महानगरले रामजानकी मन्दिर अतिक्रमण गरेर बनाएको संरचनामा चलायो डोजर

काठमाडौं । वीरगञ्ज महानगरपालिले वडा नं. १० स्थित घडिअर्वा रामजानकी मन्दिरको जग्गामा भएको अतिक्रमण हटाएको छ । अतिक्रमण गरी बनाइएको संरचना महानगरले शनिबार डोजरको सहायताले हटाएको हो ।
गएको फागुन ४ गते पुजारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरले अदालतमा निवेदन दिए पछि शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै शनिबार अतिक्रमण हटाइएको हो ।
गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर प्रवेशमा रोक लगाएर अतिक्रमण गरि निर्माण गरिएको पक्कि संरचनामा कथित पुजारीले भाडा असुलि गर्दै आएका थिए । महानरपालिकाका प्रमुख राजेशमान सिंहले मठमन्दिर तथा सार्वजनिक, ऐलानी जग्गा खोजी अभियान नै चलाएर अहिले अतिक्रमण हटाउँदै आएका छन् ।
अतिक्रमण हटाउन महानगर प्रमुख सिंह आफैं डोजरसहित पुगेका थिए । वि. सं.१९८२ देखि रामजानकी मन्दिरकै नाममा रहेको यो जग्गामा कथित पुजारी तिवारीले गएको तीन दसक भन्दा बढी समयदेखि मन्दिर नै बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर भाडा लगाएका थिए ।
अदालतले महानगरकै पक्षमा आदेश दिएसंगै अब सबै अतिक्रमित संरचना हटाएर मन्दिरलाई पुरानै संरचनामा फर्काएर दैनिक पुजापाठ हुने गरि संचालनमा ल्याउने महानगर प्मुख सिंहले बताए ।
प्रतिक्रिया