शुक्रबार, चैत १६, २०८०

चलचित्रको सफलतामा सशक्त गीत–सङ्गीत

नेपालखोज २०७९ चैत ११ गते १५:२६

काठमाडाैं । नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–सङ्गीत लोकप्रिय हुने गरेको छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछु लगायत चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समय यता भने गीतसङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन । भिडियोमा बढी लगानी गर्दा गीतसङ्गीतको स्तरमा कमी आएको सङ्गीतकार अर्जुन पोखरेल स्वीकार्छन् । ‘चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । एकलरूपमा गीतिसङ्ग्रहमा आउनेमा भने त्यो लागु छैन’ उनले भने । स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतसङ्गीत नै भएको पोखरेलको भनाइ छ ।

चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए । ‘काममा बजेटले असर गर्छ । हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ’, उनले भने, ‘केही निर्माता गीतलाई भिडियोमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठीकठाक गरौँ भन्ने पनि हुनुहुन्छ । उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौँ ।’

सङ्गीतकार शम्भुजित बाँस्कोटा गीतसङ्गीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउछन् । ‘पहिला चाडपर्वलाई लक्षित गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो । त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्’, उनले भने । प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रर्दशन भइरहेको छ । यसको गीतसङ्गीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेको छ ।

घरेलु बजारसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बताए । ‘हामी प्रति दर्शकको विश्वास छ । साथै गीतसङ्गीतले समेत सामाजिक सञ्जालमार्फत प्रचारमा सघाएको छ’, उनले भने ।

प्रतिक्रिया