शनिबार, जेठ ५, २०८१

यसरी घट्यो टिम्बुरवोटे घटना 

बाबुराम आचार्य २०७९ चैत २५ गते ८:००

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं.– ११ तिङला, साबिक सोलुखुम्बु जिल्लाको तिङला गा.वि.स. वडा नंं–६ मा टिम्वुरवोटे पर्दछ । यसले सोलुखुम्बु जिल्ला र ओखलढुङ्गा दुई जिल्लालाई जोड्दछ । समुद्री सतहबाट लगभग ८००० फिटको उचाइमा रहेको सो स्थान घना जङ्गलको बिचमा पर्दछ । यस ओडारको महत्त्व भनेको २०३१ साल पौष १ गते पछि प्रकट भएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पु¥याएको यस पवित्र स्थलको परिचय अहिले पृथक् रहन पुगेको छ ।

वि.सं.२००३ सालबाट नेपाली काङ्ग्रेसले प्रारम्भ गरेको एकतन्त्रीय जहाँनीया राणा शासनको विरुद्धको सङ्घर्षले २००७ साल फाल्गुन ७ गते प्रजातन्त्रको स्थापना गर्यो । प्रजातन्त्रको स्थापना विभिन्न षड्यन्त्रका बिच राजनीति बराल्ने प्रयत्नहरू भइरहँदा काङ्ग्रेसले निरन्तर आन्दोलन जारी राख्यो र फलस्वरूप वि.सं २०१५ सालमा आम निर्वाचन भयो । सो निर्वाचनमा काङ्ग्रेसले प्रस्ट बहुमत प्राप्त भई नेपालमा युग पुरुष वि.पी.कोइरालाको नेतृत्वमा पहिलो पटक जन निर्वाचित सरकार गठन भयो । छोटो समयमा शिक्षा, स्वास्थ्य, विकास र समृद्धिको यात्रामा सरकारले काम गर्यो । अनेकौँ विभेद, कुरीति, असमानता, थिचोमिचोको पूर्ण रूपमा अन्त्य भयो ।

देश विकासोन्मुख  सूचिमा सूचीकृत भयो । इतिहास हेर्दा त्यो समय नवीन प्रजातान्त्रिक नेपालको निमार्णको महत्त्वपूर्ण कालखण्ड मानिन्छ । २००७ सालको प्रजातन्त्र प्राप्ति २०१५ सालको आम निर्वाचनको परिमाण र त्यस पछिको युगान्तकारी उपलब्धि पछि तत्कालीन राजा त्यति सुखी थिएनन् र इमानदार पनि देखिएनन् । राजाले २०१७ साल पुस १ गते तत्कालीन प्रजातान्त्रिक संविधानको खारेजी र संसद् विघटन र वि.पी. कोइरालाको नेतृत्वको सरकारलाई अपदस्थ गरी वि.पी. सहित मन्त्री, सांसदहरू र दलका नेतालाई कैदमा राखी निर्दय पंचायाती हुकुमी शासनको सुरुवात गरे ।

त्यसरी सुरुवात गरेको हुकुमी शासनको विरुद्धमा निरन्तर राजनीतिक सङ्घर्षहरू जारी रहे । सो समयमा कम्युनिस्ट र प्रजातान्त्रिक आन्दोलनहरू विभाजित भएको, सोभियत सङ्घ र अमेरिका बिचको शीतयुद्ध, बर्मा र पाकिस्तान जस्ता देशमा भएको सैनिक शासन, भारतको आन्तरिक समस्या र स्वार्थ जस्ता कारणले नेपालको प्रजातान्त्रिक पक्ष त्यति बलियो भएन । यसबाट राजा थप बलियो बन्दै गए ।

नेपाली काङ्ग्रेसले २०१८ सालमा  सशस्त्र सङ्घर्षको सुरुवात नै गर्यो । त्यो सङ्घर्ष देशव्यापी भयो । त्यस समयमा सयौँ ठाउँमा दोहोरो भिडन्त पनि भयो र काङ्ग्रेसका सयौँ कार्यकर्ताहरूले बलिदान गरे । वि.सं २०१८–१९को सशस्त्र आन्दोलन, वि.सं २०२६–०२८ को झापा आन्दोलन, वि.सं २०२९–०३१ को सशस्त्र आन्दोलन त्यो समयका चर्चित विद्रोह थिए । २०२५ सालमा वि.पी. जेलबाट छुटेपछि भारत निर्वाचनमा बस्नुभयो र सङ्घर्षको राजनीति तयार पार्नुभयो । 

