शुक्रबार, वैशाख ७, २०८१

एउटा लाहुरेको किंवदन्तीले बनाइदिएको देवताको कथा

सुनील उलक २०७९ चैत १६ गते ७:२०

वि.सं. १८७२ फागुनमा इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धि पछि रुष्ट भएका बलभद्र कुँवर वि.सं. १८७६ मा पञ्जाव केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए । यसरी लाहुरे संस्कृतिको सुरुवात भएको थियो ।

लाहुरे शब्दसँगै वीर, बफादार, निडर तथा कर्तव्यनिष्ठ सैनिकको रुपमा गोर्खालीहरुको परिचय पनि पाएको थियो । विश्वभर वीरताको गाथाले प्रख्यात गोर्खाली लाहुरे मध्य कुनै एक देवताको रुपमा पनि पुजिने गरिएको छ ।

के कसरी देवता पनि बने खासै जानकारी भएन । तर एउटा कथा सुपादेउराली क्षेत्रमा प्रख्यात छ । सुपादेउराली मन्दिर नजिकै ढुङ्गे पहाडको भिरमा ढ्ङ्गाको कापबाट बगेको रसायनबाट बनेको एक आकृतिलाई लिएर एउटा कथा बनाइएको छ । त्यो आकृतिलाई लाहुरेलाई सुपादेउराली भगवतीले भित्तामा टाँसिदिएको भनिन्छ । कुनै बेला यसै क्षेत्र नजिकै बसोबास गर्ने कुनै युवाले सुपादेउरालीमा लाहुरे भर्ति हुन सकेमा देवीलाई बोका चढाउने भाकल गरेछ ।

युवा लाहुरे भर्ति त भए तर देवीलाई भाकलको बोका चढाउन बिर्सिएछ । यसरी भाकल पुरा गर्न नसक्दा देवीको मन्दिर रहेको बाटो छलेर पहराबाट गाँउ तर्फ लाग्दा देवीले भाकल पुुरा नगरि भागेको हुँदा पहरामा टाँसिदिएको भन्ने कथा सुनाउने गर्दछन् ।

पहरामा देखिएको आकृति ढुङ्गाको कापबाट बाहिर बगेको कुनै रसायन हो जसलाई निकैबेर नियालेर हेर्दा कुनै लाहुरेको आकृति जस्तो लाग्दछ । यहाँ कथासंगै कालान्तरमा लाहुरे पनि देवताको रुपमा मुर्ति बनाइएर पुजिएको देख्न सकिन्छ । साथै पहराको तल रहेको बजारको नाम नै लाहुरे बजार रहन गएको छ ।

प्रतिक्रिया