आइतबार, वैशाख २, २०८१

लेक पुगे भेँडाका बथान

नेपालखोज २०७९ चैत ११ गते ७:५८

काठमाडाैं । भेँडीगोठमा रहेका भेँडाका बथान यतिबेला पुनः लेक पुगेका छन् । चिसो छल्न बेँसी ल्याइएका घुम्ती भेँडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली भेग पुगेका हुन् । यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पु¥याएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा तीन सयभन्दा बढी घुम्ती भेँडीगोठ रहेको र अधिकांश भेँडीगोठ लेक तथा हिमाली भेगमा पुगिसकेका छन् । सिउरुङ, घलेगाउँ, भुजुङ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेँडीगोठ छन् ।

विशेष गरी गुरुङ समुदायको पुर्खौँली पेसा तथा चलनका रुपमा भेडीगोठलाई हेरिन्छ । भेँडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेँसीमा राख्ने गरिन्छ । लमजुङका भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेको भेँडीगोठालाको भनाइ छ । पसगाउँको भेँडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेँडीगोठ लके थुर्जु नजिकै पुगेको छ । अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दीर्घराज घलेले बताउनुभयो । उहाँका अनुसार घलेगाउँको दुई भेँडीगोठ रहेका छन् ।

ती भेँडीगोठ वैशाख लागेपछि लेक जाने भएका छन् । यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुग्ने गर्दछन् । दोर्दी गाउँपालिकामा करिब आठ घुम्ती भेँडीगोठ रहेका छन् । अधिकांश भेँडीगोठ बेँसीबाट यतिबेला इलमपोखरी पुगिसकेको पालिकाको पशुपन्छी शाखाका कर्मचारी पवन रेग्मीले बताउनुभयो । बेँसीमा रहेको बेलामा भँेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन् ।

वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको प्रतिकिलो रु तीन सय मूल्य रहेको छ । त्यस्तै वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने गरेको बताइएको छ । मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । उनका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको छ । जिल्लामा रहेका अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेँडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ ।

प्रतिक्रिया