थारु समुदायले पाँच वर्षमा मनाउने कन्तरी पूजा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारु समुदायले हरेक पाँच वर्षमा धुमधामका साथ मनाउने संसारी (कन्तरी) पूजा सुरु भएको छ । थारु समुदायमा विशेष महत्त्वका साथ (कन्तरी) पूजा पर्वकै रूपमा मनाउने गरिन्छ । हरेक पाँच वर्षमा थारु समुदायले कन्तरी पूजा गर्ने र परिवारमा सुख शान्ति मिल्ने विश्वासका साथ पूजा गर्ने परम्परा रहेको कावासोती नगरपालिका–१५ का टीका चौधरीले बताए ।
चैत पूर्णिमाको दिन स्थानीयस्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थितिमा तीन दिन अघिदेखि गर्ने गरिएको छ । यो पूजा देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा गएर गर्ने गरिन्छ । श्रीथान कुमारवर्ती माई (देवी) संरक्षण समिति नवलपुरका सचिव पतिराम थनेतले यस वर्षको संसारी माईको पूजा सुरु भएको बताए ।
‘कन्तरी पूजा गर्दा देवीको पूजा गर्ने र डोलासहित हात्ती, घोडा र मानिसका मूर्ति बनाएर स्थानीयवासीको घरबाट मूर्तिलाई नारायणी नदिमा लगेर चोखो बनाई स्थानीयस्तरमा गाउँमा रहेको शाखा थानमा पु¥याएर मूर्ति स्थापना गरिन्छ’, उनले भने, “घरमूलीले सुरुमा थाली उठाइसकेपछि मात्र अरुले क्रमशः लाइनबद्ध तरिकाले उठाउने गरिन्छ, पूजा गर्ने स्थान पुगेपछि पनि घरमूलीदेखि गुरुले विधिवत् रूपमा पूजाआजा गर्ने गरिन्छ ।’
रोगव्याधि अन्त्यका लागि थारु समुदायले कन्तरी माई र संसारी माईको पूजा गर्ने परम्परा रहिआएको पुजारी गुनकुमार गुरौले बताए । ‘थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन्’, उनले भने, ‘जिल्लाको कावासोतीका विभिन्न स्थान, देवचुली डाँडा, गैँडाकोटको सिख्रौली, भेडाबारी, विनयी त्रिवेणीको सर्दी गरी ११ स्थानमा कुलदेवताको देवीथान स्थापना गरी पूजाआजा गरिने छ ।’ नवलपरासी(बर्दघाट सुस्तापूर्व) र चितवनका थारु समुदाय पूर्णिमाको अघिल्लो रात कृतिपुरमा बास बसी २३ गते अर्थात चैत पूर्णिमाको दिन संसारी माईको पूजा गर्ने तयारी गरिएको छ । सोही स्थानमा पाँच वर्षमा एक पटक भने कन्तरी माईको पूजा गर्ने प्रचलन थारु समुदायमा रहेको छ । गीत गाउँदै पूजा गर्ने र पूजा गरिसकेपछि पुनः सबै घरमा गई थारुहरूको परम्पराअनुसार पूजा गर्ने स्थानमा खसी, बोका, कुखुरालाई बलि दिएर साँझ घरमा खानाखाने कावासोती–१० का स्थानीय चन्द्रा महतोले बताए ।
‘थारुहरूले हरेक पर्वमा पुज्ने अग्नि देवताका लागि पनि भाग छुट्याइन्छ, परिवारका सबै सदस्यसँगै बसेर रमाइलो गर्दै एक अर्कामा माया र सद्भाव साटासाट गर्दै खाने र रमाउने गरिन्छ’, उनले भने । थारु जातिको इतिहास प्रारम्भ भएदेखि थारु समुदायले उत्साहका साथ हरेक पाँच वर्षमा कन्तरी पूजा मनाउँदै आएको थारु अगुवा खुसीराम महतोले बताए ।
‘थारु जातिको उत्पत्ति कहाँ र कसरी भयो ? थारुहरूको सभ्यताको विकास कसरी भयो ? भन्ने जस्ता कुराको स्पष्ट चर्चा पूजा अवधिभर गर्ने परम्परा रहेको छ’, उनले भने । पाण्डव थारु समुदायको सबभन्दा ठूलो देवता भएकाले कन्तरी पूजा गरेपछि घरपरिवारमा सुख शान्त मिल्ने र रोगव्याधि नलाग्ने धार्मिक विश्वास रहेको महतोले बताए । थारु जातिको मौलिक तथा प्राचीन कला, संस्कृति युवा पुस्तामा हराउँदै जान थालेको पनि थारु अगुवा महतोले चिन्ता व्यक्त गरे । रासस
प्रतिक्रिया