आइपिएलमा आज के हुदैँछ ?

नेपालखोज २०८० वैशाख २ गते १४:४८

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा आज दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा चिन्नास्वामी स्टेडियम बेंगलोरमा हुनेछ । दिल्ली आफ्ना सबै ४ खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा छ । दिल्लीको प्रतिद्वन्दी बेंगलोर ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ आठौं स्थानमा छ ।

दिल्ली आज आफ्नो पहिलो जितको खोजीमा हुनेछ । आजको खेलमा पराजित भए दिल्लीलाई शीर्ष चारमा रहँदै प्लेअफ खेल्न धेरै गारो हुनेछ । दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५०, गुजरात टाइटन्ससँग ६ विकेट, राजस्थान रोयल्ससँग ५७ र मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो ।

अर्कातिर बेंगलोर पछिल्लो खेलमा लखनऊ विरुद्ध २ सय १२ रन बनाएर पनि पराजित भएको थियो । बेंगलोरको टिममा लेगस्पिनर वानिन्दु हसरंगाको आगमन भएको छ भने उसको ब्याटिङ विराट कोहली, फाफ डु प्लेसिस तथा ग्लेन म्याक्सवेलमा निर्भर रहनेछ ।

आजको दोस्रो खेलमा पन्जाब किंग्स र लखानऊबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा अटल बिहारी वाजपेयी स्टेडियममा हुनेछ । लखनऊ अहिलेसम्म ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ।

आजको खेलमा जितका साथ लखनऊ शीर्ष स्थानमा उक्लिन चाहन्छ भने पन्जाब ४ खेलमध्ये २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ ।

प्रतिक्रिया