शनिबार, जेठ ५, २०८१

भाजपाले नै बनाउँदैछ राहुल गान्धीलाई नेता ?

चारु कार्तिकेय २०७९ चैत १४ गते १४:३३

भाजपा अचानक राहुल गान्धीलाई लिएर यति आक्रामक हुनुका धेरै कारण हुन सक्छन् । यद्यपि आफ्नो सम्पूर्ण ध्यान एक व्यक्तिमा केन्द्रित गरेर भाजपाले राहुल गान्धीलाई सहयोग नै पुर्याइरहेको छ ।

लगातार दुईवटा लोकसभा चुनावमा बहुमतका साथ जितेको भाजपाका नेताहरू भारतमा कतै पनि सरकार बनाउन सक्ने घमण्डमा थिए । पार्टीले केन्द्रमा मात्र नभई हरेक प्रदेशमा एकपछि अर्को चुनाव जित्दै गएको थियो । कतिपय राज्यमा चुनाव हारेर पनि पार्टीले सरकार बनाएर चुनावी हार र जितको भिन्नताको अन्त्य गरेको छ । मध्य प्रदेश, कर्नाटक र महाराष्ट्रका घटनाहरू यसका उदाहरण हुन् ।

तर हिजोआज जसरी पार्टीका नेता, सांसद तथा केन्द्रीय मन्त्रीहरूले आफ्नो सम्पूर्ण शक्ति विपक्षी दलका एक नेताको आलोचनामा लगाएका छन्, त्यसले भाजपामा असुरक्षाको संकेत देखिएको छ । वर्तमान भाजपा सरकारकको नेतृत्वमा भारतको लोकतन्त्रको अवस्था अहिले विश्वभर चर्चाको विषय बनेको छ । अन्य देशका सरकारहरूले यस बिषयमा केही नबोले पनि विश्वका धेरै प्रतिष्ठित संस्थाहरू भारततर्फ निरन्तर निगरानि राखिरहेका छन्।

लोकतान्त्रिक व्यवस्था मै प्रश्नचिन्ह

पत्रकारको स्वतन्त्रता होस् वा कार्यकर्ताको आलोचना गर्ने स्वतन्त्रता, बढ्दो साम्प्रदायिकता होस् वा इन्टरनेट प्रतिबन्ध , अनुसन्धान एजेन्सीको दुरुपयोग होस् वा विपक्षी नेताहरूको अवैध जासूसी यी यस्ता विषय हुन जसमा कुनै न कुनै अन्तर्राष्ट्रिय रिपोर्टहरू आइरहेका हुन्छन् र तिनले भाजपा नेतृत्वलाई नै प्रश्न गरिरहेका हुन्छन ।

भारत भित्र सरकारलाई आँखा चिम्लिएर सहयोग गर्ने मिडिया संस्थाहरूले छरेको भ्रमभन्दा बाहिर हेर्न सक्नेहरूले के भैरहेको छ भन्ने कुरा प्रष्ट देख्न सक्छन् । यस्तो अवस्थामा प्रतिपक्षी दलका नेताले विदेश गएर त्यही कुरा दोहोर्‍याए भने के गल्ती गरे ? भाजपाको यो पछिल्लो अभियानको सुरुमा एक केन्द्रीय मन्त्रीले राहुल गान्धीको भनाइको आलोचना गर्दै उनलाई ‘पप्पु’ भनेका थिए तर अहिले अचानक तिनै ‘पप्पु’ भाजपाका लागि यति खतरनाक बनेका छन कि पार्टी उनलाई संसदबाट बाहिर निकाल्ने जोडबलमा लाग्यो ।

चाखलाग्दो कुरा के छ भने राहुल गान्धीलाई जनताले नै संसदबाट झण्डै बाहिर निकालेका थिए । उनको नेतृत्वमा लडिएको लगातार दुई लोकसभा चुनावमा देशका जनताले उनको पार्टीलाई निर्वाचित गरेनन् । २०१९ मा राहुल गान्धी आफैं पनि पराजित भए जहाँ बाट उनकि आमा , उनका बुबा र काका दशकौंदेखि सांसद निर्वाचित हुँदै आएका थिए भने उनी आफैं पनि १५ वर्षदेखि सांसद थिए ।

यदि उनले त्यो वर्ष केरलाको वायनाडबाट चुनाव नलडेका भए उनी लोकसभाबाट बाहिर हुने थिए । जनताले यो हालतमा ल्याएका राहुल गान्धीमाथि यस्तो संगठित हमला गरेर भाजपाले उनलाई सहयोग नै गरिरहेको मान्नुपर्छ । सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै छ र यसपटक आफ्नो अस्तित्वको लडाइमा भारतका धेरै विपक्षी दलहरूले एकताको फर्मुला जुटाउन सकिरहेका छैनन ।

पश्चिम बङ्गालमा उपचुनाव भयो भने कांग्रेस र वामपन्थी मिलेर तृणमूल कांग्रेसलाई हराउँछन् । यता दिल्लीमा कांग्रेसले सबै दलको संयुक्त कार्यक्रम आयोजित गर्दा तृणमूल कांग्रेस त्यसमा सहभागी हुँदैन । जब आम आदमी पार्टीका ठूला नेता जेल पर्छन् तब कांग्रेसले त्यसको विरोध गर्दैन ।

ममता बनर्जी हुन वा नितिश कुमार, अरविन्द केजरीवाल हुन वा चन्द्रशेखर राव विपक्षमा यस्ता धेरै नेताहरू छन् जो आफु प्रतिपक्षको अनुहार भएको दाबी गरिरहन्छन् । यस्तो अवस्थामा भाजपाले ती सबैलाई छोडेर राहुल गान्धीविरुद्ध राष्ट्रिय स्तरको अभियान सुरु गरि उनलाई विपक्षमा विशेष स्थान दिने काम गरिरहेको छ ।

राहुलको पदयात्राको भूमिका

धेरै टिप्पणीकारहरू भन्छन् – यो राहुलको ‘भारत जोडो यात्रा’ को प्रभाव हुन सक्छ। उनीहरुको तर्क छ – दक्षिण देखि उत्तर भारत सम्म ४००० किलोमिटर पैदल यात्रा गरेर राहुलले आफ्नो छवि धेरै बलियो बनाएका छन र यहि भाजपाको चिन्ताको कारण बनेको छ । कांग्रेस पार्टीले घोषणा गरिसकेको छ कि राहुलले छिट्टै पश्चिमदेखि पूर्वी भारतसम्म यस्तै अर्को पदयात्रा गर्नेछन् । आलोचकहरू भन्छन् – यस्तो अवस्थामा बीजेपीले राहुलको छवि धुमिल गर्ने हरसम्भव प्रयास गरिरहेको छ।

यो यात्राले कांग्रेस र राहुलको चुनावी सम्भावनालाई बलियो बनाउन काम गर्‍यो कि गरेन यसको जवाफ चुनाव पछि मात्र पाईनेछ तर यो स्पष्ट छ कि भाजपाले यसरी संगठित ढंगले आक्रमण गरेर राहुल र उनको पार्टीलाई बढावा नै दिइरहेको छ । यो काम भाजपाले जानाजानी गरिरहेको हो कि होइन् भाजपालाई मात्र थाहा छ ।

यो सम्पूर्ण अभ्यासका कारण कांग्रेस प्रतिपक्षको सबैभन्दा वजनदार पार्टी र राहुल प्रतिपक्षको सबैभन्दा आक्रामक नेताका रूपमा अगाडि आउन सक्छन भने यसले विपक्षी एकताको पज्जलको गाँठो पनि फुकाउन सक्छ । – डिडब्ल्यु

प्रतिक्रिया