पोखरामा फेवा नववर्ष महोत्सव हुने

पोखरा । होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए ।
उनले नयाँ वर्षमा पोखरा जाने पर्यटकलाई लक्षित गरी होटल बुकिङमा २० प्रतिशत छुट दिएको बताए । ‘कोरोनाबाट प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पर्यटन आगमनमा असर परेको छ’, उनले भने ।
अध्यक्ष सुवेदीले आन्तरिक पर्यटन प्रवद्र्धन गरी पोखराको पर्यटनलाई चलायमान बनाउन होटल सङ्घ पोखरा लागेको बताए । बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र धराशयी बन्दै गएको उनको भनाइ छ ।
होटल सङ्घ नेपालका द्वितीय उपाध्यक्ष प्रवीनबहादुर पाण्डेले नेपाल सरकारले पर्यटक भित्र्याउनका लागि विशेष पहल गर्नुपर्ने बताए । पर्यटन क्षेत्रको प्रवद्र्धन लागि राज्य र व्यवसायी एकाकार भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने होटल सङ्घ पोखराले जनाएको छ ।
प्रतिक्रिया