिन्दी सेवा त तीन वर्ष नपुग्दै बन्द भयो । तर कृष्णा दिज्यूको रेडियो नेपालसँगको सम्बन्ध भने रोकिएन । यसपछि रेडियो नेपालबाट अन्त कतै फर्केर पनि हेर्नुभएन । २०४५-४६ जनआन्दोलन पछि देशमा थुप्रै परिवर्तन भए । कुनै राम्रा परिवर्तन भए कुनै नराम्रा पनि भए । सरकारी कर्मचारीका सन्दर्भमा निजामती सेवा ऐन, २०४९ लागू भयो । कर्मचारी अवकाशका सम्बन्धमा उमेरको हद ५८ वर्ष वा जागिरको अवधि ३० वर्षको लागू भयो । जसले गर्दा २०४९ कार्तिक २२ मा रेडियो नेपाल छोड्न बाध्य हुनुभयो ।

रेडियो नेपालबाट टाढिनु भए पनि रेडियो क्षेत्रबाट भने टाढिन सक्नुभएन । कृष्णा दिज्यूका तीन छोरीमा कान्छी छोरी गृष्मा भने रेडियो तथा टेलिभिजनमा आबद्ध हुनुहुन्छ । हिमा र व्योमा भने अन्य क्षेत्रमा हुनुहुन्छ । अविस्मरणीय कृष्णा दिज्यू प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया