आठ महिनामा भित्रियो झण्डै सात खर्ब ९४ अर्ब रुपैंयाँ रेमिट्यान्स

नेपालखोज २०७९ चैत २८ गते २२:०७

काठमाडौं । रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले वृद्धि भई सात खर्ब ९४ अर्ब ३२ करोड रुपैंयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव तीन प्रतिशतले राष्ट्र बैंकको भनाइ छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव आठ प्रतिशतले वृद्धि भई छ अर्ब नौं करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव छ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४ दशमलव तीन प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा आठ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दशमलव शुन्य प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया