शनिबार, वैशाख २२, २०८१

अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

नेपालखोज २०७९ चैत २९ गते १६:४४

काठमाडौं । हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो । आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ ।

उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो ।

‘द स्क्वायड अफ चेञ्जमेकसर्’का संस्थापक सुशीलदेव भट्टराईले अन्तरिक्षमा पहिलो पटक मानिसले पाइला टेकेकोबारे चर्चा गर्दै अन्तरिक्ष विज्ञानबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘भविष्यमा यस विषयमा हाम्रा विद्यार्थीलाई रुचि बढाउन पनि हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ ।’

‘प्रदर्शनीमा दुई सय विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी जानकारी गराउनाका साथै रकेट विज्ञान र भूउपग्रह ९स्याटेलाइट० बनाउने तालिम तथा खगोलशास्त्रबारे जानकारी गराउँदै आएका छौँ’, भट्टराईले भने ।

सन् २०१९ मा बनेको नेपालको पहिलो भूउपग्रह ‘नेपाली सेट–१’ र यस वर्ष बनेको ‘मुनाल’ स्याटेलाइटलगायत अन्तरिक्ष सम्बन्धी सामग्रीहरुको नमूना प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया