शनिबार, असार २१, २०८२

अरूणा लामाको जन्मजयन्तीमा

सुनिल उलक २०८१ भदौ २४ गते १८:१५

अरूणा लामा प्रति हार्दिक श्रद्धाञ्जली

अरुणा दिदीका गीतहरु सुन्न थालेको ४५ वर्ष भन्दा बढि भयो । रेडियो नेपालमा वहाँका गीतहरु प्राय बज्दैनथे । तसर्थ रेडियो खर्साङ बिहानै देखि सुन्दथ्यौ । त्यस समय जीतेन्द्र बर्देवा, डेजी बराइली, कुमार सुब्बा, कर्मा योञ्जन, गोपाल योञ्जन, दावा ग्याल्मो, शान्ति ठटाल, दिलमाया खाती, अरुणा लामाका गीतहरु बज्दथे । मलाई जितेन्द्र बर्देवाको गीतहरु पनि ‍औधी मन पर्थ्यो । वहाँको काँपेको आवाज मलाई मन पर्थ्यो । जितेन्द्र बर्देवाको गीत, ‘एक रात थियो, भर्खर कै थियोू म अझै पनि सुन्छु । तर अरुणा दिदी भने बिशेष मन पर्थ्यो । अहिले जस्तो यूट्युवको जमाना थिएन । मन परेको गीत बारम्बार सुन्न पाइदैनथ्यो । घण्टौ रेडियो खर्साङ, रेडियो गौहाटीका रेडियो ब्याण्ड घुमाउँदै सुन्दा यदाकदा मात्रै सुन्न पाइन्थ्यो । पछि भने अरुणा दिदीको क्यासेट किनेर सुन्न थाले । काठमाडौमा अरुणा लामा साँझ हुँदा म पनि प्रत्यक्ष सुन्न पुगे । सो प्रत्यक्ष कार्यक्रमको भिसिडी थियो । अहिले सो भिडियोको डिभिडी बनाएर राखेको छु । हङकङमा बस्ने भाइ सुरज श्रेष्ठले मेरो लागि पाँच कपी डिभिडी बनाएर ल्याइदिएको छ ।

अरुणा दिदीको छोटो जीवनी

बुबा सूर्यबहादुर लामा र आमा सानमाया लामाको कोखमा बि।सं। २००२ भाद्र २४ गते तदनुसार सन १९४५ सेप्टेम्वर ९ आइतवारका दिन दार्जिलिङको घुम पहाडमा जन्मनु भएका अरूणा लामा बाल्यकाल देखी नै संगीतमा रूचि राख्थे । उनका काका सिबि लामाको शव्द र संगीतमा ‘मन मन्दिरमा कृष्ण तिमी आउ’ बोलको भजन मङ्पु स्थित सरस्वती निम्न माध्यमिक पाठशालाको मञ्चमा गाएर उनले सार्वजनिक रूपमा गायनको शुरूवात गरेकी थिइन् ।

२०१३ को असारमा काकाले नै अम्वर गुरूङको आर्ट एकेडेमीमा भर्ना गरिदिए पछि अझ संगीतमा गहिरीएर लाग्ने प्रेरणा मिल्यो । यसको चार महिना पछि नै पहिलो पटक गोर्खा दुख निवारण सम्मेलनले आयोजना गरेको नेपाली संगीत प्रतियोगितामा’याद अतितको सम्झि सम्झिू बोलको गीत गाएर दोश्रो भए पछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । त्यसपछि सोही प्रतियोगितामा लगातार २०१४ देखी २०१८ सम्म प्रथम हुनु भयो । २०१८ मा अम्वर गुरूङले कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा भूपी शेरचनको शव्दको ‘यो मन उदास उदास छ मेरोू तथा ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ नू बोलको गीत रेकर्डिङ गराइ दिनु भए पछि उनको आवाजको एलपी नै निस्किएको थियो ।

