अन्तिम बलमा निर्णय भएको अर्को खेल

नेपालखोज २०७९ चैत २९ गते ६:१०

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । यो सँगै आइपिएलमा मुम्बईले पहिलो जित हात पारेको छ भने दिल्ली लगातार चौथो खेलमा पराजित भएको छ ।

जितका लागि १ सय ७३ रनको लक्ष्य मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । मुम्बईलाई जितका लागि अन्तिम ६ बलमा पाँच रन चाहिँएको थियो । तीव्र गतिका बलर एनरिच नोर्कियाले पहिलो बल क्यामरन ग्रीनलाई एक रन दिए । दोस्रो बलमा डिप मिडविकेटमा मुकेश कुमारले टिम डेविडको क्याच छाडे भने तेस्रो बल डट राखेपछि बाँकी तीन बलमा चार रन चाहिँएको थियो । चौथो र पाँचौं बलमा एक एक रन जोडेको मुम्बईक लागि अन्तिम बलमा दुई रन चाहिँएको थियो । टिम डेविडले दुई रन बटुल्दै रोमान्चक जित दिलाए । मुम्बईको जितका कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली दिल्ली १९।४ ओभरमा १ सय ७२ रनमा अल आउट भएको थियो । दिल्लीका अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४ रनको आक्रामक इनिङ खेलेपनि जितको लागी पर्याप्त हुन सकेन । अक्षरले मात्रै २२ बलमा अर्धशतक पूरा गरेका थिए ।

कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौकासहित ५१ रनको योगदान दिए । वार्नरलाई मिडअफमा पियुष चवालाले ३७ रनमा क्याच छाड्दै जीवनदान दिएका थिए । त्यस्तै अक्षरले ब्यक्तिगत ३५ रनमा जीवनदान पाएका थिए ।
छैटौं विकेटका लागि वार्नर र पटेलले ६७ रनको साझेदारी गरेका थिए । दिल्लीका ओपनर पृथ्वी शा तेस्रो खेलमा पनि चल्न सकेनन् । शा १० बलमा ३ चौकासहित १५ रनमा आउट भए ।

मनिष पाण्डे १८ बलमा ५ चौकासहित २६ रनमा आउट भए । १९ औं ओभरमा जेसन बेहरनडोफले मात्रै एक रन खर्चेर चार विकेट लिएपछि बलियो योगफलको सम्भावना सकिएको थियो । १८ ओभरमा दिल्ली १६५(५ को बलियो अवस्थामा थियो । तर बाँकी ७ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

मुम्बईलाई ओपनर ईशान किशन र रोहित शर्माले ७।३ ओभरमा ७१ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । ईशान २६ बलमा ६ चौकासहित ३१ रनमा रन आउट भए । दोस्रो विकेटको रुपमा तिलक बर्मा र रोहित शर्माले ६८ रनको साझेदारी गरेका थिए । १६ औं ओभरको अन्तिम दुई बलमा मुकेश कुमारले दुई विकेट लिएका थिए ।

पाँचौं बलमा तिलक डिप मिडविकेटमा मनिष पाण्डेबाट क्याच आउट भए । तिलकले २९ बलमा १ चौका र ४ छक्कासहित ४१ रन बनाए । अर्को बलमा सूर्यकुमार यादव गोल्डेन डक हुँदै पेभेलिएन फर्के । सूर्य कुलदीप यादवबाट क्याच आउट भएका थिए । क्यामरन ग्रीन ८ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहे । टिम डेविड ११ बलमा १ छक्कासहित १३ रनमा अविजित रहे । दिल्लीका मुकेश कुमारले २ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

मुम्बईको जितमा अनुभवी पियुष चवालाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । जेसन बेहरनडोेफले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । राइली मेरिडीथले ३।४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

यसअघि दिल्ली लखनऊसँग ५० रन, गुजरात जायन्ट्ससँग ६ विकेट तथा राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको थियो ।
उता मुम्बई बेंगलोरसँग ८ विकेट र चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको थियो ।
दिल्ली अव शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग भिडनेछ भने बुधबार चेन्नई र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया