बिहीबार, चैत १५, २०८०

अपहेलित सुदूरपश्चिम : नजन्मँदै तुहिएको मेडिकल कलेज

डा. अरुणा उप्रेती २०७९ चैत १८ गते १७:३९

‘पूर्वमा अर्को एउटा मेडिकल कलेज खुल्ने भयो। आउँदो वर्षदेखि पठनपाठन पनि हुने भयो’– खुसीको कुरा हो। तर पूर्वमा ४ वटा मेडिकल कलेज बन्दा सुदूरपश्चिममा चाहिँ बन्न लागेको मेडिकल कलेजलाई पनि बेवास्ता गर्ने देउवा बाका नीतिलाई सुदूर पश्चिमका जनताले देखेका छन्।

केही दिनअघि प्रचण्डले ठूलो कुरा गरेछन्– ‘सुदूर पश्चिमको गेटामा बन्न लागेको पूर्वाधारमा दशरथ चन्द चिकित्सा प्रतिष्ठान बनाउने।’ पहिले पहिले बनाएका चिकित्सा प्रतिष्ठानको नै दुर्गति छ, चलाउन स्रोत छैन। अनि अर्को चिकित्सा प्रतिष्ठानको ठूलो कुरा किन गर्नुपर्यो प्रचण्डले ? सजिलोसँग हुने काम छाडेर बन्न लागेको मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने नाम कहिलेसम्म तन्काउने “पेट दुखे पिलिभित, टाउको दुखे पलिया” भन्ने चलन रहेछ सुदूरपश्चिममा। पिलिभित र पलिया भारतका सहरहरू नेपालसँग जोडिएका हुन। सुदूर पश्चिमका जनताले आफ्नो भूमिमा टाउको दुखेको र पेट दुखेको उपचार पनि पाउन सक्दैनन्। सुदूरपश्चिमका जनतालाई भोक, रोग, गरिबीको कहर छ, त्यसमाथि भारतमा गएर उपचार गर्दा के होला ?

‘करेला, उस पर निम चढा’ अर्थात दुःखमाथि दुःख थपिएको छ, त्यहाँका जनतालाई। ‘पिलिभित र पलियाका झारपाते अस्पतालमा पनि नेपाली बिरामी पुग्छन्, ठगिन्छन्’– कैलालीका शिक्षक मान्छन्। ठगिएर पैसा सबै मिसाएर तान्न हराम बन्छन्। ‘सुन्दर सुदूरपश्चिमको गीत गाएर रमाइलो गर्दै देउवाले देउडा खेले। त्यहाँको राष्ट्रिय र स्थानीय सरकार, व्यापारी, सरकारी कर्मचारीले सुदूर पश्चिमका जनताले अस्पतालको अभावमा दुःख पाएकोचाहिँ देखेनन् ?’ उसो त देउवा बा प्रचौरी प्रधानमन्त्री भए। छैटौँ पल्ट प्रधानमन्त्री बन्ने लोभमा उनले ‘डँडेलधुरामा मेडिकल कलेज’ खोल्ने भनेर ‘भिष्म प्रतिज्ञा’ गरेछन्।

देउवा डँडेलधुराका मात्र त थिएनन् होला नि। उनी त सुदूरपश्चिमका नेता पनि त होलान्, तर उनले आँखा नदेखेझैँ गरे। धनगढीमा ८ अर्ब खर्च गरेर बनाइएको मेडिकल कलेजको पूर्वाधारको अवस्था देखेनन्। त्यसलाई बेवास्ता गरेर, अनेक नियम/कानुनको बन्धन लगाएर गेटा कलेजमा बन्न लागेको मेडिकल कलेजलाई उनले तुहाए अर्थात गर्भ पतन गराए।

८ अर्बको भवन अब केही वर्षपछि भत्किएर, गाईगोठे, चर्पी, लागु पदार्थ खाने युवाहरूको अखडा बन्नेछ। नेपाली जनताले तिरेका करबाट बनाइएको, हजारौँ रूख काटेर बनाएको, अनेक तरिकाले आफ्नो समय खर्चेर गेटा मेडिकल कलेजको भवन बनाउन आफ्नो ज्ञान, सिप, ऊर्जा खर्च गरेका डा. चेतराज पन्त र उनका साथीहरूको काम बिस्तारै धमिराले खानेछ भन्ने थाहा पाएर पनि देउवा बा, उनका आसेपासेहरूले केही वास्ता गरेनन्।

