चेन्नाईलाई हराउदै राजस्थान शिर्ष स्थानमा

काठमाडौं । चेन्नाई सुपर किङ्सलाई हराउदैं राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएलको शिर्ष स्थानमा उक्लिएको छ । गएराति एमए चिदम्बरम रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा राजस्थानले चेन्नाईलाई ३ रनले पराजित पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।
अन्तिम ओभरमा २१ रन आवश्यक रहेका बेला चेन्नाईले मात्र १७ रन बनाउन सक्यो ।
राजस्थानले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो। चेन्नाईका डेविड कोनवेले ५० ,कप्तान महेन्द्र सिंह धोनीले ३२, अजिन्क्या रहानेले ३१ र रवीन्द्र जडेजाले २५ रन बनाए। राजस्थानका रविचन्द्र आस्विन र युजवेन्द्र चहलले समान दुई विकेट लिए।
त्यसअघि टस हारेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रन बनाएको थियो। राजस्थानका जस बटलरले ५२ रन बनाउँदा देवदत्त पडिकलले ३८ रन र रविचन्द्र आस्विन र सिमरन हेटमायरले समान ३० रन बनाए। चेन्नाईका आकाश सिंह, रवीन्द्र जडेजा र तुसार देशपान्डेले समान दुई विकेट लिए।
जितसँगै चार खेलबाट ६ अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चार खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको पाचौं स्थानमा छ।

प्रतिक्रिया