कांग्रेस नेता जोशी र कोइरालामाथिको अनुशासन कारबाही फुकुवा

काठमाडौं । विभिन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवार बनेका तनहुँका नेपाली कांग्रेसका दुई नेता माथि गरिएको अनुशासन कारबाही फुकुवा गरिएको छ ।
कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गरेको हो ।
उपचुनावलाई लक्षित गरेर तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका कोइरालाको कारबाही फुकुवा भएको हो । ७० को संविधानसभा चुनावमा सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइराला त्यस यताका पार्टी सभापति समेत थिए ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले २०७९ अघि कारबाहीमा परेकालाई आममाफी दिने निर्णयबाट जोशी र कोइरालाको कारबाही फुकुवा भएको हो ।
कोइरालाले तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका थिए भने जोशीले वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका थिए ।
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्र रिक्त बनेको हो । सो क्षेत्रसहित चितवन २ र बारा २ मा आगामी बैशाख १० मा उपनिर्वाचन हुदैँछ । सोही निर्वाचनका लागि चैत्र २० गते मनोनयन दर्ताको मिति तोकिएको छ ।
प्रतिक्रिया