घुम पहाड देखि पश्चिममा रहेको सानो गाँउ मङ्पुमा रहेको प्राथमिक पाठशालामा बाल्यकालको शिक्षा ग्रहण गरेकी अरूणा दिदीले पछि दार्जिलिङको सेन्ट टेरेसा स्कुलबाट माध्यामिक शिक्षा पुरा गर्नुभए पछि दार्जिलिङको गवर्मेन्ट कलेजबाट ग्रेजुएट गाएकी थिइन ।

अम्वर गुरूङको आर्ट एकेडेमीले दार्जिलिङको गाँउ वस्तीहरूमा सांगीतिक कार्यक्रमहरू देखाउने गर्दथ्यो । जहाँ अरूणा दिदी सधै गाउन पुग्नुहुन्थ्यो । त्यहिँ गायनको क्रममा वहाँको भेट म्यान्डोलिन बजाएर बस्नुहुने शरण प्रधानसंग भयो । यो सम्बन्ध गहिरिदै गयो । अन्तत २०२० साल असार २५ गते मंगलवार १८ वर्षको उमेरमा वहाँले सुटुक्क घरवाट निस्केर शरण प्रधानसंग प्रेम विवाह गर्नुभयो । हर्कबहादुर प्रधान र कविमाया राईका एक्ला सन्तान तथा बाबु आमाका निकै प्यारा शरण प्रधानको लागी अरूणालाई घर भित्राउन कुनै असहज भएन । वहाँको बुबा प्रधान थरका नेवार भए पनि आमा भने राई हुनुहुन्थ्यो । त्यसैले प्रधानको घरमा लामाको आगमनमा कुनै अप्ठ्यारो भएन । त्यसमा पनि संगीतमा रूची भएका सासु ससुरा तथा संगीतकार पति हुँदा त झन अरूणादिदीलाई संगीतमा लाग्न अझ सहज भयो । पति शरणले बिस्तारै संगीतका साथ साथै गीतहरु पनि कोर्न थाले । जसले गर्दा वहाँ कै गीत संगीतमा धेरै गीतहरु अरुणा दिदीले गाउनुभयो ।

विवाह पछि जीवनको बारेमा धेरै सपना देख्न थाल्नु भए पनि लामो बैबाहिक सुख भोग्न पाउनु भएन । साना साना दुई सपना र सुप्रित तथा श्रीमती अरूणालाई छाडेर २०३१ बैशाख २० गते शुक्रवारको दिन आफ्नो ३१औ जन्म दिनमा नै शरण प्रधानले सदाको लागी संसार छोडेर जानुभयो । अरुणा दिदीलाई भाग्यले नराम्रो गरि रुवायो । २०२९ सालमा बुबाले सदाको लागी छोडेर जानुभएको थियो, २०३० मा आमाले छोडेर जानुभयो अन्तमा २०३१ मा जीवनभर साथ दिने कसम खाएका पतिले पनि छाडेर गए । तीन वर्ष लगातार जीवनका महत्वपूर्ण तीन ब्यक्तिलाई गुमाउनु भए पछि वहाँ एकैपटक गीत संगीतबाट हराउनुभयो ।

यसरी आफन्त गुमाउनु भएर अरुणादिदी यति बिक्षिप्त हुनु भयो कि वहाँले गीत संगीतबाट पूर्ण बिश्राम लिनुभयो । संगीतप्रेमीको लागी वहाँको यो बिश्रामले ठूलै असर पर्यो । गीत संगीतमा फर्कनु भएर आफ्ना जीवनका दुखपिडा बिर्सन धेरैले गर्नुभएको अनुरोध अस्विकार गर्नुभएका वहाँले अन्तत कर्म योञ्जनको अनुरोधमा गाउन स्विकार गर्नुभयो । वहाँले तीन धारेको मञ्चमा लामो शोक पछि शरण प्रधानको शव्द संगीतको ूमैले जीवनलाई कसरी सजाए गीतगाउनु भएर पून संगीतमा फर्कनुभयो । यसको केही समय पछि राजेन्द्र थापाको शव्द र अम्वर गुरूङको संगीतमा गीत रेकर्डिङ गराउनु भयो । राजेन्द्र थापाले वहाँकै लागी लेखिदिनु भएको गीतको शव्द यस्तो थियो

पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो।

सास फेरेजस्तो लाग्छ तर भन्छन् मरि सकिस
तेरो भाग्य यति नै हो भोगचलन गरि सकिस
सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगान छैन
भाग्य फाटे सिउँथेँ बरु तर मन सिउने केले हो

सुख के हो, दुःख के हो, मनले खोज्ने खुसी के हो
भावीले निधारमा कर्म लेखिदिने मसी के हो
कर्म लेख्ने मसी के हो, भाग्य तोक्ने कसी के हो
कर्म फुटे जोड्थे बरु तर मन जोड्ने केले हो

यस पछि वहाँले बिरहका गीतहरु मात्र गाउनुभयो । अझ भनौ भने वहाँलाई बिरहका गीत मात्रै गाउन दिइयो । यसरी वहाँका सबै गीत पिडाले भरिएको हुन थाले । बिरह र बेदनाको गीत गाउँदा गाउँदा वहाँ कारूणिक गायिका बन्न पुग्नुभयो । यस्तैमा हरिभक्त कटुवालले एक गीत वहाँलाई दिनुभयो जसलाई मणिकमल क्षेत्रीले संगीत भरेका थिए । मणिकमललाई टीका लगाएर अरूणा दिदीले भाइ बनाउनु भएको थियो । तसर्थ हरिभक्त र मणिकमलको अनुरोधमा अरूणा दिदीले यो गीत गाउनु भयो ।

हाँगा हाँगा वनभरि चैत फुलेछ
थाहा नपाई मनभित्र बैंस फुलेछ ।

कता कता कसैलाई भेटे भेटे झैँ
सङ्लो पानी पिई तिर्खा मेटे मेटे झैँ
कोहो कोहो दुई आँखामा आई डुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ ।

एक जोडी आँखा सधैं हाँसुँ हाँसुँ झैँ
एउटा माला फूल टिपी गाँसुँ गाँसुँ झैँ
कसो कसो बिहानीको नींद खुलेछ
थाहा नपाई मनभित्र प्रीत फुलेछ ॥

यो गीत पछि भने अरूणा दिदीका केही रोमान्टिक गीतहरू आउन थाल्यो ।

पतिको मृत्यु पछि अरूणा दिदीको लागी दुखको दिन शुरू भएको थियो । बल्ल बल्ल भाइहरूले खोजिदिएको जागीरमा पनि मालिक नै भागेर तलव पाउनु भएन । त्यसपछि अस्थाइ शिक्षिकामा रुपमा पढाउन थाल्नुभयो । त्यस्तैमा २०३३ मा बल्ल अनुसुचित तथा जनजाती कल्याण विभाग, दार्जिलिङमा निरिक्षक पदमा स्थाइ नौकरी पाउनु भयो । जहाँ जीवनको अन्तसम्म वहाँ कार्यरत रहनुभयो ।

२०५४ माघ २२ गते तदनुसार १९९८ फेब्रुअरी ४ का दिन कलेजोको समस्याको उपचारको क्रममा सदाको लागी संसार छोडेर जानु भयो । जीवन भर दुख कष्टसंग दार्जिलिङमा साधारण सरकारी नोकरीमा जीवनयापन गर्नुभएका अरूणा दिदीको मृत्युपछि शवलाई काठमाडौमा दाहसंस्कार गर्ने कोशिस भयो । तर परिवारले मानेनन् र अन्तत दार्जिलिङमा नै शव लगेर दाहसंस्कार गरियो । अस्तु भने वाग्मतीमा सेलाउन ल्याइयो ।

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँसुमा म फुले
म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गितमा म भुँले

सुन्दछु मेरो यहीँ धर्ती भित्र आफ्नै छ रगत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै म भुलेँ

न घर मेरो न वन मेरो यहि मनले म एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
दिनले हजुर खोला मै म सुके

प्रतिक्रिया