आन्दोलन चर्कीरहेकोे वेलामा तत्कालीन राजा महेन्द्रको निधन भई राजा वीरेन्द्र नेतृत्वमा आए । सो पछि केही सुधारको अपेक्षा काङ्ग्रेसले गरे पनि त्यसो भएन । त्यसपछि वि.पी. कोइराला अन्तर्राष्ट्रिय सम्पर्कमा लाग्नुभयो भने गिरिजा प्रसाद कोइराला सशस्त्र आन्दोलनको तयारीमा जुट्नु भयो । यसैबिच २०३० सालमा भारु ३० लाख सहित प्लेन अपहरण गरियो । त्यही रकमबाट क्रान्तिकारी फौज निर्माण गर्न सुरु गरियो र देशका विभिन्न ठाउँमा आक्रमण, प्रत्याक्रमणहरू सुरु भयो । सो समयमा धेरै हिंसात्मक घटनाहरू घटे । विराटनगरमा राजामाथि बम हानियो । हरिपुर काण्ड घट्यो, धेरै बलिदानहरू भए र यही क्रममा बलिदानको गौरवपूर्ण इतिहास बन्यो, पवित्र टिम्वुरवोटे । 

२०३१ साल मङ्सिर १० गते चन्दनपारि भारतमा नारायण बाबु तिवारीको घरमा काङ्ग्रेसका नेताहरू भेला भई ३५ जनाको सशस्त्र दस्ता तयार भयो र क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा नेपाली काङ्ग्रेसको एउटा दस्ता जयनगरबाट नेपालको तराई र भित्री मधेस हुँदै ओखलढुङ्गा कब्जा गर्न दृढ सङ्कल्पका साथ अगाडी बढ्यो । त्यो टोली कहिले जङ्गल, कहिले गाउँले मानिसहरूको घरमा बास बस्दै २०३१ साल मङ्सिर १६ गते ओखलढुङ्गा जिल्ला प्रवेश ग¥यो र माझी गाउँको जङ्गलमा बास बस्यो । १७ गते माझी गाउँका बुद्धिमान तामाङको घरमा खाना खाएर सिम्ले भन्ने जङ्गलमा बास बस्यो । १८ गते बिहान मोलुङ खोलाको बाटो हुदैं जाँदा १९ गते टोली धोटेको जङ्गलमा पुग्यो र २० गते मोलुङ पारिको धारे साइँलीको घरमा बास बस्यो । २१ गते बिहान पेशल कुमार दाहाललाई चन्द्रकान्त दाहाल र भैरव राईलाई पत्र लिई भेट्न जाँदा पेशल कुमार दाहाललाई सेनाको टोलीले भेटी गोली हानी हत्या गरेको सहिद अभिलेखमा उल्लेख छ ।

२०३१ साल मङ्सिर २४ गते थाम डाँडामा पुगी टोली ४ समूहमा विभाजित भयो र ओखलढुङ्गा आक्रमणको तयारी गरियो । तर ओखलढुङ्गाका तत्कालीन विष्णु दल गुल्मलाई २०३१ मङ्सिर १६ गते नै आन्दोलनकारी जिल्ला प्रवेश गरेको सूचना पाई आवश्यक तयारी पुरा गरेका थिए । उच्च सुरक्षा सतर्कता अपनाएको जानकारी पाएपछि ओखलढुङ्गा आक्रमणको प्रयास विफल भयो । त्यसपछि टोली सोलुखुम्बुको सल्लेरी आक्रमण गर्ने उद्देश्यका साथ सोलुखुम्बु तर्फ प्रस्थान भयो । २८ गते सोलुखुम्बुको आङपाङमा एक खाली घरमा खाना खाएर बास बस्यो । २९ गते बिहान भू.पु.प्रहरी छत्र बहादुरको घरमा खाना खाई टोली टिम्वुरवोटे ओडार पुगी बास बसी भोलिपल्ट सल्लेरी आक्रमण गरी बैक लुट्ने योजना रहेको जानकारवालाहरुको भनाइ छ । 

