शान्ति प्रक्रियादेखि भ्रष्टाचार न्यूनीकरणसम्मका मुद्दामा बहस

नेपालखोज २०७९ चैत २७ गते १५:१६

काठमाडौं । राष्ट्रियसभामा शान्ति प्रक्रिया, सामुदायिक वन, मल, आर्थिक सङ्कट, न्यूनतम साझा कार्यक्रम, लैङ्गिक मुद्दा, निर्वाचन क्षेत्र र मतदाताबीचको तादम्यताको विषयले छलफलका लागि प्रवेश पाएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सहभागी वक्ताले घाइते प्रहरीको उपचार, सीमा क्षेत्रमा भइरहेको लुटपाट, शान्ति सम्झौता, देशको अनुदान र ऋण, सुशासन, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाका महेशकुमार महराले सहायक हवल्दार हर्क विष्ट कामका सिलसिलामा घाइते हुँदा पनि राज्यबाट उपचार नपाएर अस्पतालमा अप्ठ्यारो स्थितिमा उपचार गरिरहेको भनी सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले राज्य सबैको अभिभावक भएकाले कसैप्रति लाखा र पाखाको व्यवहार नगरी सबै जनताप्रति समान व्यवहार र उत्तरदायी हुन सरकारलाई सुझाव दिए । सदस्य महराले सङ्क्रमणकालीन न्यायनिरुपण र शान्ति सम्झौतामा उल्लेखित विषय टुङ्ग्याउने कार्यलाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए ।

सभाका सदस्य दिलकुमारी थापाले व्यवस्था बदलिए पनि समाजमा कतिपय घटनामा सोच र व्यवहार रुपान्तरण गर्न निकै कठिनाइ देखिएकाले त्यसमा सुधारको खाँचो औँल्याईन् । किसानका उत्पादनको बजार र समयमै बीउबिजन र मलखादको व्यवस्था नहुँदा निरासा उत्पन्न भएको बताउँदै उनले महिलाको नेतृत्व विकास र सशक्तीकरणमा सामुदायिक वनको ठूलो महत्व रहेकाले त्यसलाई खुम्च्याउने काम नगर्न सुझाव दिईन् ।

प्रतिक्रिया