शुक्रबार, वैशाख १४, २०८१

भय र त्रासमा टिकेको सरकार

ओम आचार्य २०७९ चैत १३ गते ८:५३

नेकपा एमाले सहित पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड केपी ओलीको शैलीबाट त्रसित बनेपछि नेपाली काँग्रेस सहितका दलहरू सँग गठबन्धन गर्न पुगे र अहिले त्यो गठबन्धन १० दलमा परिणत भएको छ । गणितको हिसाबले यो सङ्ख्या सरकारको लागी उत्साहजनक हो । सरकार बलियो छ भन्ने देखिन्छ। तर यथार्थमा त्यस्तो नहुन सक्छ ।

अहिले सरकार भय र त्रासमा टिकेको छ ।सरकारको नेतृत्व प्रचण्डले गरेका हुनाले सरकारमा सम्मिलित भएका र सम्मिलित हुने सबै यो सरकार भयको जगमा त्रासको जगमा निर्मित भएको देख्दै छन् । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको कुर्सिमा विराजमान छन् । त्यो कुर्सीको ऊर्जा त्यो कुर्सीको राप त्यो कुर्सीको ताप प्रचण्डमा देखिनेछैन । उनकाे अनुहारमा तेज उनकाे अनुहारमा उज्यालो पन केही देखिँदैन । देखिन्छ त मात्र भय मात्र मलिन । प्रचण्डको त्यही अनुहारबाट भय प्लावित भइरहेछ जो कोही ले पनि त्यो देख्न सक्छ । अहिले देशको आर्थिक अवस्था जर्जर छ ।

उद्योग व्यवसायी देखी साना व्यवसायीहरू पनि सडकमा आन्दोलित छन् । र त्यो आन्दोलन को तारो प्रचण्ड बन्दै गइरहेकाे छ । उनकाे उपस्थितिमै भएको समारोहमा उनैकाे विरुद्ध नाराबाजी देखी लिएर अन्य गतिविधि पनि भइरहेका छन् । यौटा भयको कारण यो पनि हो । अझ ठुलो भय त उनकाे विरुद्धमा द्वन्दकालमा पीडित पक्षबाटै कार्यवाहीको लागी अदालतमा दायर गरिएको मुद्दा हो । यही भय र त्रास को वरिपरि रहेर पूर्व माओवादीमा संलग्न नेताहरू एकै ठाउँमा उपस्थित भएर अदालतमाथि चुनौती दिन सम्म पुगे । र अर्को भयको कारण यो पनि हुन सक्छ रुसका पुटिनलाई अन्तर्राष्ट्रिय अदालतले जारी गरेको पक्राउ पुर्जी। जे होस विश्वासको मत पाएर बलियो देखिए पनि वास्तवमा त्यस्तो भोलि नहुन सक्छ जब मन्त्री मण्डलमा नसमेटिएका दलहरू पुन विश्वासको मत फिर्ता लिन सक्छन् । अहिले राजनीति यसरी नै विकसित भइरहेको छ ।

अहिलेको राजनीतिमा ठुला दल भनिएकाहरूले साना दलहरूलाई यही सिकाइरहेका छन् । यही राजनीतिक संस्कार दिइरहेका छन् । चाहे त्यो काँग्रेस होस या नेकपा एमाले होस अझ यसमा माओवादी अघि छ । माओवादीले राजनीतिको यही शिक्षा दिई रहेको छ यही संस्कार दिएको छ । माओवादीको यही शिक्षा र संस्कार अव उनै तिर भारी पर्ने देखिन्छ। भारी यस कारणले हो की अहिले संसद्मा कुनै पनि राजनीतिक दलको बहुमत पुग्दैन । संसद्को अहिलेको संरचना नै यस्तो छ की यो सांसदबाट निर्मित हुने सरकार दिगो र भरपर्दो देखिदैँन । यिनै कारणहरूबाट यो सरकार सधैँ भय, त्रास, मलिन र ऊर्जा विहीन भएर प्रस्तुत भएको देखिन्छ । प्रचण्डले विश्वासको मत लिए पछि मन्त्रिमण्डल विस्तार गर्ने उद्घोष गर्नु पनि यही भय हो ।

आफू सुरक्षित रहने रणनीति । र विश्वासको मत दिने दलहरू पनि यति लामो समय सम्म धैर्य गरेर सरकार जाने लिप्सामा देखिनु नै स्वास्थ्य राजनीति देखिँदैन । कुनै पनि दलबाट नेतृत्व गरेका सरकार प्रमुखले यति लामो समय सम्म मन्त्री मण्डल विस्तार नगरेर मुलुकलाई अध्याँरोमा राख्न मिल्दैन । अझ वर्तमान प्रधानमन्त्रीले त १६ वटा मन्त्रालय आफ्नै मातहतमा राखेर गणतान्त्रिक लोकतन्त्र र सुशासनको विरुद्धमा हो ? त्यस्तै देखिन्छ । यो सबै भय र त्रासको अवस्थाले सिर्जित घटना हुन । अहिले सरकारमा जाने दलहरूले पनि आफ्नो घोषणा पत्र, र मतदाता समक्ष गरेका वाचाहरू, प्रतिज्ञाहरू पनि पुरा गर्न सक्ने छैनन्।

अहिले सरकार मा जाने दलहरूले आफ्नो दलको भविष्यमा  समेत प्रतिकुल प्रभाव पार्ने मात्र छैनन् की यी दलको नेतृत्व गरेर जाने नेतृत्वकर्ता समेतको राजनीतिक भविष्यमा प्रश्न चिन्ह लाग्न सक्छ। अहिले को देशको वर्तमान राजनीतिक अवस्था आर्थिक अवस्थामा सुधार ल्याउन सकेन भने जनताले चाहेको इच्छा ,अवस्था र माग सम्बोधन हुन सकेन भने वर्तमान सरकार र त्यसमा सम्मिलित दलहरूमा यस्तो दाग लाग्ने छ त्यो कुनै पनि धोबीले छुटाउन सक्दैन ।

अहिले यस्तै दाग लागेकाहरू, अहिले रङ्ग उडेका दलहरू, अहिले खुइलिएका दलहरूलाई हिजो सम्म धोबीहरूले दुरुस्त बनाउने गर्दै थिए । खुइलिएकोलाई चमक दिन्थे । र दाग लागेकालाई दाग हीन बनाउँथे । अव धोबीहरूले त्यस्तो गर्ने छैनन्। अव त्यो अवस्था छैन । त्यसैले यो सरकार भयमा टिकेको छ ।

प्रतिक्रिया