उता आन्दोलनकारी जिल्ला प्रवेश गरेको सुराकी पाएपछि ओखलढुङ्गाको विष्णु दल गुल्मले निगरानीका लागी प्रशस्त मात्रामा सेना र प्रहरी परिचालन गरेको थियो । सादा पोसाकमा सेना र प्रहरीलाई विभिन्न घटनाहरूको जानकारी लिन र दैनिक प्रतिवेदन पेस गर्ने गरी चौतर्फी परिचालन गरियो । आन्दोलनकारी आउने सम्भावित विभिन्न स्थानहरूमा एम्बुस थाप्न लगाइयो । टोक्सेलघाट र च्यानमको पुल नजिकै एम्बुस थापियो तर सेनाको योजना विफल भयो । पछि पुनः क्रान्तिकारीहरू पुस १ गते सल्लेरी आक्रमण गरी बैङ्क लुट्ने योजना बनाएर सल्लेरी प्रवेश गरेको भन्ने सुराकी पाएपछि विष्णु दल गुल्मले सल्लेरी सुरक्षाका लागी एक टोली सल्लेरी पठायो । मङ्सिर १९ गते काठमाडौँबाट हेलिकप्टरमा पनि सेना सल्लेरी पु¥याईयो र क्रान्तिकारीहरूको व्यापक खोजी सुरु गरियो । साथै साल्मेको पुलमा पनि एम्बुस थापी क्रान्तिकारीहरूलाई खतम पार्न भनी एक विल्दारको नेतृत्वमा एम्बुस थाप्न पठाइयो । पत्ताले आसपासको भूगोलको जानकारहरुलाई त्यस तर्फ पटाइयो ।

 यसरी सूचना पाए सेनाले 

तत्कालीन शाही नेपाली सेनाले २०३१ मङ्सिर ३० गते टिम्बुरबोटेमा क्रान्तिकारीहरू बास बसेका छन् भन्ने सुराक पाएका सन्दर्भमा विभिन्न भनाइहरू पाइन्छन्, टिम्बुरवोटे सहिद स्मृति पार्क प्रतिष्ठानको सहिद अभिलेख समितिले प्रकाशन गरेको सहिद अभिलेखमा । स्थानीय उपप्रधानपञ्चबाट तिङलाको जङ्गलमा बास बसेका छन् भन्ने खबर आएको थियो । स्थानसँग परिचित सेना र प्रहरीका जवानहरूलाई सिभिल पोसाकमा हतियार लुकाएर आतंककारीहरुको सुराकी कार्यमा पठाएका टोलीले २०३१ साल मङ्सिर ३० गते टिम्बुरबोटे ओडारमा नै बास बस्ने, क्रान्तिकारीहरूकै सदस्य भूपू प्रहरी हवलदार शमशेर बहादुर खसी खरिद गर्न सोलुखुम्बुको सदरमुकाम सल्लेरी जाँदै गर्दा पक्राउ गरेको र निजबाट नै सम्पूर्ण विवरण प्राप्त भएको भन्ने उल्लेख छ ।

नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुको मुख पत्र नवक्रान्त्रि अङ्क २ मा पुरुषोत्तम बस्नेतले दुर्ई दिन पहिले छुट्टिएका शमशेर बहादुर कार्की २०३१ साल मङ्सिर महिनाको अन्तिम दिन टिम्बुरवोटे ओडार आइपुग्यो । उनले त्यहाँका स्थानीय साथीहरूलाई नि खबर दिने र ती समेतको सहयोगले मात्र सल्लेरी आक्रमण गर्न उपयुक्त हुने भने । त्यसपछि सो योजना एक दिन पछि सारियो । शमशेर बहादुर राती ओडारबाट आफ्नो घर तिङ्ला तिर गए तर घर पुग्ने बित्तिकै सेना र प्रहरीको गस्तीले उनलाई पक्राउ ग¥यो । उनलाई अस्वाभाविक यातना दिएर वा उनले आफ्नै गोपनीयता भङ्ग गरेर सबै कुरा सेना र प्रहरीले थाहा पाई पौष १ गते बिहान उज्यालो नहुँदै ओडारका आक्रमण गरियो भनी उल्लेख गर्नुभएको छ ।

उता घटनासगं संम्वन्धित केही जानकारहरू जब क्रान्तिकारीहरूको टोली टिम्बुरवोटे ओडारमा पुगेपछि क्याप्टेन यज्ञबहादुर थापाबाट सोलुखुम्बुको केरुङ, तिङ्ला आसपासमा घर भएकाहरू घर परिवार भेटघाटका लागी जानु र फर्केर आउँदा आवश्यक खानाको प्रबन्ध गर्नु भन्ने आदेश भएको । शमशेर बहादुर कार्की, अम्बर बहादुर खड्काहरू ऋाफ्नो घर जानु भएको थियो । घरबाट फर्केर आउँदा गाउँभरिको सबैले दही ध्यू, १/२ ओटा खसी र सातु ल्याउने सल्लाह भएको थियो । त्यही सल्लाह बमोजिम शमशेर बहादुर कार्कीले क्याप्टेन थापासँग केही भारतीय रुपैयाँ लिएर रमिते बजार गएका थिए । बजारमा आवश्यक सामान किन्दा भारतीय रुपैयाँ दिएका थिए । पछि पसलेले आफुसँग भारतीय रुपैयाँ भएको हल्ला गरै । 

उनको हल्ला तत्कालीन पञ्च दीप बहादुर कार्कीकोमा पनि पुग्यो । उनले आएर पसलेसँग बुझ्दा क्रान्तिकारीका सदस्य शमशेर बहादुरले दिएको भन्ने बुझेपछि पञ्चले तत्कालै सल्लेरीमा नेपाली सेनालाई खबर पु¥याए । सो खबर पाउनासाथ सल्लेरीबाट सेना र प्रहरीको एक टोली तिङ्ला आयो । तिङलामा सोधपुछ गरी उक्त भारतीय रुपैयाँ शमशेर बहादुरले नै प्रयोग गरेको हो भन्ने पुष्टि भयो र निजको घर जाँदा शमशेर बहादुर घरमै रहेछन् । उनलाई चारैतिरवाट सेना र प्रहरीले नियन्त्रणमा लिएर चरम यातना दिएपछि सबै कुरा खुल्यो । त्यसपछि  सेनाले थप हतियार सहित फौज झिकायो र निज कार्कीलाई लिएर पौष १ गते बिहानै टिम्बुरवोटे आक्रमण गर्यो भन्ने बताउँछन् ।

यसरी यथार्थ जानकारी पाएपछि सेना र प्रहरीको ठुलो सङ्ख्यामा टिम्बुरबोटे ओडारमा चारैतिरवाट घेरा हाली २०३१ साल पुस १ गते बिहान उज्यालो हुने समयमा आक्रमण सुरु गर्यो । ओडारको माथिल्लो भागबाट लगातार ताकेर प्रहार गरियो । चारैतिर किनारबाट निरन्तर गोली हानियो । चारैतिरबाट गिर्नेट र गोली चलेपछि योद्धाहरू भाग्न समेत पाएनन् । सेनाको आक्रमण सुरु भएपछि क्रान्तिकारी पनि प्रत्याक्रमण गर्न सुरु गरे । नेपाली काङ्ग्रेस जिन्दाबाद, जय नेपाल जस्ता नाराहरू लगाए र निरन्तर गोली हानिरहे । आफूसँग भएको गोली सकिएपछि भाग्न सक्ने जति भाग्नु भन्ने आदेश भयो क्या. थापाबाट । तर ३/४ फिट अग्लो हिउँ र सेनाको घेराबन्दीबाट भाग्न असंभवनै थियो । तर भाग्यवश क्या. थापा, लोक बहादुर गुरुङ र जसधन राई मात्र भाग्न सफल हुनुभयो । धेरै योद्धाहरू जीवनको अन्तिम क्षण सम्म लडिरहे, ओडारको भित्र गिर्नेट र बमको धुवाँले केही देखिन छाड्यो र क्रान्तिकारी योद्धाहरूले प्रत्याक्रमण गर्न नसकेपछि सेनाले नजिकै आई घाइते अवस्थामा रहेका प्रजातान्त्रिक योद्धाहरूलाई  अत्यन्तै क्रूर र अमानवीय हिसाबले ओडारमा हत्या गर्‍यो ।

