शुक्रबार, जेठ ४, २०८१

पोखराको पहिलो अस्पताल !

सुनील उलक २०७९ चैत २० गते ७:३२

वि.सं. २००२ सालतिर पोखरामा औलो तथा झाडापखालाको प्रकोप निकै बढेको थियो । १९९० तिर खुलेको बिन्द्यवासिनी मन्दिर नजिकैको बैद्यखानाले बैद्य औषधीबाट उपचार गरिदै थियो । साथै तेर्सापट्टीका बैद्यहरुले पनि उपचार गरिरहेका थिए । तर रोग अझ ब्यापक भए पछि राणा बडाहाकिम धनशम्शेरले गाँउघरमा पाइने जडिबुटीबाट गरिने होमियोप्याथिकको बैद्य उपचार भन्दा भरपर्दो र बिश्वासिलो भन्दै आधुनिक उपचार पद्धती एलोपेथिक उपचार गर्न बैद्यखानाको सुरुवात गरे ।

रानीपौवा महेन्द्र बटालियन रहेको अहिलेको आर्मी ब्यारेक रहेको स्थानमा मिलिसिया अड्डा थियो । सुरुमा सैनिकहरु मिलिसिया नै भनिन्थ्यो । त्यहि खरको झुप्रोमा पोखराको पहिलो अस्पताल खोलिएको थियो । यस अस्पताल (बैद्यखाना)मा कम्पाउण्डरको रुपमा गणेशलाल रञ्जित पोखरा आएका थिए । सेनामा जागीरे गणेशलाल केही महिनाको तालिम पछि पोखरामा आइपुगेका थिए । पोखरामा कोही बिज्ञ नभएको समय वहाँ नै पोखराको पहिलो डाक्टर झै भएका थिए । उनले एलोपेथिक दवाइबाट उपचार गर्दथे । यस अस्पतालको शुरुवातको केही समय पछि बिसं २००४ सालमा काठमाडौका दयाविर सिंह कंसाकारले पोखरामा पनि परोपकार औषधालयको शाखा खोलेका थिए ।

बि.सं. २००६ सालको पौष तिरको कुरा त्यतिबेला औषधी बिभागमा डाइरेक्टर थिए मेजर जनरल सुरशम्शेर जङ्गबहादुर राणा । यसै बेला अमेरिका स्थित “सिकागो नेचुरल हिस्ट्री म्यूजियम”को तर्फबाट नेपालमा डा. कार्ल इ टेलर आइ पुगेका थिए । नौतनवा हुदै नेपाल पसेका उनि केही समय पाल्पाको साइनिङ हस्पिटलमा सेवा गरे । तीन महिनाको नेपाल बसाइमा उनले पाल्पा पछि रिडी हुदै बलेवा बागलुङ हुदै जोमसोम सम्म पुगे भने त्यसपछि पोखरा आइपुगेका थिए । पोखरामा आइपुग्दा उनले पोखरामा अस्पतालको रुपमा रहेको चित्रमा देखाइएको साधारण खरको घरमा एक कम्पाउण्डरले सेवा गरिरहेको भेटे । केवल दुइ महिनाको साधारण तालिम प्राप्त गरेका ब्यक्ती नै अस्पतालका प्रमुख थिए । पोखराको केही समय बसाइका आधारमा डा. कार्ल इ टेलरले मेडिकल सर्भे अफ दि कालिगण्डकी एण्ड पोखरा भ्याली भनेर लेख नै तैयार पारेका थिए । करिव तीन महिनाको नेपाल बसाइमा डा. कार्ल इ टेलरले ८६६ बिरामीको उपचार गरेका थिए ।

तस्विरमा देखिएका तथा कार्ल इ टेलरले भेटेका कम्पाउण्डर नै स्व. गणेशलाल रञ्जित हुनुहुन्थ्यो । तस्विरमा अस्पताल (बैद्यखाना) अगाडी उभिनु भएको वहाँ नै हुनुहुन्छ । यो अस्पताल हालको शोभाभगवतीको मन्दिर भन्दा उत्तर पूर्वमा रहेको थियो । यो अस्पतालको पश्चिममा आकाशवाणी अड्डा खुलेको थियो । जसलाई पछि दुरसञ्चार भनियो र महेन्द्रपुल हुलाकसंगै स्थापना गरियो ।

बिस्तारको क्रममा दुरसञ्चारलाई स्थानको अभावले फेरी रानीपौवामा दुरसञ्चारको कार्यालय राखियो । यहाँ प्रसंग खरको झुप्रोको रुपमा रहेको अस्पतालसंगै पूर्व तर्फ देखिएको पक्की घरको गर्न चाहन्छु । यो घरमा के थियो भन्ने जानकारी बटुल्न रानीपौवा पुग्दा हाल रहेका वयोबृद्धहरुबाट पनि कुनै जानकारी पाउन सकिन । तर मेरो अनुमानमा यो घर नै वास्तवमा रानीपौवा हुनुपर्छ । यो मेरो अनुमान मात्र हो । पक्की ढुङ्गाको छानो भएको घर ब्यक्तिगत हुन सक्दैन भन्ने लाग्छ । राजा रणबहादुर शाहकी रानीले पोखरा आगमनको समय यस स्थानमा पौवा बनाइदिएको हुँदा नै यो ठाँउको नाम रानीपौवा रहन गएको हो ।

अहिले रानीपौवाको कुनै निशानी पनि बाकी भेटिदैन । तर नाम भने अझै पनि प्रख्यात नै छ । अहिले रानीपौवामा वास्तविक रानीले बनाइदिएको पौवाको बारेमा जानकारी राख्ने ब्यक्तिहरु नै भेट्न सकिएन । पौवा भएको भन्ने जानकारी केहीलाई भए पनि पौवाको बारेमा खासै बिस्तृत जानकारी उपलब्ध गराउन सक्ने भने कोही भेटिएन । तपाइहरुले यो पौवा बारेमा केही जानकारी सुन्नु भएको छ भने कमेन्टमा लेख्नु भइ सहयोग गरि दिनुहोला ।

कार्ल इ टेलर फर्किएको केही समय पछि कान्छी डाक्टर तथा ठूली डाक्टरको समुहको पोखरा आगमन भएको थियो । वहाँहरुको प्रयासले नै साइनिङ हस्पिटलको जन्म भएको थियो । यस सम्बन्धी सम्पूर्ण जानकारी डेभिड हकरले लेख्नुभएको “कान्छी डाक्टर रुथ वाटसन” नामक कान्छी डाक्टरको जीवनीको पुस्तकमा लेखिएको छ । युनिवर्सिटी अफ वैक्सीन-मिलवाउकीको संग्रहमा रहेका कार्ल इ टेलरको पोखरा बसाइमा खिचेका तस्विरहरु मेरो संग्रहमा छन् ।

प्रतिक्रिया