नेताहरू डँडेलधुरामा पो सानो मेडिकल कलेज खोल्ने अड्को थापिरहे। घाउ भए पनि हेलिकप्टर चढेर डँडेलधुराबाट काठमाडौँ आउँछन्, त्यहाँका नेता उस्तै परे प्लेनमा नै दिल्ली, सिंगापुर जान्छन्। तर सुदूरपश्चिमका जनता अस्पतालको अभावमा मर्ने, सुत्केरी, निमोनिया भएर घिटिघिटी परेको शिशु कुपोषणले गर्दा अकाल मर्न थालेका शिशुको उनीहरूलाई वास्ता हुँदैन। यतिसम्म देउवा र नेताहरू संवेदनशील हुँदा पनि सुदूरपश्चिमका जनता नबोल्ने किन होला ? किनभने सुदूरपश्चिमका जनताको मस्तिष्कमा कसरी भोक मेटाऊँ, कसरी मजदूरी गरेर पैसा कमाउँ, कसरी छाउपडीमा बसेकी आफ्नी श्रीमती र बच्चालाई बचाउने भन्ने नै हुन्छ। उसको आफ्नो अधिकारबारे के हो, मलाई संविधानले के अधिकार दिएको छ भनेर विचारविमर्श गर्ने त टाढाको कुरा।

सुदूरपश्चिमको स्वास्थ्य हेर्न धेरै टाढा जान पर्दैन थियो। देउवा बाले डोटी, डँडेलधुरा कैलालीका बच्चाको कुपोषण हेरे पुग्थ्यो तर हेलिकोप्टरमा उड्ने देउवा बालाई जमिनको अवस्था हेर्ने फुर्सद कहाँ हुनु ? सुदूरपश्चिमका जनताको यही सोझोपन वा मूखर्ताको फाइदा उठाएर देउवाले अरबौँको पूर्वाधारमा आँखा लगाएनन्, अनि ‘म डँडेलधुरामा नै मेडिकल कलेज खोल्छु’ भनेछन्। तैपनि जनता चूपचाप हेरिरहन्छन्। डँडेलधुराका जनताले पनि गेटा कलेजको पूर्वाधार देखेनन्, देउवाको आशा गरे, कठै। म पनि सुदूरपश्चिमकै एक महिला हो। मेरा बाजे १०० वर्षअघि काठमाडौँ आएका हुनाले मात्र म काठमाडौँको बासिन्दा भएँ। तर मेरो कति काम, अनुसन्धान सुदूरपश्चिममा भए। त्यही हिसाबले मैले यो लेख लेख्ने अधिकार लिएकी हुँ। कतिले भन्लान्, दुवै ठाउँमा मेडिकल कलेज खोले के भयो त ? केही समस्या छैन तर जन्मिन थालेको मेडिकल कलेजलाई जन्मिन नदिएर बेवास्ता गरेकाले, समस्या भएको छ।

मेडिकल कलेज गण्डकी, कर्णालीको जुम्लामा बन्दा देशको त्यस्तो ठूलो बन्न लागेको मेडिकल कलेजको सुरुवात नै हुन पाएन। अब अर्को ठूलो कुरा आएको छ प्रतिष्ठानको। सानो काम गर्न नसक्ने सरकारले किन त्यति ठूलो कुरा गर्ने होला ? मेडिकल कलेज खोलेर पछि प्रतिष्ठान बनाए पनि त होला। सुदूर पश्चिमका स्वास्थ्य तथ्यांकहरू शायद सुदूरपश्चिमकै नेतालाई थाहा छैन। किनभने उनीहरू यो तथ्यांकभित्र पर्दैनन्। यस्ता तथ्यांक त देखिएका अस्पताल वा स्वास्थ्य चौकीका मात्र हुन। गाउँघरका बाहिर नआएका तथ्यांकसमेत निकाल्ने हो भने त कति होलान् कति ?

सुदूरपश्चिमका मानिसलाई ‘मस्टो’(स्थानीय देउता) मा बडो विश्वास छ। शायद ती मस्टोलाई प्रार्थना गरेपछि नै सबैको रोग निको हुन्छ भने किन गेटाको मेडिकल कलेज खोल्न पैसा खर्च गर्नु भन्ने विचार पनि देउवाको भयो कि ? तर उनी डँडेलधुरामा चाहिँ मेडिकल कलेज खोलेरै छाड्नेवाला छन्। जहाँ मेडिकल कलेज खोल्ने पूर्वाधार छैन, जमिनको टुंगोसमेत लागेको छैन, त्यहाँ मेडिकल कलेज खोल्ने हुटहुटी भएकाहरूको आँखाले गेटा कलेजमा बनेको ठूलो पूर्वाधार किन नदेखेका होलान् ?

प्रतिक्रिया