सो घटनाबाट भाग्न सफल क्याप्टेन थापालाई चिसंखुवाट तत्कालीन रुक्माङगत कटवाल (हालको पूर्वप्रधान सेनापति) नेतृत्वको टोलीले पक्राउ गरेपछि २०३५ साल माघ २६ गते जेल सार्ने बहानामा कमला नदिको किनारामा लगेर गोली हानी हत्या गरियो । भाग्यवश रुम्जाटार निवासी लोक बहादुर गुरुङ र भोजपुर निवासी जसधन राई जीवितै हुनुहुन्छ । घाइते अवस्थामा पक्राउ परेका राम प्रसाद राईलाई पक्राउ गरी सल्लेरी लगेर लामो यातना दिई २०३१ पौष ३ गते राती गोली हानी मारियो । अम्बर बहादुर खड्का, शमशेर बहादुर कार्की, हर्क बहादुर कार्की, भीम बहादुर कटवाल र राम कुमार सुनुवारलाई पक्राउ गरी सल्लेरी लगेर जेल चलान गर्ने निहुँमा टोक्सेलमा पुर्याएर अत्यन्तै निर्मम तरिकाबाट हत्या गरियो । भागेका साथीहरू खोजी गने क्रममा तिङ्लामा केशर कुलुङ, टिम्बुरवोटे पुग्दा आफ्ना साथीहरूले वीरगति पाइसकेको र सवैतिर सेनाले घेरा हालिरहेको बुझेपछि त्यहाँबाट भागेर ३ महिनामा बनारस पुगेको बताउनुहुन्छ ।

यसरी यो घटना प्रजातन्त्र पुनर्स्थापनाको लागी भएको लामो सङ्घर्षका क्रममा सबैभन्दा बीभत्स एवं करुणादायी घटना थियो । यस घटनामा शाहदत प्राप्त सबै साहसी वीर सहिदहरूले प्रजातन्त्रको लागी आफ्नो प्राण हरण गर्नुभयो । उहाँहरूको योगदान निष्ठा, साहस र सङ्कल्पलाई आम काङ्ग्रेसले कहिल्यै भुल्नु हुँदैन । आफ्नो रगतले प्रजातन्त्र साटेका वीर सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली । 

टिम्वुरवाटे घटनासगं संम्वन्धित सहिदहरू

पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनः प्राप्तिका लागी योगदान दिएका र टिम्वुरवाटे घटनासँग संम्वन्धित सहिदहरूको यकिन तथ्याङ्क कतै भेटिएन । विभिन्न स्रोतहरूको अध्ययन र जीवित योद्धाहरू सँग कुराकानी गर्दा फरक–फरक विवरणहरु पाइन्छ । टिम्बुरबोटे घटना स्थलमा १३ जना र सो घटना सगं सम्बन्धित अन्य स्थानहरूमा ४५ जना वीर योद्धाहरूले शाहदत पाएका छन् । टिम्वुरवाटे सहिद अभिलेख समितिले प्रस्तुत गरेको प्रतिवेदन र राजनीति पीडित सहायता समिति–२०५१ र जीवित योद्धा केशर थुलुङ सँगको कुराकानीको आधारमा  निम्नानुसारका विवरण तयार पारिएको छ ।

१) क्या. यक्ष बहादुर थापा

जन्म मिति : वि.सं १९७४ कार्तिक १५ गते

ठेगाना : छहरे, ओखलढुङ्गा

शाहदत : २०३५ माघ २६ (कमल नदीको किनारामा)

२) अम्बर बहादुर खड्का

जन्म मिति : वि.सं १९७४

ठेगाना : तिङ्ला–७, सोलुखुम्बु

शाहदत : २०३१ माघ ३ गते टोक्सेलघाट 

३) भीम बहादुर कटवाल

जन्म मिति : वि.सं २०१६ श्रावण

ठेगाना : तिङ्ला–७ सोलुखुम्बु

शाहदत : २०३१ माघ ३ गते टोक्सेलघाट 

४) नेत्र बहादुर कार्की

जन्म मिति : वि.सं २०१० असोज

ठेगाना : तिङ्ला–७ सोलुखुम्बु

शाहदत : २०३१ पुस १ गते (टिम्वुरवोटे)

