बिहीबार, वैशाख ६, २०८१

खप्तड गोल्डकप : नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश

नेपालखोज २०७९ चैत ११ गते २२:२६

धनगढी । धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’अन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको छ । आजको खेलमा पुलिस क्लबले विदेशी टोली दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गरेको छ ।

पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौँ मिनेटमा अग्रता लिएको थियो । पुलिसका भोला सिलवालले ४२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेलान्टी सुटआउटमा गरिएको हो । पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भयो ।

विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो । पुलिसले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । भोलि आइतबार क्वाटरफाइनलको खेलको प्रतिस्पर्धा फ्रेन्डस् क्लब र थ्रीस्टारबीच हुनेछ । यही चैत १८ सम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लबसहित १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ ।

प्रतिक्रिया