५)  राम कुमार सुनुवार

जन्म मिति : वि.सं २०१२ मङ्सिर

ठेगाना : तिङ्ला–७ सोलुखुम्बु

शाहदत : २०३१ माघ ३ गते टोक्सेलघाट

६) शमशेर बहादुर कार्की

जन्म मिति : वि.सं २००२ पुस

ठेगाना : तिङ्ला–७ सोलुखुम्बु

शाहदत : २०३१ माघ ३ गते (टोक्सेलघाट)

७) भविन्द्र बहादुर बस्नेत

जन्म मिति : वि.सं २००५

ठेगाना : कांगेल–२, सोलुखुम्बु

शाहदत : २०३२ वैशाख थानकोट, काठमाडौं

८) मान बहादुर बखिम लिम्बु

जन्म मिति : वि.सं १९८९ असोज

ठेगाना : सिखौचा–४ ताप्लेजुङ

शाहदत : २०३१ पुस १ गते (टिम्वुरवोटे)

९) हर्क बहादुर कार्की (काजी)

जन्म मिति : वि.सं २०१०

ठेगाना : तिङ्ला–७ सोलुखुम्बु

शाहदत : २०३१ माघ ३ गते टोक्सेलघाट

१०) शिव कुमार राई

जन्म मिति : वि.सं २००२ असोज २५ गते

ठेगाना : खातैम्मा, रावा खोटाङ

शाहदत : २०३१ पुस १ गते टिम्बुरवोटे

११) अगम मणि राई

जन्म मिति : १९८७ फागुन १२ गते

ठेगाना : भदौरे, खोटाङ

शाहदत : २०३१ पुस ७ गते सल्लेरी (भाग्ने क्रममा ठाडेमा मारिएको भन्ने पनि भनाई छ ।)

१२) पेशल कुमार दाहाल

जन्म मिति : २००९ वैशाख २५ गते

ठेगाना : कुन्तादेवी, झागरपुर, ओखलढुङ्गा

शाहदत : २०३१ मङ्सिर २१ गते (श्री चउरको जङ्गल)

१३) कृष्ण बहादुर लिम्बु

जन्म मिति : १९९७ श्रावण ४ गते

ठेगाना : साप्चुङ, ताप्लेजुङ

शाहदत : अभिलेखमा नभेटिएको

१४) ढक बहादुर राई

जन्म मिति : १९९४ चैत्र ४ गते

ठेगाना : खतौम्छा, खोटाङ

शाहदत : अभिलेखमा नभेटिएको

१५) प्रजालाल राई

जन्म मिति : २००७ फागुन ७ गते

ठेगाना : धारापानी, धनकुटा

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

१६) पदम प्रकाश पुरी

जन्म मिति : २००८ पुस १५ गते

ठेगाना : अर्खौले, खोटाङ

शाहदत : २०३१ पुस ७ गते (लगलगे जङ्गल ओखलढुङ्गा)

१७) श्याम गुरुङ

जन्म मिति : २००१ वैशाख १० गते

ठेगाना : डुम्रे, खोटाङ

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

१८) महेश कुमार कोइराला

जन्म मिति : २०११ वैशाख २८ गते

ठेगाना : रात्माटे, छहरे, ओखलढुङ्गा

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

१९) माइला राई (पूर्ण बहादुर)

जन्म मिति : २००८

ठेगाना : ओखलढुङ्गा

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

२०) राम प्रसाद उपाध्याय –पौडेल)

जन्म मिति : २००४ वैशाख ५ गते

ठेगाना : उदयपुर गढी, उदयपुर

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

२१) लक्ष्मण उपाध्याय (पौडेल)

जन्म मिति : २००४ वैशाख ५ गते

ठेगाना : उदयपुर गढी, उदयपुर

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

२२) लाल बहादुर थापा

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : प्रकाशपुर–९, सुनसरी

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

२३) होमशेर राई

जन्म मिति ः अभिलेखमा नभेटिएको

ठेगाना : माखलफेदी, खोटाङ

शाहदत : २०३१ माघ २ गते (टोक्सेल)

२४) होमन प्रसाद राई

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : माखलफेदी, खोटाङ

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

२५) मान बहादुर मगर

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : प्रकाशपुर–९ सुनसरी

शाहदत : २०३१ पुस १ गते (टिम्बुरवोटे)

२६) कर्ण बहादुर बस्नेत 

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : दिक्तेल खोटाङ

शाहदत : २०३२ वैशाख (थानकोट)

२७) राम प्रसाद राई

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : धरान, सुनसरी

शाहदत : २०३१ पुस ३ गते (सल्लेरी)

२८) चन्द्र बहादुर तामाङ

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : रातमाटे, ओखलढुङ्गा

शाहदत : अभिलेखमा नभेटिएको

२९) ढाक बहादुर गुरुङ

 जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : दिक्तेल, खोटाङ

शाहदत : अभिलेखमा नभेटिएको

३०) चक्र बहादुर तामाङ

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : धरान, सुनसरी

शाहदत : अभिलेखमा नभेटिएको

३१) केशव कुमार दाहाल

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : ओखलढुङ्गा

शाहदत : अभिलेखमा नभेटिएको

३२) टिकाराम राई

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : धरान, सुनसरी

शाहदत : २०३१ माघ ३ गते (टोक्सेल)

३३) मदन बहादुर राई

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : वाक्सिला, खोटाङ

शाहदत : २०३१ पुस १ गते (टिम्बुरबोटे)

३४) अगमशेर  राई

जन्म मिति : अभिलेखमा नभेटिएको

ठेगाना : खार्तेम्सा, खोटाङ

शाहदत : २०३१ माघ ३ गते (टोक्सेल)

घटना स्थलमै भएर भाग्न सफल भएका जीवित योद्धाहरू :

१) लोक बहादुर गुरुङ

जन्म मिति : वि.स. १९९८ कार्त्तिक पूर्णमा

ठेगाना : रुम्जाटार, ओखलढुङ्गा

२) जसधन राई

जन्म मिति : वि.सं. २०५० ज्येष्ठ ४ गते

ठेगाना : रातीवास, भोजपुर

घटनासगं सम्बन्धित अन्य योद्धाहरू :

घटनामा प्रत्यक्ष संलग्न भई अदालतबाट मृत्युदण्डको सजाय पाएर निर्वास जीवन बिताएका योद्धाहरू

गिरिजा प्रसाद कोइराला, नोना कोइराला, लोक बहादुर गुरुङ, जसधन राई, केशर थुलुङ, गोपाल राई, बुद्धि बहादुर धिमाल, महेश कर्माचा, दीप देवान ।

उक्त घटनासँग संलग्न भएकाले ५ वर्ष सेन्टर जेलमा यातना र १ हजार जरिवाना परेकाहरू

अडिमर्दन थापा मगर, भीम बहादुर अधिकारी

सोलु ओखलढुङ्गा हुँदै सिराहा जेलमा १३ महिना जेलजिवन बिताएकाहरू

एक बहादुर गुरुङ, गडुलध्वोज थापा, सिताराम कार्की, बम बहादुर राई, दुर्गाप्रसाद राई

ओखलढुङ्गा सोलु हुँदै सेन्टर जेलमा एक वर्ष जेलजिवन बिताएकाहरू

बलबहादुर राई, दत्तसिं कार्की, भागिवन्त राई, लक्ष्मण कार्की, भिमराज थापा, चन्द्रकान्त दाहाल, भैरवबहादुर राई, पर्शुराम अधिकारी, अमृतबहादुर कार्की ।

सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट टिम्बुरबोटे घटनामा पक्राउ परि ६ महिना जेल जीवन तथा तारेख सजाय भोगेकाहरू

जहरबहादुर मगर, देव बहादुर बस्नेत, ज्वाला भट्टराई, प्रभुराम बस्नेत, प्रेम राज राई, बिजुली श्रेष्ठ, दान बहादुर थापा, लाक्पागेलु शेर्पा

पक्राउ निगरानी तथा तारिख सजाय पाउनेहरू

तिर्थसी राई, प्रेम थापा, रत्न बहादुर गुरुङ, डम्बर बहादुर गुरुङ, नरबहादुर गुरुङ, टिकाराम अधिकारी,

जागिर खोसुवा तथा तारिख सजाय भोग्ने

भीम प्रकाश कार्की

(अन्वेषक आचार्य नेपाल विद्यार्थी सोलुखुम्बुका नेता समेत हुन् ।)

प्रतिक्रिया